काठमाडौं ८ असोज / वीरगन्ज नगर क्षेत्रमा बढ्दो प्रदुषणको नियन्त्रण र फोहोर व्यवस्थापनको माग गर्दै शुक्रबार स्कुले बालबालिकाले सडकमै सुतेर विरोध जनाएका छन् । प्रकृति सेवा प्रतिष्ठान नेपालको अगुवाइमा वीरगन्ज भन्सार कार्यालय अगाडिको मुल सडकमै सुतेर स्कुले बालबालिकाले विरोध जनाएका हुन् ।
भन्सार कार्यालय अगाडिको मुल सडकमै शुक्रबार आधा घण्टा सड्कमै सुतेर स्कुले बालबालिकाले विरोध जनाएका हुन् । स्कुले बालबालिकाको प्रदर्शनमा वीरगञ्जका प्रकृति प्रेमी, प्रतिष्ठानका पदाधीकार र स्थानीय युवाले साथ दिएका थिए ।
धुलो र धुवाँ तथा फोहोरले पीडित वीरगञ्ज भन्सार क्षेत्रका वासिन्दाको स्वास्थ्य प्रति सरोकारवाला निकायलाई गम्भीर हुन पटक पटक आग्रह गर्दा समेत कुनै सुनुवाई नभएपछि शुक्रबार सडकमै सुतेर विरोध जनाइएको प्रकृति सेवा प्रतिष्ठान नेपालका अध्यक्ष सरदार जसपाल सिंहले बताए ।
वीरगञ्जको शंकराचार्य प्रवेशद्वार नजिकैको दशगज्जा क्षेत्रमा उप–महानगरपालिका कार्यालयले नगर क्षेत्रबाट संकलन गरिएको फोहोर फ्याक्दै आएको छ। नेपालको मुख्य प्रवेशद्वारको रुपमा रहेको वीरगन्ज नाकाको दशगजा क्षेत्रमै उप–महानगरपालिकाले अव्यवस्थित रुपम फ्याक्दै आएको फोहोरको डङगुरले गर्दा पुरै भन्सार क्षेत्र नै दुर्गन्धित भएको छ ।
फोहोरलाई व्यवस्थापन गर्न र भन्सार क्षेत्रको सड्कलाई नियमित सफाई गर्न गराउन उप–महानगरपालिका कार्यालय तथा स्थानिय प्रशासनलाई महिनौदेखि आग्रह गर्दा समेत कुनै सुनुवाई नभएपछि बाध्य भएर बाटोमा स–साना स्कुले बालबालिकासहित सुतेर सांकेतिक विरोध गरिएको अध्यक्ष सिंहले बताए ।
उनले भने ,‘भन्सार क्षेत्रका सड्कको सफाई महिनौदेखि उपमहानगरपालिकाले गरेको छैन, सडकमा जमेको धुलोका कारण भन्सार क्षेत्रका सर्वसाधारण र भन्सारका कर्मचारी समेत विरामी हुने गरेका छन्।
प्रकृति सेवा प्रतिष्ठानले गरेको अनुसन्धानबाट पर्सा जिल्लाको सबै भन्दा बढी प्रदुषित क्षेत्र भन्सार क्षेत्र नै भएको र उक्त क्षेत्रको सफाइका लागि दर्जनौं पटक लिखित पत्र उपमहानगरपालिका र जिल्ला प्रशासन कार्यालयलाई बुझाउदै अनुरोध गरेपनि कुनै सुनुवाई नभएको अध्यक्ष सिंहले बताए ।
पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले प्रकृति सेवा प्रतिष्ठानको विरोध प्रर्दशनलाई सकारात्मक रुपमा लिएको बताए । उनले भन्सार क्षेत्रमा फ्याकिएका फोहरलाई चाँडो भन्दा चाँडो उचित स्थानमा व्यवस्थापन गर्न उपमहानगरपालिका कार्यालयलाई निर्देशन दिने पनि बताए ।
क्रान्ति शाहले अन्नपूर्ण पोष्टमा लेखेको खबर ।
प्रतिक्रिया