काठमाडौं - लगातार ५० वर्ष गणितको अध्यापन तथा अनुसन्धानमा कृयाशिल नौ जना गणित शिक्षकलाई सम्मान गरिएको छ । गणित विज्ञान ट्रष्ट नेपालले गणितिज्ञ गुरु अभिनन्दन तथा रथारोहण समारोह गरेर उनीहरुलाई सम्मान गरेको हो ।
समारोहमा ७५ वर्ष उमेर पुगेका तथा अनवरत रुपमा ५० वर्ष गणितको अध्यापन र अनुसन्धानमा लागेका गणितिज्ञहरु प्रा.डा. राममान श्रेष्ठ, नृपतिलाल प्रधानाङ्ग, सुम्मा तुलाधर, शिबदत्त पन्त, बुद्धशरण मानन्धर, डा. शंकरराज पन्त, प्रा. सुशीलकुमार श्रेष्ठ, प्रा.डा. मृगेन्द्रलाल सिंह र ओमकारनाथ पन्तलाई सम्मान तथा अभिनन्दन गरिएको थियो ।
उनीहरुलाई सम्मान गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालले गणितको विकासले अनुसन्धान र विकासको ढोका खोल्ने बताए ।
‘गुरुहरुले आयोजना गरेको यो कार्यक्रम निकै मौलिक र संवेदनशील पनि छ । गणितको विकास निकै महत्वपूर्ण सवाल हो । गणित र विज्ञानको विकासले मात्रै अनुसन्धान र विकासको ढोका खोल्न सक्छ ।’ बिहीबार ट्रष्टले गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले भने, ‘यो सम्मान निकै प्रेरणादायी र अनुकरणीय छ । निरन्तर गणितको विकास र अनुसन्धानमा लाग्ने तपाईको साधना र त्याग राजनीतिकर्मीहरुका लागि पनि प्रेरणादायी हुनेछ भन्ने मैले विश्वास लिएको छु ।’
प्रतिक्रिया