काठमाडौं १६ असोज / उमेरले ६० वर्ष पुगिन् गंगा । सानैमा विवाह भएकाले पढ्न पाइनन् । छोराछोरी जन्मिए, घरव्यवहार समाल्नुपर्यो । छोराछोरीलाई पढाउनुपर्यो । तर उनको पढ्ने रहर भने मरिसकेको थिएन । त्यसैले बूढेसकालमै भए पनि उनी हिजोआज किताबको झोला बोकेर विद्यालय धाउन थालेकी छन् ।
‘छोराहरूले पढिसके, अब पढ्ने पालो मेरो', उनले खुसी हुँदै भनिन्, ‘नपढे पो लाज हुन्छ, पढ्न केको लाज ? ' पहिले पढ्न नपाएकोमा उनलाई पछुतो छ । छोरालाई पढाउने तर छोरीलाई पढ्न नपठाउने समयमा जन्मिएकी उनले रहर मारेरै घरव्यवहार समाल्न बाध्य भइन् त्योबेला ।
चाहेर पनि विद्यालय जान नपाएकी उनलाई अक्षर चिन्ने रहरले अहिले विद्यालयसम्म डोर्याएको छ । वीरेन्द्रनगर ११ चनौटे निवासी गंगा आफ्नो बाल्यकालको रहर पूरा गर्न अहिले गाउँकै हस्तवीर सामुदायिक प्राथमिक विद्यालयमा भर्ना भएकी छन् । उनले अक्षरसमेत चिन्न थालेकी छन् ।
बाल्यकालमा पढ्न नपाएका वीरेन्द्रनगर चनौटेका आमाहरू हिजोआज विद्यालय गएर पढ्न थालेका छन् । गंगाजस्तै यहाँका ४३ जना आमा अहिले स्थानीय हस्तवीर प्राथमिक विद्यालयमा ‘कखरा' सिक्दैछन् । ‘जोड, घटाउ, गुणन र भागदेखि एबीसीडी पनि सिकिरहेका छौं', ४४ वर्षीया अनिता सोमैले उत्साहित हुँदै भनिन् ।
बाल्यकालमा पढ्न नपाएका वीरेन्द्रनगर चनौटेका आमाहरू हिजोआज विद्यालय गएर पढ्न थालेका छन् । गंगाजस्तै यहाँका ४३ जना आमाहरू अहिले स्थानीय हस्तवीर प्राथमिक विद्यालयमा ‘कखरा' सिक्दैछन् ।
अनिताले पनि सानो छँदा पढ्न पाइनन् । बाबुआमाले सानैमा विवाह गरिदिए । कापीकिताब बोकेर विद्यालय जाने उमेरमा उनले घाँसदाउरा बोकेर मेलापात गरिन् । छोराछोरी हुर्किएपछि बल्ल उनी बचपनदेखिको पढ्ने रहर पूरा गर्न विद्यालय जान थालेकी हुन् ।
सानोतिनो पैसाको हिसाब गर्न पनि अरूलाई सोध्नुपर्ने । छोराछोरीले हातहातमा मोबाइल बोकेर हिँड्न थालिसक्दा पनि आफूले मोबाइल चलाउनसमेत नजान्ने । आमा समूहमा बस्दा हस्ताक्षर गर्नुपथ्र्यो तर उनी ल्याप्चे लगाउँथिन् । यसले उनलाई थुप्रैपटक लज्जाबोध भयो । त्यसपछि उनले अठोट गरिन्, ‘पढ्नलाई उमेरले छेक्दैन । म पनि विद्यालय जान्छु र पढ्न सिक्छु ।' अहिले उनी पनि गाउँका अन्य दिदीबहिनीसँगै हरेक दिन विद्यालय पुग्छिन्, पढ्छिन् र फर्किन्छिन् ।
‘कहिलेकहीं नातिनातिनाले होमवर्क गर्दा सिकाइदिनुस् भन्छन् । आफू अक्षर चिन्दिनँ, कसरी सिकाउनु ? ' गंगा र अनिताजस्तै यहाँका महिलाहरू घरायसी काम सकेर बिहान ११ बजे विद्यालय पुग्छन् । पढेर दिउँसो १ बजे घर फर्किन्छन् । उमेर छँदा पढ्न नपाएका उनीहरू छोराछोरी हुर्काएर बुढेसकालमा अक्षर चिन्न पाउँदा खुसी छन् ।
बुढेसकालमा भए पनि विद्यालय गएर अक्षर चिन्न पाउँदा वीरेन्द्रनगर १० निवासी ६७ वर्षीया तुलसी गौतमले खुसी व्यक्त गरिन् । गौतमलाई अक्षर चिनेर रामायण, गीतालगायत धार्मिक पुस्तक पढ्ने धोको छ । पढ्न थालेको छोटो समयमै सामान्य हिसाब गर्न, आफ्नो नाम लेख्न र दस्तखत गर्न जान्ने भएको महिलाहरू बताउँछन् ।
छोराछोरी विद्यालय जान थालिसकेका उनीहरूलाई आफैं उनीहरूसँगै बसेर पढ्न सहज थिएन । त्यसैले विद्यालयसँग आफूहरूका लागि छुट्टै कक्षा सञ्चालन गरिदिन माग राखे । उनीहरूको माग पूरा भयो । अनौपचारिक शिक्षाअन्तर्गत प्रौढ कक्षा सञ्चालनको अनुमति पाएपछि हस्तवीरमा २०६७ सालबाट महिलाहरूका लागि प्रौढ कक्षा सञ्चालन गर्न थालिएको हो ।
यस कक्षामा हालसम्म एक सय ८४ जना महिलाले अध्ययन गरिसकेका छन् । यस कक्षाअन्तर्गत पहिलो तहमा १ देखि ३ कक्षा र दोस्रोमा ४ र ५ कक्षासँग सम्बन्धित पढाइ हुन्छ । दोस्रो तह उत्तीर्ण गरेपछि महिलाहरूले नजिकै रहेको अमरज्योति नमुना उच्च माध्यमिक विद्यालयमा पढ्ने गरेका छन् ।
अमरज्योतिले खुला निमावि तह अध्यापन गराउने गरेको छ जसमा एक वर्षमा निमावि तह र दोस्रो वर्ष एसएलसी दिन पाउने व्यवस्था गरिएको छ । गृहिणीलाई पढाउँदै आएकी शिक्षिका टीका पंगाली गृहणी महिलाहरूले पढाइमा मेहनत गर्ने गरेको बताउँछिन् ।
मेहनत गरेर पढेकै कारण छोटो समयमा नै पढ्न, लेख्न र हस्ताक्षर गर्नसक्ने भएको उनले बताइन् । गृहिणी कक्षाले बालविकास केन्द्रदेखि प्राथमिक तहमा बालबालिकाको संख्या पनि वृद्धि भएको स्थानीय अभिभावक एवं हस्तवीर विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष पूर्णप्रसाद पौडेलले बताए ।
महिलाहरू शिक्षित हुँदा त्यसले परिवार र समाजमा सकारात्मक प्रभाव पार्ने उनले बताए । यसअघि विद्यालय आउन नमान्ने बालबालिका पनि अहिले आफ्ना आमासँगै विद्यालय आउन थालेका छन् ।
ललितबहादुर बुढाले अन्नपूर्ण पोष्टमा लेखेको खबर ।
प्रतिक्रिया