Edukhabar
आइतबार, ०२ मंसिर २०८१
अन्तैवाट

एसएलसी कक्षा १० र १२ मा बनाउने प्रस्ताव

विहीबार, १३ असोज २०७३

काठमाडौं १३ असोज / सरकारले माध्यमिक तहमा ‘एसएलसी कक्षा १०’ र ‘एसएलसी कक्षा १२’ बनाउने प्रस्ताव अगाडि सारेको छ । जेठमा व्यवस्थापिका–संसद्बाट पारित भएको शिक्षा (आठौँ संशोधन) ऐनले राष्ट्रिय परीक्षा बोर्डको व्यवस्था गरेको छ ।  विद्यालय तहको कक्षा १० र १२ को अन्तिम परीक्षा बोर्डले लिने व्यवस्था संशोधित ऐनमा छ ।  अबदेखि कक्षा १० को अन्तिम परीक्षाका रूपमा एसएलसी परीक्षा सञ्चालन नहुने भनी चर्चा चलिरहेका बेला सरकारले कक्षा १० र १२ लाई एसएलसी परीक्षाका रूपमा सञ्चालन गर्ने प्रस्ताव अगाडि सारेको हो ।

राष्ट्रिय परीक्षा बोर्डका सदस्यसचिव सूर्यप्रसाद गौतमले कक्षा १० बाट विद्यार्थी बाहिरिने भएकोले त्यसलाई एसएलसीका रूपमा कायम गर्नुपर्ने तर्क गर्दै भन्नुभयो, “त्यसैले एसएलसी कक्षा १० र एसएलसी कक्षा १२ गर्ने व्यवस्था प्रस्ताव गरेका हौँ ।  यस्तो अभ्यास विदेशका थुप्रै मुलुकमा छ । ” यस्तो प्रस्ताव बुधबार शिक्षा मन्त्रालयमा बुझाइएको छ ।  प्रस्तावलाई राष्ट्रिय परीक्षा बोर्डले पारित गरेपछि कार्यान्वयनमा आउनेछ ।  बोर्डको अध्यक्ष रिक्त छ भने उपाध्यक्षमा मन्त्रालयका सचिव हुनुहुन्छ ।  परीक्षा नियन्त्रक अम्बिका रेग्मीले १९९० सालदेखिको व्यवस्थालाई तत्काल भत्काउन कठिन हुने भन्दै थप्नुभयो, “हाललाई परीक्षा नियन्त्रण कार्यालयले नै कक्षा १० को अन्तिम परीक्षा सञ्चालन गर्नेछ । ”

देशभरिमा करिब आठ हजार विद्यालयमा कक्षा १० सम्मको पठनपाठन हुँदै आएको छ भने करिब तीन हजार छ सय विद्यालयमा कक्षा ११ र १२ को शैक्षिक कार्यक्रम सञ्चालन भइरहेको छ ।  सबै विद्यालयमा माध्यमिक तह अर्थात् कक्षा १२ सम्मको कार्यक्रम सञ्चालन नभएकाले लाखौँ विद्यार्थीले कक्षा १० बाट आफू पढेको विद्यालयबाट बाहिरिनुपर्ने हुन्छ ।

बोर्डका सदस्यसचिव गौतमले कक्षा १० को परीक्षा हाललाई पनिकाले सञ्चालन गरे पनि पछि प्रदेशस्तरमा सञ्चालन हुने बताउँदै भन्नुभयो, “सङ्क्रमणकालीन अवस्थामा कक्षा १० को अन्तिम परीक्षा पनिकाले नै सञ्चालन गर्नेछ ।  परीक्षा पनिकाले सञ्चालन गरे पनि प्रमाणपत्र राष्ट्रिय परीक्षा बोर्डद्वारा जारी गरिनेछ । ”

प्रकृति अधिकारीले गोरखापत्रमा लेखेको खबर ।
 

 

प्रतिक्रिया