Edukhabar
आइतबार, ०२ मंसिर २०८१
अन्तैवाट

शिक्षा र सीप सँगसँगै

सोमबार, १० असोज २०७३

काठमाडौं १० असोज / रामेछाप खिम्तीकी ३० वर्षीया रामकुमारी पाण्डे आस्था महिला विद्यालय गठ्ठाघरमा कक्षा ५ मा अध्ययनरत छिन् । सानैदेखि पढ्ने, अक्षर खेलाउने धोको पूरा गर्न पाण्डे गत वर्ष कक्षा ४ मा भर्ना भइन् । बिहान विद्यालय जाने, विद्यालयबाट फर्केर छोराछोरीलाई खाना खुवाएर विद्यालय पठाउने छिन् । त्यसपछि सोही विद्यालयबाट सञ्चालित आस्था महिला हस्तकला उद्योगमा काम गर्ने उनको दैनिकी बनेको छ । ‘बिहान पढ्न जान्छु, पढेर फर्केपछि छोराछोरीलाई स्कुल पठाउँछु,’ उनले भनिन्, ‘छोराछोरीलाई स्कुल पठाएपछि घरधन्दा सकाएर ढाकाको खादा बनाउँछु । आस्था महिला विद्यालयले शिक्षा र सीपको व्यवस्था गरिदिएको छ ।’

सानैमा दाजुभाइलाई बोर्डिङ पढाएर छोरीलाई बालविवाह गरिदिएका अभिभावकलाई देखाउन पनि विद्यालय भर्ना भएर पढ्न थालेको उनी बताउँछिन् । ‘म जन्मिएको गाउँ त्यति अशिक्षित पनि थिएन । तर, अभिभावकले हामी दुई दिदीबहिनीलाई स्कुल पठाएनन्, उनले भनिन्, ‘बोर्डिङ पढेका दाजुभाइ सरकारी जागिरे छन् । १४ वर्षमै विवाह गरी पठाए ।’

सीटीईभीटीमा तीनमहिने सिलाइ–कटाइ तालिम लिएकी पाण्डे हस्तकला उद्योगमा ढाकाको खादा, तरकारी बोक्ने कपडाको झोला, ढाकाको झोला सिलाउँछिन् । सिलाइअनुसार ज्याला पाउने र महिनामा कम्तीमा ७ देखि १२ हजार रुपैयाँ कमाइ हुने उनी बताउँछिन् । एसएलसी पास गर्ने र भूकम्पले ढालेको गाउँको घर उभ्याउने उनको सपना छ ।

सर्लाही लालबन्दीकी १९ वर्षीया सविना तामाङ सोही विद्यालयमा कक्षा ९ मा अध्ययनरत छिन् । घरको आर्थिक अवस्था न्यून भएकाले समयमा पढाइलाई निरन्तरता दिन नसकेकी तामाङ गत वर्ष यही विद्यालयमा कक्षा ८ मा भर्ना भएकी हुन् । उनी बिहानको पढाइ सकेर ढाकाको झोला, खादा सिलाउँछिन् । ‘पढ्ने र काम गर्ने सँगै पाएकी छु,’ उनले भनिन्, ‘पढाइसँगै आत्मनिर्भर हुने मौका मिलेको छ ।’ घर पूरा धान्न नसके पनि स्कुलको शुल्क, घरभाडा र आवश्यक ठाउँमा खर्च गर्न सक्ने भएको उनी बताउँछिन् ।

उनीहरू जस्तै, सिन्धुली छमलटारकी २२ वर्षीया निरु तामाङ कक्षा ९ मा पढछन् । घरमा काम गर्ने मान्छे नभएर सानैमा विद्यालय जान पाएकी थिइनन् । अरूको जस्तै बिहानको कक्षा सकेर उनी पनि दिउँसो सोही उद्योगमा सिलाइकटाइको काम गर्छिन् । सानैदेखिको पढ्ने धोको र सीप सिक्ने रहरलाई सोही विद्यालयले पूरा गरेको उनी बताउँछिन् ।

‘आमा बिरामी भएर सानैमा पढ्न पाइनँ, अहिले पढदै छु,’ उनले भनिन्, ‘पढाइ मात्र नभएर सीप सिक्ने मौका मिलेको छ । पढाइसँगै धेरथोर कमाउन सक्ने भएकी छु ।’ विद्यालय शिक्षा पूरा गरी फेसन डिजाइनर बन्ने सपना बुनेको उनले बताइन् ।

अधुरो शिक्षा पूरा गर्ने र महिलाहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यले २०६५ मा खोलेको आस्था महिला विद्यालयले हस्तकला उद्योग खोलेर पढाइसँगै महिलाहरूलाई सीप केन्द्रित गरेको विद्यालयकी निवर्तमान अध्यक्ष जुना बस्नेतले बताइन् । ‘बिहान पढेर दिनभर उद्योगमा सीप सिक्ने र काम गर्ने गर्छन् दिदीबहिनी,’ उनले भनिन्, ‘दिदीबहिनीलाई वातावरणमैत्री कपडाको झोला, ढाकाको खादालगायत सिलाइमा केन्द्रित गरेका छौं ।’
उद्योगबाट भएको आम्दानीको २० प्रतिशत रकम विद्यालय सञ्चालनमा खर्च हुन्छ । ‘पढाइबाट वञ्चित दिदीबहिनीलाई अक्षर चिनाउने र जागिर दिने गरेकाछौं,’ विद्यालय तथा उद्योगकी अध्यक्ष रूपा केसीले भनिन्, ‘४५ महिला दिदीबहिनीले एसएलसी उत्तीर्ण गरिसकेका छन्, १५ दिदीबहिनी पढाइसँगै उद्योगमा कार्यरत छन् ।’ २ वर्षअघि १० दिदीबहिनी मिलेर ३ लाखको लगानीमा खोलेको हस्तकला उद्योगमा उत्पादित ढाकाको खादाको माग अत्यधिक बढदै गएको उनले बताइन् ।

उद्योग सञ्चालनका लागि तत्कालीन उद्योगमन्त्री महेश बस्नेतले अनुदान दिएको ३ वटा सिलाइ मेसिनबाट १५ महिला दिदीबहिनीलाई तालिम सुरुसँगै उद्योग सञ्चालन गरेको कोषाध्यक्ष शारदा शर्माले बताइन् । ती महिलालाई स्वदेशी उत्पादनमा निर्भर गराउने लक्ष्य रहेको उनले बताइन् । उद्योगमा पछिल्लो समय नेपाली ढाकाको खादा, तरकारी बोक्ने कपडाको झोला, बेड/कोट कभरको माग बढेको छ ।

कान्तिपुरमा प्रकाशित खबर ।

 

प्रतिक्रिया