Edukhabar
आइतबार, ०२ मंसिर २०८१
खबर/फिचर

शिक्षामा कर्मचारी र शिक्षक अभाव छैन : महानिर्देशक पौडेल

विहीबार, १३ असोज २०७३

भक्तपुर - शिक्षा विभागका महानिर्देशक बाबुराम पौडेलले शिक्षा क्षेत्रमा पर्याप्त जनशक्ति हुँदा हुँदै पनि ब्यवस्थापन नहुँदा समस्या भएको बताएका छन् । भदौ २४ गते महानिर्देशक भएका पौडेलले पहिलो पटक विहीबार विभागमा पत्रकार सम्मेलन गर्दै जनशक्ति ब्यवस्थापन सही तरिकाले गर्न सकियो भने मात्रै शैक्षिक उपलब्धि हासिल हुने बताए ।

राम्रो काम गर्न तन, मन धन मिल्नु पर्ने भन्दै उनले भौतिक जनशक्ति, बजेट र मन मिल्नु पर्ने बताए । शिक्षामा पुग्दो श्रोत साधन नभएको भए धेरै बजेट फ्रिज भएर नजाने तर्क गर्दै जनशक्ति ब्यवस्थापन गर्न नसकेर उपसचिवको हुल भएको बताए । 'भन्नाको मतलव जनशक्ति चाहिने भन्दा अलिकती बढी नै छ, धन चाहिने जत्ति छ, अलिकति मनहरु चाँही कुँडिएका छन्, अलिकति टुटेका मनहरु छन्, अलिकति ठुस्केका मनहरु  छन्' उनले भने 'यी सबै कुरालाई मिलाएर एकै ठाउामा जोडेर लान सकियो भने, शिक्षाको उद्धेश्य पुरा गर्न सकिन्छ ।'

कर्मचारी ब्यवस्थापनको काम मन्त्रायले गर्ने र शिक्षकको ब्यवस्थापनमा विभागको भूमिका हुने बताउँदै उनले अहिलेकै अवस्थामा पनि शिक्षक अभाव नभएको तर्क गरे । पछिल्ला दिनका तथ्याङ्कले विषयगत रुपमा केही शिक्षक नपुग्ला तर भनिए जस्तो त्यत्रो ब्यापक रुपमा शिक्षक संख्या नपुग्ने हैन उनले भने । 

आर्थिक पारदर्शिता, अनुगमन र नियमन आफ्नो प्रमुख प्राथमिकता भएको बताउँदै उनले बलियो अनुगमन र नियमनमा उत्रिने बताए ।

शिक्षा क्षेत्रमा आर्थिक परादर्शिता चुनौतीका रुपमा रहेको बताउँदै हरेक जिल्लालाई पठाईएको अख्तियारी पारदर्शी रुपमा वेभसाईटमा राखिएको बताए । हरेक कार्यक्रमको बजेट सार्वजनिक गर्ने क्रम जिल्ला तहमा पनि विस्तार गर्ने उनले बताए । 

भूकम्पका कारण ध्वस्त भएका विद्यालय निर्माणको जिम्मा लिएका दातृ संस्थाहरुलाई केही दिनमै बोलाएर कामको प्रगति लिने बताउँँदै उनले बचन पुरा गर्न सक्ने कि नसक्ने सोध्ने बताए ।

गर्नु पर्ने काम धेरै भएपनि सेलेक्टिभ बनेर कम्तिमा यी यी काममा विभागको टिमले काम गर्नु पर्ने छ भन्ने गरी सुझावको अपेक्षा गरेको बताउँदै महानर्देशक पौडेलले फ्रेस मुडमा फ्रेस मानसिकताले काम गर्ने योजना अनुसार टिम लागि परेको पनि उल्लेख गरे ।

आफू २५ बर्ष अघि सेवा प्रवेश गर्दा शिक्षामा जुन समस्या थिए अहिले पनि त्यही रहेको बताउँदै उनले यसको सुधारका लागि आफू प्रतिवद्ध रहेको पनि बताए ।

पढ्नुहोस् पत्रकार सम्मेलनमा ब्यक्त उनका विचार : शिक्षा विभागको महानिर्देशक भएँ, समस्या चाँही शाखा अधिकृत हुँदाकै

पत्रकार सम्मेलनमा विभागका निर्देशक द्धय मित्रनाथ गर्तौला र अणप्रसाद न्यौपानेले आआफ्ना महाशाखाको कामका बारेमा बोलेका थिए । गर्तौला योजना तथा अनुगमन महाशाखा प्रमुख छन् भने न्यौपानेलाई प्रवक्ता सति शैक्षिक ब्यवस्थापन महाशाखाको प्रमुख जिम्मेवारी दिईएको छ ।

प्रतिक्रिया