Edukhabar
आइतबार, ०७ पुस २०८१
खबर/फिचर

शिक्षक सोध्छन्, ‘बिदामा गृहकार्य दिउँ कि नदिऊँ ?’

आइतबार, १६ असोज २०७३

काठमाडौं– कीर्तिपुर पाँगास्थित जनसेवा उमाविमा ८ सय विद्यार्थीहरु अध्ययन गर्छन् । हिन्दूहरुको मुख्य चाडको रुपमा रहेको दशमी शनिबारबाट लागेसँगै सो विद्यालयमा अध्ययन गरिरहेका ती विद्यार्थी, त्यही अध्यापन गराइरहेका शिक्षकहरु र कर्मचारीहरुले १५ दिनको बिदा पाइसकेका छन् ।

सोही कारण विद्यार्थीलाई दशैं बिदाको दिनमा पनि आप्mनो पढाइको बारेमा विद्यार्थी चनाखो होओस् भन्ने उद्देश्यले ती विद्यार्थीलाई गृहकार्यका साथ बिदा दिइसकेको विद्यालय प्रशासनले जनाएको छ ।
‘विद्यार्थीले बिदा पाइसकेका छन्, फेरि बिदा एक÷दुई दिनको होइन, १५ दिनको छ, पन्ध्र दिनसम्म विद्यार्थी बिदामा रहँदा पढेको कुरा बिर्सने हो कि भन्ने चिन्ता छ ।’ सोही विद्यालयकी प्राचार्य नन्दकुमारी महर्जनले भनिन् ।

उनले पछिल्लो क्रममा दशैंमा दिइने गृहकार्य पनि बिवादित भइरहेको जनाउँदै शिक्षकहरुले गृहकार्य दिउँ कि नदिउँ भनेर सोध्ने गरेको पनि जानकारी दिइन् ।

‘गृहकार्य दिने, तर त्यो गृहकार्यले चाडवाडको रमाइलोलाई बाधा नपारीकन दिनुपर्ला भनेर स्टाफहरुसँग सल्लाह गरेर हामीले ठिक्कको मात्र गृहकार्य दिएका छौं ।’ उनले थपिन् ।

काठमाडौं उपत्यकाको काठमाडौंका विद्यालयहरुमध्ये कुनैले एक महिनाको लागि,  कुनैले १५ दिनको लागि स्कुल बिदा दिइसकेका छन् ।

बिदा भएका विद्यालयका प्राचार्यहरुमध्ये तिलिङगाटार उमाविका प्राचार्य सरोजकुमार पाण्डे र सीताराम उमाविका प्राचार्य जगन्नाथ भट्टराई पनि बिदामा गृहकार्य विषयमा चनाखो हुनुपर्ने बताउँछन् ।

दशैंदेखि तिहारसम्म नै विद्यालय बिदा हुने जानकारी दिँदै तिलिङ्गाटार उमाविका प्राचार्य पाण्डे विद्यार्थीलाई दिक्क लाग्ने गरी गृहकार्य दिन नहुने बताउँछन् ।

‘चाडवाड पनि सिक्ने अवसर हो, यसैले चाडपर्वबाट पनि सिक्ने तरिका हामीले सिकाउनुपर्छ ।’ सोही कारण आफ्नो विद्यालयका विद्यार्थीलाई दिक्क लाग्ने गरी गृहकार्य नदिन सबै शिक्षकहरुलाई निर्देशन दिएको उनले बताए ।

स्कुल बिदा हुने बित्तिक्कै विद्यार्थी बरालिने, पढाइमा ध्यान कम दिने वा दिँदै नदिने, बिदा पछि स्कुल आउन अल्छी मान्नेलगायतका समस्या विद्यार्थीहरुमा देखिने कारण र धेरै गृहकार्यका कारण विद्यार्थीले बिदा र चाडवाडलाई समेत राम्ररी उपयोग गर्न नपाएको गुनासो बढेको कारण पछिल्लो क्रममा गृहकार्य सम्बन्धी बहस बढ्न थालेको छ ।

‘होमवर्क दिउँ पनि नहुने, नदिउँ पनि नहुने, दोधारको अवस्था छ ।’ सीताराम उमाविका प्राचार्य भट्टराई भन्छन् । उनले १५ दिने छुट्टी पाउने विद्यार्थीहरुलाई १५ दिन नै चापाचाप हुने हुने गरी गृहकार्य नदिएको जानकारी दिँदै विद्यार्थीहरुले पढेको कुरा स्मरणमा रहने गरीमात्र गृहकार्य दिनु उपयुक्त हुने बताए ।

पढाइ र गृहकार्य एकअर्काका परिपूरक हुन्, तर पनि विद्यार्थीलाई कति र कस्तो गृहकार्य दिनुपर्छ भन्ने कुनै वैज्ञानिक र व्यावहारिक आधार छैन । सोही कारण पनि गृहकार्य दिने कि नदिने भन्ने विषय दोधारकै विषय बनिरहेको शिक्षाका सरोकारवालाहरु बताउँछन् ।

पढाइ र गृहकार्यको सन्दर्भमा ‘नौ दिनमा नौलो भो, बीस दिनमा बिर्सियो र तीस दिनमा तर्सियो’ भन्ने आहान पनि शिक्षकहरुबीच प्रचलित छ । प्रअहरुका अनुसार गृहकार्य दिने कि नदिने भन्ने विषयमा विषयगत शिक्षकले नै विद्यार्थीको अवस्था हेरेर दिएको खण्डमा ज्यादै राम्रो भएको सुझाएको बताए ।
‘कोहीले आफूले पढेको विषय रिभिजन गर्ने, कोहीले पहिले लिएका परीक्षाका प्रश्नहरुको हल गर्ने, कोहीले नोट बनाउने, कोहीले हस्तलेखन गर्न दिने जस्ता फरकफरक खालका गृहकार्य दिएका छन्, यसमा यतिउत्ति भन्ने छैन ।’ तिलिङ्गाटारकै प्राचार्य पाण्डेले भने ।

गृहकार्यका सम्बन्धमा शिक्षक तथा प्रिन्सिपलहरुले आआफ्नै धारणा राख्नु अस्वाभाविक होइन । उनीहरुले पहिलेजस्तै गरी रटाउने र घोटाउने गरी गृहकार्य दिने काम क्रमशः घट्दै गएको बताउँदै चाडवाडलाई सिर्जर्नात्मक बनाने तरिका सिकाउनु आवश्यक रहेको बताए ।

 

प्रतिक्रिया