Edukhabar
आइतबार, ०२ मंसिर २०८१
गतिविधि

शिक्षक, विद्यार्थी र अभिभावकले संयुक्त रुपमा बाँडे शुभकामना

आइतबार, १६ असोज २०७३

भक्तपुर–लगनशील शिक्षक, मिहिनेती शिक्षक र सहयोगी अभिभावकहरुबीचको सहकार्य, समन्वय र समझदारीले मात्र कुनै पनि विद्यालय अघि बढ्न सक्तछ ।

अझ अहिलेको बदलिँदो समयमा त विद्यालयका मुख्य तीन अंगका रुपमा रहेका शिक्षक, विद्यार्थी र अभिभावकहरु आपसी अन्तरसंवादविना शिक्षाको उद्देश्य पूरा हुन सक्तैन, विद्यार्थीको लक्ष्य र सपना पनि साकार हुँदैन । सोही कुरालाई मध्यनजर गरी भक्तपुरको रोम्बस नेशनल सेकेन्डरी स्कुलले शिक्षक, अभिभावक र विद्यार्थीलाई एकै ठाउँमा सहभागी गराउने कार्यक्रम गरेको छ ।

शिक्षक, विद्यार्थी र अभिभावकहरुमा रहेको प्रतिभालाई एकआपसमा परिचित गराउन दशैंलाई एक अवसरका रुपमा बुझेर भक्तपुरको कमलविनायकस्थित उक्त स्कुलले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा अभिभावक, शिक्षक र विद्यार्थीहरुले आआफ्नो प्रतिभा देखाउँदै शुभकामना आदान प्रदान गरे ।

कार्यक्रममा रोम्बस नेशनल सेकेन्डरी स्कुलका प्रिन्सिपल राजेन्द्र कोजूले लेखेको ‘मेरो सपनाको अर्को कुनै गाउँ छैन÷सजाउन तिमीलाई कुनै ठाउँ छैन ।’ गजललाई अभिभावक प्रभात थापाले श्वर र संगीत दिएर त्यहाँ उपस्थित विद्यार्थी, शिक्षक र अभिभावकहरु र कार्यक्रमका अतिथिहरुकोे मात्र ध्यान एकचित्त गरेनन, शिक्षक र अभिभावकबीचको सम्बन्धलाई थप परिभाषित पनि गरेका थिए ।
अभिभावक थापाले विद्यार्थीलाई सुसंस्कृत, सभ्य र मिहिनती बनाउने काम विद्यालयका शिक्षकहरुको मात्र नभएर अभिभावकहरुको पनि उत्तिक्कै भूमिका रहेको बताउँदै शिक्षक तथा विद्यार्थीहरुलाई अभिभावकहरुबीच रहेको प्रतिभा चिनाउने काम गर्नु आवश्यक रहेको बताए ।

कार्यक्रममा विद्यालय निरीक्षक विमल निरौलाले शिक्षक, अभिभावक र विद्यार्थीबीचको अन्तरसम्बन्धले नै विद्यालय बनाउने उल्लेख गर्दै तिनै पक्षको सम्बन्धलाई थप मजबुत बनाउनु अहिलेको आवश्यकता रहेकोमा जोड दिए ।

‘अहिले कतिपय अभिभावकहरु पैसा तिरेकै छौं, बच्चा पठाएकै छौं भनेर आफ्नो दायित्वबाट पन्छिरहेका छन्, शिक्षकहरु पनि आफ्नो मात्र नभएर अभिभावकहरुको पनि भूमिका रहेको भन्न थालेका छन्, यस्तो परिस्थितिमा अभिभावक र शिक्षकको सम्बन्धलाई अझ कसिलो बनाउने उपाय खोज्नुपर्छ ।’ विनि निरौलाले भने ।

विद्यालयको मुखपत्रको रुपमा प्रकाशित रोम्बस दर्पणको पनि संयुक्त रुपमा विमोचन गरिएको कार्यक्रममा गायक तथा संगीतकार राजसागर, गायिकाहरु दीपा पन्त, निशा योञ्जनले पनि विद्यार्थी, शिक्षक र अभिभावकहरुका लागि सन्देशमूलक गीत प्रस्तुत गरेर दशैंलाई तडकभडक बनाउन नहुनेमा जोड दिएका थिए ।

कार्यक्रममा विद्यार्थीले विभिन्न गीतमा नृत्य, शिक्षक तथा अभिभावकहरुले पनि विभिन्न साहित्यिक अभिव्यक्तिमार्फत् एकले अर्कोलाई शुभकामना आदानप्रदान गरेका थिए ।

विद्यालय सञ्चालक समितिका अध्यक्ष सरिता कोजूको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रिन्सिपल राजेन्द्र कोजू, अभिभावक जिना रञ्जितकार, शिक्षक अम्बिका ढकाल, जयराम कार्की, गजलकार विकास प्रहर, भक्तपुर साकोस्का अध्यक्ष बलराम प्रजापति र कक्षा १० का छात्राहरु मेरिट कोजू र सिर्जना बस्नेतले पनि दशैंलाई उपयोग गर्ने तरिकाबारेमा चर्चा गरेका थिए ।

 

प्रतिक्रिया