काठमाडौं ६ असोज / उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले विद्यालयको सुरक्षाप्रति सरकार गम्भीर रहेको भन्दै ढुक्क हुन आग्रह गरेका छन् । बुधबार निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) का प्रतिनिधिसँगको भेटमा उनले यस्तो बताएका हुन् ।
मंगलबार राजधानीका ११ विद्यालयमा बम राखेर विद्यार्थी, अभिभावक र शिक्षा जगत्लाई नै आतंकित तुल्याइएकोप्रति सरकारको ध्याकर्षण गराउन प्याब्सनको टोली उनलाई भेट्न पुगेको थियो । प्याब्सनका अध्यक्ष लक्ष्यबहादुर केसीले भने, ‘गृहमन्त्री निधिले आपराधिक गतिविधिमा संलग्न कसैलाई राज्यले छुट नदिने र तिनलाई कारबाहीको दायरामा ल्याउने कदम अघि बढाइसकेको बताउनुभएको छ । उहाँले शिक्षालय सुरक्षाप्रति निर्धक्क हुनोस् भनेर आश्वस्त तुल्याउनुभएको छ ।’
राजनीतिक आवरणमा आतंक मच्चाउनेलाई सरकारले कुनै हालतमा छुट नदिने र नागरिक समाजलाई सुरक्षाको प्रत्याभूति दिलाउने प्रतिबद्धता मन्त्री निधिले जनाएका थिए ।
कान्तिपुरमा प्रकाशित खबर ।
प्रतिक्रिया