काठमाडौं ७ असोज / मिर्चैया नपा १ मठडाहीकुटीको जनजागृति प्राथमिक विद्यालयका शिक्षक विद्यालय नआएपछि विद्यार्थीको पढाइ प्रभावित भएको छ । तीन कक्षासम्म पढाइ हुने विद्यालयका एक मात्र शिक्षक (निमित्त प्रअ) हरिदेव मण्डल विद्यालयमा उपस्थित नभएपछि विद्यार्थीको पढाइ प्रभावित भएको हो ।
स्थानीय रामनाथ साहका अनुसार मण्डल शिक्षक नियुक्त भएदेखि नै नियमित विद्यालय आउने गरेका छैनन् । स्थानीय भएकाले उनी राजनीतिक रवाफ देखाउँदै विद्यालय नआउने गरेको उनले बताए । शिक्षक नआएपछि विद्यालयका सहयोगी रवीन्द्र ठाकुरले विद्यार्थीलाई पढाउने गरेको स्थानीय गुरुदयाल सदायले जानकारी दिए ।
नियुक्त भएदेखि नै मण्डल विद्यालय नआएपछि आफैंले विद्यार्थीलाई जानेसम्म पढाउने गरेको कार्यालय सहयोगी ठाकुरले स्वीकार गरे । उनी भन्छन्, 'तीनवटै कक्षामा गरी जम्मा ६० जना विद्यार्थी छन् । नियमित १२/१५ जना आउँछन्, उनीहरूलाई म आफैं पढाउँछु ।'
विद्यालयको हाजिरी रजिस्टरसमेत मण्डलले आफ्नै घरमा राख्ने गरेको कार्यालय सहयोगी ठाकुरले बताए । रजिस्टर नभएपछि हाजिर गर्नसमेत उनकै घरमा जाने गरेको ठाकुरले बताए । विद्यार्थीको नाम टिपेर त्यहीअनुसार हाजिर गर्ने गरेको उनले बताए । समाचार संकलन गर्न पुगेको दिन परिचर ठाकुर पनि विद्यार्थीलाई छुट्टी दिएर गाउँमा सत्यनारायणको पूजा गराइरहेको भेटिए । 'शिक्षक पनि नआउने, तपाईं पनि यसरी पूजाआजा गराएर हिँडेपछि विद्यार्थीलाई कसले पढाउँछ ? भनी सोध्दा उनले भने, 'ब्राम्हण भेटिएनन्, मलाई पूजा गराउन भनेकाले जानेको गरिदिएको हुँ ।'
विद्यालयमा नियमित बसेर पढाउने मात्र मेरो काम होइन । मेरो विभिन्न काम हुन्छ, सधैं विद्यालयमा बसेर कहाँ पढाउन सक्छु ? कहिलेकहीँ एक आधा घन्टा विद्यालयमा बस्छु ।-हरिदेव मण्डल/शिक्षक, जनजागृति प्रावि
स्थानीयले शिक्षकलाई नियमित उपस्थित गराउन वा अर्को शिक्षक पठाइदिन शिक्षा कार्यालय र शिक्षामन्त्रीसम्मलाई पटकपटक अनुरोध गर्दा पनि सुनुवाइ नभएको स्थानीयले गुनासो गरे । जिल्ला शिक्षा अधिकारी महेन्द्र महतोले भने, 'मण्डलको विषयमा गुनासो आएको छ । उनको ठाउँमा चाँडै अर्को शिक्षक पठाउने तयारी भइरहेको छ ।' उनले भने, 'शिक्षक मण्डललाई विद्यालयमा गएर पठनपाठन गराउन पटकपटक निर्देशन दिए पनि उनले टरेनन् । अब उनको ठाउँमा अर्को शिक्षक पठाउँदै छौं ।'
स्थानीय बासिन्दाले अघिल्लो सरकारका शिक्षामन्त्री गिरिराजमणि पोखरेल असार १० गते सिरहा आएका बेला विद्यालयको अवस्था अवगत गराएका थिए । त्यतिबेला मन्त्री पोखरेलले जिल्ला शिक्षा अधिकारी महतोलाई एक साताभित्र अर्को शिक्षक पठाएर पठनपाठन व्यवस्थित गर्न निर्देशन दिएको स्थानीय शिक्षकले जानकारी दिए ।
शिक्षक मण्डलले भने विद्यालयमा नियमित बसेर पढाउने मात्र आफ्नो काम नभएको बताए । उनले भने, 'मेरो विभिन्न काम हुन्छ, सधैं विद्यालयमा बसेर कहाँ पढाउन सक्छु ? ' उनले कहिलेकहीँ एक आधा घन्टा विद्यालयमा बस्ने गरेको बताए । उनले पढाउने मान्छे भएको भन्दै आफू नजाँदा पनि पठनपाठन प्रभावित नहुने जिकिर गरे ।
दलित बस्तीको मध्य भागमा रहेको विद्यालयका सबै विद्यार्थी दलित छन् । यहाँ सदाय (मुसहर), मण्डल र साफीको ७० भन्दा बढी घरपरिवार छ ।
दलित छात्रवृत्ति हिनामिना
राज्यले दिँदै आएको दलित छात्रवृत्तिको रकमसमेत पाँच वर्षदेखि नदिएर हिनामिना गरेको अभिभावको आरोप छ । शिक्षक मण्डलले भने छात्रवृत्ति र पुस्तकको पैसा शिक्षा कार्यालयले नपठाएको बताए । उनले भने, 'शिक्षा कार्यालयले पुस्तकको पैसा नपठाएपछि यो वर्ष आफ्नै खल्तीबाट सात हजार पाँच सयको पुस्तक किनेर विद्यार्थीलाई दिएँ ।'
शिक्षा कार्यालयको रेकर्डमा भने आव ०७२/७३ मा ५१ जना विद्यार्थीका लागि छात्रवृत्तिबापत २० हजार चार सय, पाठ्यपुस्तकबापत सात हजार पाँच सय, निरन्तर विद्यार्थी मूल्यांकनका लागि दुई हजार तीन सय ७५, ननसेलरी ७ हजार ६ सय ५०, सामाजिक लेखा परीक्षणका लागि ६ हजार पाँच सय रुपैयाँ गएको देखाएको छ ।
यस्तै विद्यालयलाई भौतिक सुविधा बिस्तार कार्यक्रमअन्तर्गत कक्षाकोठा र शौचालय निर्माण गर्न रकम निकासा दिएको भए पनि काम पूरा नगरी रकम लिएको देखिएको छ । कक्षाकोठा निर्माणका लागि आव ०६५/६६ र ६६/६७ मा पाँच लाख ५० हजार र शौचालय निर्माणका लागि एक लाख ५० हजार दिएको भए पनि काम अधुरै रहेको शिक्षा कार्यालयले बताएको छ ।
जिल्ला शिक्षा कार्यालय सिरहाका भौतिक योजना प्रमुख इन्जिनियर दिनेशकुमार यादवले काम सम्पन्न गर्न पटकपटक मौखिक तथा लिखित ताकेता गर्दासमेत वास्ता नगरेको बताए । कक्षा कोठाका लागि जग बनाई फलामे पाइप ठड्याएर पाँच वर्षदेखि अरू काम गरिएको छैन । फलामे पाइप मात्र ठड्याएका कारण पाइपमा खिया लागेर कामै नलाग्ने अवस्थामा पुग्न लागेको इन्जिनियर यादवले बताए ।
रामबाबु यादवले अन्नपूर्ण पोष्टमा लेखेको खबर ।
प्रतिक्रिया