काठमाडौं - ‘शिक्षक बन्ने परिपाटी व्यवस्थित छ । शिक्षक बन्नका लागि लाइसेन्सको परीक्षा उत्तीर्ण हुनुपर्छ, क्षेत्रीय तहमा प्रतिस्पर्धा गर्नुपर्छ । तर यसरी परीक्षा उत्तीर्ण गरेर शिक्षण पेशामा आए पनि शिक्षकहरु सैद्धान्तिक पक्षमा मात्र पोख्त छन् । उनीहरुले सैद्धान्तिक रुपमा सिकेका कुराहरुलाई व्यवहारमा कञ्जुस्याइँ गर्ने स्वभावका छन्, तिनीहरु आफ्नो पेशादेखि खासै सन्तुष्ट पनि छैनन् ।’
सप्तरीको विषहरिया वडा नं. ४ स्थित महावीर माविका शिक्षक नन्दलाल आचार्यको माथिको अनुभवले नेपालका शिक्षकहरु कस्ता छन् भन्ने कुरा प्रष्ट पार्छ । आफू शिक्षक भएर पनि अधिकांश शिक्षकहरुले गर्ने अल्छ्याइँको कारण शिक्षकबाट विद्यार्थी जति लाभान्वित हुनुपर्ने हो त्यो हुन सकेका छैनन् ।
‘शिक्षकहरु कामचोर प्रवृत्तिका छन्, कतिपय राम्रो गर्न चाहने शिक्षकहरुका लागि वातावरण पनि छैन ।’ उनी भन्छन्, ‘वातावरण नहुँदा राम्रो गर्छु भन्ने शिक्षकहरुमा शिक्षणप्रति शिथिलता बढ्दो छ । केही शिक्षकहरु मात्र शिक्षण पेशाप्रति सचेत र सजग छन् ।’
उनले नराम्रो गर्ने शिक्षकहरुका कारण राम्रो गर्ने शिक्षकहरुको समेत बद्नाम भएको बताउँदै अधिकांश शिक्षकहरुबाट सन्तुष्टि लिने ठाउँ नभएको देखेका छन् । उनका अनुसार शिक्षकहरु पनि राजनीतिक स्वार्थको पिल्साइमा परिरहेका छन् । ‘शिक्षामा राजनीति हावी हुँदा शिक्षकलाई मात्र नभएर अभिभावक र शैक्षिक प्रशासनलाई पनि बिगा¥यो ।’ उनले थपे ।
आचार्य तराइृको प्रतिनिधित्व गर्छन्, तर कुरो तराईको मात्रै हैन, हिमाल होस् या पहाड सबैतिरका शिक्षकहरु आफ्नो पेशाप्रति सन्तुष्ट छैनन् । देशको विद्यमान शिक्षा नीति, नियमावली, शिक्षामा राज्यको घट्दो लगानी, राजनीतिक हस्तक्षेपजस्ता विविध कारण शिक्षकहरु असन्तुष्ट रहेको शैक्षिक सरोकारवालाहरुको भनाइ छ ।
देशमा कार्यरत लाखौं शिक्षकहरु मध्ये अधिकांश सरकारी शिक्षकहरु ‘शिक्षक’ नभएर ‘जागिरे’ बनिरहेको कारण नेपालको सरकारी शिक्षा गुणस्तरीय र प्रभावकारीमात्र नभएर शिक्षण पेशाप्रति नै अधिकांशको नकारात्मक धारणा बढेको सरोकारवालाहरुको निष्कर्ष छ ।
‘शिक्षक एउटा नागरिक, सामाजिक नेता, प्राज्ञिक व्यक्तित्वको एकीकृत रुप भएकोले शिक्षकमा पेशागत गुण हुनु अनिवार्य’ भएको ‘शिक्षकले चाहेमा गर्न सक्छन्’ अभियानका अभियन्ता समेत रहेका शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइराला बताउँछन् । ‘नेतृत्व सीप, दूरदृष्टि, प्रतिवद्धता र कडा मिहिनेतले मात्र असल शिक्षक बन्न सक्छ, तर अहिलेका शिक्षकहरु बढी जागिरे स्वभावका हुँदा निक्कै अल्छी गर्न थालेका छन् ।’ उनले भने ।
‘शिक्षक बन्ने तर कक्षाकोठामा विना तयारी जाने, शैक्षिक सामग्री नै नलिइकन, नबनाइकन कक्षामा जाने प्रवृत्ति र स्वभावका शिक्षकहरु पेशाप्रति इमान्दार नभएका शिक्षक मात्र नभएर टाइम पासमात्र गर्ने मनशायबाट प्रेरित छन्’, शिक्षक आचार्य फेरि थप्छन् ।
अभिभावकहरु पनि अहिलेका शिक्षकहरुको बानी, व्यवहार, शैलीबाट त्यति सन्तुष्ट छैनन् । ‘शिक्षकहरु औपचारिकता मात्र पूरा गर्ने ध्याउन्नमा छन् । जसकारण अहिलेका शिक्षकहरु प्रति धेरैको विश्वास घटिरहेको छ ।’ अभिभावक संघ नेपालका केन्द्रीय सदस्य रामकृष्ण प्रजापतिले भने ।
शिक्षकहरु प्रति धेरैको यस्तो नकारात्मक सोच हुनुको कारण अरु नभएर स्वयम् शिक्षकहरु नै जिम्मेवार छन् । समाजका निक्कै प्रवुद्ध व्यक्तिका रुपमा रहेका शिक्षकहरुबाट समाजले ठूलै अपेक्षा गरेको हुन्छ, तर शिक्षकले त्यो अपेक्षा पूरा गर्नुका सट्टा जागिरै मात्र खाने स्वभावले शिक्षकहरु स्वयम पेशाप्रति असन्तुष्ट छन् ।
यसरी असन्तुष्टि भए पनि तुलनात्मक रुपमा सुधार आउँदै गरेको कारण शिक्षाविद् डा. कोइराला बादलभित्र चाँदीको घेरा देखिरहेको सुनाउँछन् ।
‘पहिलेका शिक्षकहरुको तुलनामा अहिलेका शिक्षकहरुप्रति आशा गर्न सकिने ठाउँ छ । अहिलेका शिक्षकहरु आफ्नो पेशाप्रति क्रमशः सजग बन्न थालेका छन् ।’ उनले भने, ‘तर पनि शिक्षकहरु खोटविहीन भने छैन ।’
शिक्षकलाई खोटविहीन बनाउने बुटि के हो त ? भन्ने प्रश्नको एउटै उत्तर छैन । तर के सम्म भन्न सकिन्छ भने, शिक्षण भनेको निष्ठाको पेशा हो, यसका आफ्नै सीमा र परिधी हुन्छन् । शिक्षक बन्न चाहनेले सबै भन्दा पहिला त्यसलाई पालना र ध्यान दिन सक्नु आवश्यक छ ।
शिक्षक बन्ने की दलको कार्यकर्ता ? शिक्षक बन्ने की ब्यापारी ? पर्दा भित्र कुनै यस्तै अमूक आवद्धता कायम राख्ने र पर्दा बाहिर मात्रै शिक्षक बन्नेहरुको समूह हावी भईञ्जेल जति बुटि फेला परे पनि केही हुन्न । आफू को हो ? म किन ब्यापारी वा दलको कार्यकर्ता नभएर शिक्षक हुन चाँहे भन्ने कुरा स्वयं शिक्षकले तय नगरे सम्म असन्तुष्टिको भारले थिचिरहन्छ । केही संख्याका यस्ता समूहले धेरै संख्यामा रहेका सक्षम, ईमान्दार र निष्ठावान् शिक्षक पिल्सिरहन बाध्य हुन्छन् ।
सन् १९९४ मा संयुक्त राष्ट्रसंघले स्विकार गरेसंगै हरेक बर्ष अक्टोवर ५ मा शिक्षकको हक हित र पेशागत मर्यादाका सन्दर्भमा आवाज उठाउँदै विश्व शिक्षक दिवस मनाउन थालिएको छ । नेपालमा पनि विभिन्न कार्यक्रम गरेर शिक्षकहरुले यो दिवस मनाउँछन् ।
दिवस आफैंमा महत्वपूर्ण दिन हो । त्यो भन्दा पनि मुख्य कुरा यो दिन भनेको आफ्नो महत्व बुझ्ने दिन हो । 'शिक्षकहरुको स्तर उन्नती गर्दै महत्व प्रदान गरौं' भन्ने नारका साथ मनाईदैं गरेको विश्व शिक्षक दिवसका सन्दर्भमा शिक्षक स्वयंले चांही आफ्नो महत्व कति र कसरी बुझेका होलान् त ?
प्रतिक्रिया