काठमाडौं - सेवा निवृत्त शिक्षकलाई परिचयपत्र वितरण शुरु गरेको विद्यालय शिक्षक किताबखानाले अहिले सम्म १७५५ शिक्षकलाई परिचय पत्र वितरण गरेको जनाएको छ । यसले पहिचान नहुने र महत्वपूर्ण ठाउँहरुमा प्रवेश गर्दा समेत असहज हुने अवस्थाको अन्त्य भएको किताबखानाका महानिर्देशक शेरबहादुर ढुङ्गानाले दावी गरे । परिचय पत्र वितरणको अहिले सम्मको कामले आफूहरुलाई हौसला दिएको उनको भनाई छ । यसलाई थप विस्तार गर्ने योजना रहेको पनि उनले बताए ।
'रिटायर्ड हुनु भनेको परिचय नै सकिनु हो जस्तो ठान्ने सामाजिक चलनका कारण लामो समय सेवा गरेका शिक्षकहरु साह्रै दिक्क देखेपछि हामीले परिचय पत्र वितरणको काम शुरु गरेका थियौं' उनले भने, 'परिचय पत्र पाएका शिक्षकहरु खुसी भएको देख्दा राम्रै काम गरिएछ जस्तो लागेको छ ।'
काम सानो भएपनि ब्यक्ति संगै प्रत्यक्ष जोडिएको हुँदा धेरै अर्थ राखेको उनले बताए । कतिपय शिक्षकहरुले परिचय पत्रलाई आफूहरुको सेवा वापत राज्यले सम्झेको रुपमा ब्याख्या गरेको देख्दा खुसी लागेको पनि उनले बताए ।
किताबखानाको १९ औँ स्थापना दिवसका अवसरमा गत चैत २६ गते देखि परिचयपत्र वितरण कार्य शुरु गरिएको थियो ।
पढ्नुहोस् : शिक्षकलाई परिचयपत्र
तत्कालिन शिक्षामन्त्री गिरिराजमणि पोखरेलले संखुवासभाका सेवानिवृत्त शिक्षक ८१ बर्षीय रोहिणी प्रसाद खनाललाई परिचयपत्र वितरण गरेर उक्त कार्यको सुरुवात गरेका थिए ।
खनाल सरका बारेमा थप पढ्नुहोस् : पञ्चसँग जुधियो तर, बहुदलले विगार्यो शिक्षकलाई !
प्रतिक्रिया