रामेछाप - बुधबार एक कार्यक्रमका विच रामेछापलाई साक्षर जिल्ला घोषित गरिएको छ । जिल्ला शिक्षा कार्यालय रामेछापले बुधबार मन्थलीमा आयोजना गरेको कार्यक्रममा शिक्षा मन्त्री धनिराम पौडेलले साक्षर जिल्ला घोषणा गरेका हुन् ।
१५ देखि ६० बर्ष उमेर समूहका ९६.४० प्रतिशत जनसंख्या साक्षर भएकाले रामेछापलाई साक्षर जिल्ला घोषणा गरिएको हो । यस अघि देशभरीका ३० वटा जिल्ला साक्षर घोषित भैसकेका छन् ।
रामेछापको कूल जनसंख्या २ लाख ५३ हजार १ सय २४ मध्ये १५ देखि ६० बर्ष उमेर समूहका १ लाख ३२ हजार जनसंख्या साक्षर बनेका रामेछापका जिल्ला शिक्षा अधिकारी खुबीराम अघिकारीले जानकारी दिए ।
साक्षर रामेछाप घोषणा सभालाई संवोधन गर्दै शिक्षा मन्त्री पौडेलले पहाडी दुर्गम जिल्ला भएर पनि रामेछापले शिक्षा क्षेत्रमा गरेको प्रगति प्रशंसनिय भएको बताए । बाँकी निरक्षरलाई पनि साक्षर बनाएर पूर्ण साक्षर रामेछाप बनाउन उनले आग्रह गरे ।
कार्यक्रममा अनौपचारिक शिक्षा केन्द्रका निर्देशक दिवाकर ढुंगेल, मध्यमाञ्चल क्षेत्रीय शिक्षा निर्देशक दिनेशकुमार श्रेष्ठ, सांसदहरु श्यामकृष्ण श्रेष्ठ, शिवबहादुर खड्का र कमला सुवेदी, रामेछापका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारी, पत्रकार महासंघ रामेछापका सभापति बद्री नयाँघरे लगायतले बोलेका थिए ।
कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीहरुले सुनार नाच, माझी नाच, तामाङ सेलो लगायतका स्थानिय मौलिक संस्कृतिमा आधारित विभिन्न भाषाभाषीका गित तथा नृत्य प्रस्तुत गरेका थिए ।
प्रतिक्रिया