Edukhabar
आइतबार, ०२ मंसिर २०८१
खबर/फिचर

शिक्षकका नेताले दिए शिक्षा मन्त्रीलाई होमवर्क

बुधबार, १९ असोज २०७३

काठमाडौं - विश्व शिक्षक दिवसका अवसरमा शिक्षक महासंघले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथीका रुपमा उपस्थित शिक्षा मन्त्री धनीराम पौडेललाई शिक्षकका नेताले ३ वटा होमवर्क' दिएका छन् । सार्क शिक्षक महासंघका पूर्व उपाध्यक्ष तथा शिक्षक संगठनका पूर्व अध्यक्ष डा. बाबुराम अधिकारीले शिक्षकका समस्या समाधान तथा शिक्षा सुधारका लागि मन्त्रीलाई ३ थरी होमवर्क दिएका हुन् । शिक्षकका बारेमा अन्र्तराष्ट्रिय श्रम संगठन तथा यूनेस्कोको घोषणा अध्ययन गर्न उनले मन्त्रीलाई आग्रह गरेका हुन् ।  

सन् १९६६ मा भएको उक्त घोषणामा शिक्षकको सेवा, सर्त र सुविधा उल्लेख गरिएको छ । उक्त घोषणा गहिरो गरी अध्ययन गर्ने हो भने शिक्षकका धेरै कुरा त्यही उल्लेख भएको बताउँदै उनले मन्त्रीलाई उक्त कुरा अध्ययन गर्न भनेका हुन् ।

यस्तै विगतमा शिक्षकका पेशागत संगठनहरुले गरेका विभिन्न आन्दोलनमा शिक्षा मन्त्रालयले  गरेका सहमतीलाई अध्ययन गर्न र अन्र्तराष्ट्रिय मञ्चहरुमा शिक्षाका सवालमा नेपाल राज्य पक्षबाट गरिएका प्रतिवद्धता पुरा गर्ने गरी अध्ययन गर्न अधिकारीले मन्त्रीलाई आग्रह गरेका हुन् ।

मैले यति भनेपछि तिमी शिक्षकहरुले चाँही के गर्छौ त भनेर मन्त्री ज्यूले सोध्नुहोला अधिकारीले भने, तपाईले यती तीनवटा काम गर्दिनु भयो भने हामी सम्मान जनक ढंगले कक्षामा जान्छौं र आफ्नो मुख्य काम पढाउन थाल्छौं । मुख्य कुरा शिक्षकलाई सम्मानित हुने वातावरण बनाउन उनको आग्रह थियो ।

शिक्षक महासंघका अध्यक्ष केशव निरौलाले कर्तव्य पुरा नगरी अधिकारको मात्रै अपेक्षा नगरेको बताउँदै शिक्षाको स्तर बढाउने हो भने शिक्षकलाई प्रेरणा जगाउने र आत्मसन्तुष्टि लिने गरी राज्यले वातावरण बनाउनु पर्ने बताए । आफ्ना लागि बन्ने कानूनमा आफुहरुको शिक्षकहरुलाई सहभागि बनाएर अघि बढ्न उनले शिक्षा मन्त्रीसँग आग्रह गरे । कार्यक्रममा बोल्ने अधिकाँश शिक्षक प्रतिनिधिले आफूहरुको सम्मान नभएको भन्दै दुखेको पोखे ।

शिक्षक नेताहरुका कुरा सुनिसकेपछि मन्त्री पौडेलले शिक्षकका समस्या राज्यकै निकायबाट भएको भन्दै यी समस्याको समाधान नीतिगत ब्यवस्थाका आधारमा गर्न आफू प्रतिवद्ध रहेको बताए । प्रकृयाबाट अघि बढ्नु पर्छ भन्ने मेरो मान्यता हो उनले भने त्यसैका लागि आवश्यक विधि र योजना निर्माणमा ध्यान दिउँ त्यसबाट मात्रै समस्या समाधान हुन्छ ।

शिक्षक संघ संगठनहरुले अधिकार मात्रै नभएर नीतिगत ब्यवस्था निर्माणमा पनि सहयोग गर्न उनले आग्रह गरे । मन्त्री पौडेलले आफू शिक्षक महासंघसंग सहकार्य गरेर अघि बढ्न प्रतिवद्ध रहेको पनि बताए ।
विश्व शिक्षक दिवसका अवसरमा शिक्षक महासंघले गरेको कार्यक्रम भने निकै फितलो देखियो । ४ लाख शिक्षक आवद्ध भएको दावी गर्ने महासंघको उक्त कार्यक्रममा मुस्किलले सय जना मात्र सहभागि थिए । उक्त उपस्थिीतिले दिवस एक कर्मकाण्डि कार्यक्रम मात्रै भएको पुष्टि गरेको छ ।

यो पनि पढ्नुहोस्  : विश्व शिक्षक दिवस : पेशादेखि असन्तुष्टबाट के अपेक्षा

 

प्रतिक्रिया