Edukhabar
शुक्रबार, ०४ असोज २०८१
खबर/फिचर

पोखरा विश्वविद्यालयका २४ जनालाई विशेषद्वारा सफाई

सोमबार, १८ साउन २०७२

काठमाडौं १८ साउन / पोखरा विश्वविद्यालयका उपकुलपति सहित २४ जनाले विशेष अदालतबाट सफाई पाएका छन् । ब्यापक भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्धामा दावि अनुसार प्रमाण नपुगेको विशेषको ठहर छ । २ करोड ४४ लाख रुपैंयाको कुल विगो सहित दायर मुद्धामा सफाईको आधार प्रमाण नपुगेको उल्लेख छ । 

गत कात्तिक ११ गते अख्तियारले विशेष अदालतमा दायर गरेको मुद्दामा पूर्व उपकुलपति केशरजंग बराल र बहालवाला उपकुलपति खगेन्द्र भट्टराई लगायत २४ जनालाई अनियमिततामा संलग्न रहेको आरोप लगाएको थियो । विशेषको सफाई पछि एडुखबरलाई प्रतिकृया दिदैं भट्टराईले न्याय अझै सम्म नमरेको रैछ भन्ने अनुभूति भएको बताए । 'मेरो प्रतिकृया अरु केही छैन, अदालतले ईन्साफ गरेको छ', उनले भने । 

कात्तिक १० गते उनीहरुलाई अख्तियारले पक्राउ गरेर काठमाडौं ल्याएको थियो । २५ गते सम्म अख्तियारकै हिरासतमा रहेका उनीहरु धरौटिमा रिहा भएका थिए । 

यो बिचमा १६ पटक सम्म पेशी भएको थियो ।  

विश्वविद्यालयबाट नयाँ कलेजहरुलाई सम्बन्धन दिने लगायतका क्रियाकलापमा भ्रष्टाचार भएको अख्तियारको दावी थियो । भट्टराईमाथि मात्रै १ करोड २३ लाखको दावी थियो । 

अख्तियारले दायर गरेको मुद्धामा करिव ३४ लाख रुपैंया मनोमानी बाँडेको तथा इन्धन र ढुवानीमा करिव १३ लाख दुरुपयोग भएको सम्बन्धन, भौतिक निर्माण, कर्मचारी नियुक्ती लगायतमा लाखौँ आर्थिक चलखेल भेटिएको लगायतका तथ्य उल्लेख थियो । परीक्षा नियन्त्रण कार्यालयका पदाधिकारी तथा कर्मचारीहरुले मात्रै ३० लाख ९३ हजार रुपैंया दुरुपयोग गरेको अख्तियारको दावी थियो । परामर्श सेवाका नाममा मात्रै अनियमितता भएको २१ लाख रुपैंया अख्तियारले विगो दावी गरेको थियो । 

रजिष्ट्रार मानबहादुर केसी, ओमप्रकाश शर्मा, योजना महाशाखा प्रमुख हरि खड्का, डीन सुरेन बास्तोला, तत्कालिन कार्यकारी परिषद्का सदस्य ईन्द्रप्रसाद तिवारी, भवानी प्रसाद पाण्डे, ज्ञानेश्वर शर्मा, चन्द्रमणि पौडेल, ईश्वरचन्द्र बानियाँ विरुद्ध अख्तियारले मुद्धा हालेको थियो । यस्तै कार्यकारी परिषद्का सदस्य दिपकराज पौडेल, लेखाका उपप्रशासक यादव थापा,रबिन्द्र प्रसाद बराललाई पनि मुद्दा थियो ।

यसैगरी पूर्व परीक्षा नियन्त्रक कर्णविर पौडेल, परीक्षा नियन्त्रक बलराम भट्टराई, कामु परीक्षा नियन्त्रक पूर्णचन्द्र शर्मा, कन्सल्टेण्ट प्रमुख पदमबहादुर शाही, प्राविधिक शाखा प्रम’ख विनोद प्रसाद ढकाल, उप प्रशासक होम बहादुर थापा र गोबर्धन भट्टराई, ठेकेदार रामेश्वर भण्डारी सहित २४ जनालाई अख्तियारले सजायको माग सहित मुद्दा दायर गरेको थियो । 

प्रतिक्रिया