सामुदायिक विद्यालयका शिक्षकहरु ११ महिने ३ महिने, ४५दिने र अन्य तालिमका प्रमाणपत्र धारी हुन्छन् भने निजी विद्यालयका शिक्षकहरुमा आफूले पढेको शैक्षिक प्रमाणपत्र नै पहिलो तालिम हो र आफूलाई पढाउने गुरुहरुको पढाउने तौरतरिका र शैक्षिक ज्ञान नै विद्यार्थीहरुलाई पढाउने गर्दछन् । फरक यत्ति मात्र छ सामुदायिक विद्यालयका शिक्षकहरु प्रायः घरपायक मिलाएर जागिर खाएका हुन्छन् ।
बिहान घरको, गोठको धन्दा गर्छन् या चोकमा चिया चुरोट पिउँछन् अनि नौबजे भात खान्छन् र स्कूले ठाँटले मन नलागी नलागी विद्यालय भएतिर आफ्नो रुग्ण जीउलाई घिसार्छन् । हाजिर गर्छन्, एकछिन बाटोउँधोतिर देखेको गफ चुट्छन् अनि हाजिरी रजिष्ट्रर लिएर कक्षाकोठामा प्रवेश गर्छन् । त्यतिन्जेल पनि उनीहरुलाई आज कुन पाठ पढाउने हो, विषयवस्तु के हो केही जानकारी हुँदैन । छ भने अघिल्लो वर्षको पुस्तक, जसमा केही नजानेका शब्दार्थ रातो, कालो र निलो मसीले लेखिएको छ, बोकेर जान्छन् । होइन भने हाजिरी सकेपछि अघिल्लो बेन्चका विद्यार्थीबाट किताब सापट लिन्छन् र त्यही कक्षाका विद्यार्थी कुनै एउटालाई पढेर सुनाउन भन्छन् । अनि सो विद्यार्थीलाई बस् भनिसकेपछि विद्यार्थीतिर फर्केर बुझ्यौ ? भन्छन् । जाने २०।२५ प्रतिशत सारांश भट्याउँछन्, आफ्नो दिमाखमा नि नघुसे फेरि किताब समातेर आफूले नि पढ्छन् र पूर्णविराममा अड्किएर विद्यार्थीतिर फर्केर भन्छन् । बुझ्यौ ? तर आफूले नै राम्रोसँग बुझेको हुँदैन ।
निजी विद्यालयका शिक्षकहरु बिहान सबेरै उठ्नुपर्ने, साढे नौबजेदेखि कक्षा सुरु हुने साढे पाँच बजेसम्म पढाउनुपर्ने , होमवर्क चेक गर्नुपर्ने, अभिभावकको खप्की, लेभल हेडदेखि लिएर प्रिन्सिपलसम्मका सबै गुनासाहरु सुन्नुपर्ने भएकाले पढाइप्रति चनाखो हुन्छन् । सामुदायिक विद्यालयका शिक्षकहरु कसको भैसी बेच्नु छ, कस्की छोरी, बहिनी र भान्जीका लागि बिहे गर्न जोडा खोज्नुछ, घरजग्गाको दलाली गर्नुछ, त्यसैमा ध्यान जाने हुँदा यस्तो भएको हो । साँच्चै मास्टर साहेव नै हुन् फेल र पास हुने केही झिनो प्रतिशत मात्र विद्यार्थीका हातमा हुन्छ, भन्ने मलाई लाग्छ ।
प्रतिक्रिया