काठमाडौं ५ असोज / केही वर्षयता मानविकी तथा सामाजिक शास्त्र संकायमा विद्यार्थी संख्या घट्दो छ । तर, सबै विषयमा विद्यार्थी संख्या उत्तिकै नभए पनि केही यस्ता विषय छन् जसमा विद्यार्थीको आकर्षण बढ्दो छ । त्रिभुवनलगायतका विश्वविद्यालयले मानविकी तथा सामाजिक शास्त्र संकायअन्तर्गतका विषयलाई रोजगारमूलक बनाउँदै लैजाने योजना बनाएका छन् ।
समाज बुझ्नका लागि मानविकी तथा सामाजिक शास्त्र अध्ययन गर्नुपर्छ । मानविकी तथा सामाजिक शास्त्र संकायमा पनि यस्ता केही विषय छन् जसको अध्ययन गरेर रोजगारीका लागिसमेत अवसर प्राप्त गर्न सकिन्छ ।
अहिले नेपालका विभिन्न विश्वविद्यालयले स्नातक तहमा सञ्चालन गरेका सोसल वर्क, मनोविज्ञान, पत्रकारिता, संगीत, फिल्मलगायतका विषयमा आकर्षण रहेको छ । यी विषय अध्ययनले सैद्धान्तिक कुरा मात्र होइन, व्यावहारिक कुरा सिक्ने र रोजगारीका लागिसमेत बाटो खुलेका छन् ।
त्रिवि मानविकी तथा सामाजिक शास्त्र संकायका सहायक डिन डा. निलम शर्माले यस संकायअन्तर्गतका विषय रोजगारमूलक बनाउँदै लैजान लागेको बताए । सहायक डिन शर्माले भने, ‘अहिले पनि सामाजिक शास्त्रका प्रयोगात्मक हुने विषय लोकप्रिय रहेको र अब आउने विषयलाई सीपसँग जोडेर लैजाँदै छौँ ।’ अहिले सामाजिक शास्त्रअन्तर्गतको सोसल वर्कको विषयमा सम्बन्धन सँगसँगै मनोविज्ञान विषयको पनि सम्बन्धन माग्नेहरूको संख्या धेरै रहेको छ । स्नातक तहमा भूगोल विषयमा पनि विद्यार्थी संख्या राम्रो रहेको शर्माले बताए ।
मानविकी तथा सामाजिक शास्त्र पढेर सामाजिक दायित्व बोध गर्ने, नीति निर्माण गर्न विश्लेषण गर्न तथा मानवको गुण दिलाउनु यो संकायको उद्देश्य रहेको हुन्छ । तर, यो संकायमा उच्च शिक्षा अध्ययनपछि रोजगारीसँग जोड्न थालेपछि यी विषय प्राथमिकतामा परेका हुन् ।
समाज बुझ्न र प्राविधिकदेखि व्यवस्थापन पढ्ने सबैलाई काम पाउने वातावरण बनाउन समाजविज्ञान बुझेको व्यक्तिले नीति बनाउनुपर्ने विज्ञको दाबी छ । मानविकी तथा सामाजिक शास्त्र राम्रो नभएमा अरू विषय पढेकाले पनि सही स्थान नपाउने उनीहरूको भनाइ छ । मनोविज्ञान बुझ्नेले सामाजिक कार्य गर्न सजिलो हुने भएकाले मनोविज्ञान विषयको स्वीकृति माग्नेहरूको चाप रहेको सहायक डिन शर्माले बताए ।
अहिले मानविकी तथा सामाजिक शास्त्र संकायमा भाषासँग सम्बन्धित विषयहरूका साथै इतिहास, कल्चर, जनसंख्या अध्ययन, संस्कृतलगायतका विषयमा विद्यार्थीहरूको संख्या न्यून हुँदै गइरहेको छ ।
चारवर्षे कोर्समा प्राक्टिकल ४० प्रतिशत बनाउँदै
त्रिभुवन विश्वविद्यालयका मानविकी तथा सामाजिक शास्त्र संकाय स्नातक तहका केही विषय चारवर्षे हुँदै छन् । त्रिविले रोजगारमूलक विषयहरूलाई चारवर्षे बनाउँदै छ । संगीत चारवर्षे भइसकेको छ । शर्माका अनुसार अब बिएसडब्लु, पत्रकारिता, लाइब्रेरी साइन्स, मनोविज्ञानजस्ता विषय चारवर्षे बनाउने र ती विषयमा ४० प्रतिशत प्रयोगात्मक बनाउने तयारी भइरहेको छ ।
आइटीका विषय थपिँदै
मानविकी तथा सामाजिक शास्त्र संकायमा पनि अब प्रविधिसँग सम्बन्धित विषय सञ्चालन हुने भएको छ । यसै शैक्षिकसत्रदेखि सुचारु हुने गरी ब्याचलर अफ कम्प्युटर एप्लिकेसन (बिसिए) विषयको पढाइ हुँदै छ । पूर्वाधार राम्रो भएका कलेजलाई यो वर्षदेखि नै सम्बन्धन दिने तयारी भएको छ । समाजिक शास्त्रमा पनि अब आइटी महत्वपूर्ण भएकाले बिसिए सुरु गर्न लागेको शर्माले जानकारी दिए ।
नयाँ पत्रिकामा प्रकाशित खबर ।
प्रतिक्रिया