Edukhabar
आइतबार, ०२ मंसिर २०८१
अन्तैवाट

कृषि विश्वविद्यालयमा पढाइ ठप्प

शुक्रबार, ०७ असोज २०७३

काठमाडौं ७ असोज / कृषि तथा वन विज्ञान विश्वविद्यालयमा बाली विज्ञानमा स्नातकोत्तर दोस्रो सेमेस्टर अध्ययनरत भरतपुरकी दीपिका तिमल्सिना बिहीबार निराश देखिन्थिन् । एक महिनायता पढाइ ठप्प भएपछि मंसिरमा हुने परीक्षाको तयारी कसरी गर्ने, अन्योलमा छिन् उनी । ‘रिसर्चको काम अझै सकिएको छैन, लाइब्रेरीमा ताला झुन्ड्याइएको छ,’ उनले निराश हुँदै भनिन्, ‘पढाइ डामाडोल भयो ।’ सँगै थिए भक्तपुरका दिनेश तिमल्सिना ।

पढाइ राम्रो हुने भनेर टाढादेखि आए पनि सधैंको बन्दले मारमा परेको उनले दुखेसो पोखे । ‘यति साह्रो राजनीति होला भन्ने लागेको थिएन,’ दिनेशले भने, ‘सबैतिरका सरकारी क्याम्पस एउटै हुँदा रहेछन्, पढाइ कम राजनीति बढी ।’ एक महिनायता विभिन्न ५ संगठनले आफ्ना माग पूरा गराउन पठनपाठन ठप्प पारेका छन् । क्याम्पस स्रोतका अनुसार सेवा आयोगबाट बढुवा प्रक्रिया सुचारु गर्न माग गर्दै करार कर्मचारी, स्थायी प्रक्रिया थाल्न माग गर्दै करार प्राध्यापक, शैक्षिक भ्रमणमा दैनिक भत्ता बढाउन माग गर्दै चार विद्यार्थी संगठन र डिन नियुक्ति खारेजी माग गर्दै प्रजातन्त्रवादी प्राध्यापक संघले पढाइ रोकेका हुन् । यससँगै प्रश्नपत्र अप्ठ्यारो आएको भन्दै पुन: परीक्षा माग्नेहरू पनि छन् ।

केहीले कृषि तथा वन विश्वविद्यालयको केन्द्रीय कार्यालयमै ताला ठोकेका छन् । कतिले मुख्य ढोकामा मागपत्र टाँसेका छन् । अहिले मुख्य कार्यालयको ढोकामा ३ वटा ताला छन् । थप ताला ताल अट्ने ठाउँ छैन । ‘विद्यार्थी राजनीतिक दलका हतियार बने,’ एक प्राध्यापकले भने, ‘क्याम्पसका पदाधिकारीले आफ्नो स्टयान्ड लिन सकेका छैनन्, विद्यार्थीले क्याम्पस तोडफोड गर्छन्, प्रहरीले थुनेपछि तिनै क्याम्पसका पदाधिकारी निरिह बनेर छुटाउँछन् ।’

विद्यार्थी संगठनले बुधबार माग पूरा नगरेको भन्दै विश्वविद्यालयको केन्द्रीय कार्यालयको नयाँ भवन, डिन कार्यालयको झ्याल र ढोकाको सिसा फुटाए । विद्यार्थी तोडफोडमा उत्रिएपछि प्रहरीले साम्य बनाएको थियो । ‘अहिले २ वटा विश्वविद्यालयका प्राध्यापकलाई जुधाउने काम गरिएको छ,’ कृषि संकायका उपप्राध्यापक अनन्त सुवेदीले भने, ‘यसको फाइदा स्थानीयदेखि केन्द्रीय तहसम्मका नेताले लिइरहेका छन् ।’ उनका अनुसार विभिन्न पार्टीले विश्वविद्यालयमा जबरजस्ती संगठन बनाउँदा अराजकता बढेको छ ।

नेपालमै कृषि, वन, भेटनरीलगायत विषयमा नाम कमाउन सफल यो क्याम्पस अहिले विद्यार्थीको राजनीति गर्ने थलो बनेको छ । ‘क्याम्पस सुधार्न आवश्यक छ,’ पशु विज्ञान संकाय उपप्राध्यापक निराजन भट्टराईले भने, ‘यसका लागि सबै गम्भीर हुन जरुरी छ ।’ सानो कुरामा पनि चित्त नबुझउँदा तालाबन्दी गरेर आन्दोलन गर्ने परिपाटीले क्याम्पस धराशयी बन्दै गएको छ । ‘शैक्षिक भ्रमणमा जाँदा भत्ता दिने गरिएको छ,’ अनेरास्ववियु केन्द्रीय क्याम्पस कमिटी अध्यक्ष आदर्श सिग्देलले भने, ‘पोहोर ४ सय दिने, अहिले आएर २ सय मात्र दिने भन्दा त्यसको विरोध गरेका हौं ।’ उनका अनुसार ताला लगाएको लामो समय हुँदासमेत वार्ताका लागि प्रशासनले पहल गरेको छैन । क्याम्पसले दसैं र तिहारको बीचमा एक महिने शैक्षिक भ्रणका क्रममा भारत लैजाने गरेको छ ।

त्यस्तै नेपालको पूर्वपश्चिम भ्रमण १० दिनको हुन्छ । क्याम्पस स्रोतका अनुसार स्नातक तहको सातौं सत्रहान्तको सबै संकायका करिब ३ सय ५५ विद्यार्थी हुन्छन् । पहिला दैनिक भ्रमण भत्ता भनेर १ सय रुपैयाँ दिने गरिन्थ्यो । अहिले बढाएर ४ सय बनाउन लागिएको हो । सबै रकम राज्यको ढिकुटिबाट दिने हो । क्याम्पसका अनुसार भारत भ्रमणमा जाँदा ६८ लाख १६ हजार खर्च हुन्छ । यो खर्च विद्यार्थीले पाउने भत्ता मात्र हो । ‘शिक्षकले पढाउँदैनन्, पुराना भौतिक संरचना छन्,’ नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य सरोज रेग्मीले भने,‘प्रशासनले एकलौटी रूपमा पेल्दा विद्यार्थी मारमा परेका छन् ।’

विश्वविद्यालयबीच लडाइँ
यहाँ अहिले त्रिभुवन विश्वविद्यालय र कृषि तथा वन विश्वविद्यालयको पानी बाराबार छ । अहिले त्रिविका कार्यक्रम बन्द छन् । ४ वर्षदेखि विद्यार्थी भर्ना नलिइएको क्याम्पस प्रमुख श्यामसुन्दर पन्तले बताए । ‘वन विश्वविद्यालय सबैको पहलमा आएको हो,’ उनले भने, ‘यसको ऐन डिफेक्टिभ छ, सर्वोच्चमा मुद्दा हालेको छु ।’ उनका अनुसार उक्त विश्व विद्यालयलाई यहाँ बस्ने अधिकार नभएकाले ऐन संशोधनको माग गरिएको छ । यो क्याम्पस २०१३ सालमा स्थापना भएको । जगदम्बा भवन ललितपुरबाट क्याम्पसलाई २०२९ सालमा यहाँ सारिएको पन्तले बताए । कृषि तथा वन विश्वविद्यालय भने ०६७ सालमा स्थापना भएको हो । वन विज्ञानको पढाइ भने हेटौंडामा हुन्छ । ‘जग्गाको लालपुर्जा हाम्रो नाममा छ,’ उनले भने, ‘हरेक विश्वविद्यालय स्वायत्त हुन्छ, मन्त्रिपरिषदले निर्णय गर्ने बित्तिकै हस्तक्षेप गर्न पाइँदैन ।’ यसको क्षेत्रफल साढे ४ सय बिघा छ । ‘विवादले गर्दा कार्यालय ७ पटक जल्यो, मेरो घर तोडफोड गरियो,’ पन्तले भने, ‘यो समस्या छलफल गरेर समाधान गर्न जरुरी छ ।’

उता कृषि तथा वन विश्वविद्यालयका उपकुलपति डा. ईश्वरीप्रसाद ढकालले सानासाना माग राखेरसमेत ताला लगाउने परिपाटी राम्रो नभएको बताए । ‘क्याम्पसको रुटिनसमेत विद्यार्थीले निकाल्छन्,’ उनले भने, ‘पूरा गर्न नसकिने माग राख्दा समस्या भएको हो ।’

उता त्रिविले दादागिरी देखाएर सम्पत्ति हस्तान्तरण नगरेको आरोप पनि उनले लगाए । ‘यो राज्यको सम्पत्ति हो, उसले हस्तान्तरण गर्नुपर्छ,’ उनले भने,‘अब केका लागि सहमति गर्नु ?’

विमल खतिवडाले कान्तिपुरमा लेखेको खबर ।

प्रतिक्रिया