Edukhabar
आइतबार, ०२ मंसिर २०८१
खबर/फिचर

विद्यालयमा बम : चौतर्फि निन्दा, घटनामा माओवादी लडाकु संलग्न

मंगलबार, ०४ असोज २०७३

काठमाडौं - मंगलबार एकाविहानै विद्यालयमा बम पड्काएर जनजीवन आतंकित पार्ने माओवादीका पूर्व लडाकु भएको प्रहरीले दावी गरेको छ । माओवादी शान्ति प्रकृयामा आएपछि चित्त नबुझाएर हतियार सहित भागेका युवाहरु उक्त बम काण्डमा सामेल भएको प्रहरीको दावी छ । घटनामा संलग्न भएको अभियोग सहित पक्राउ परेका मध्ये प्रहरीले रामेछापका शंकर लाखे र सिन्धुलीका चन्द्रबहादुर तामाङ्लाई सार्वजनिक गरेको छ ।

उपत्यकाका विभिन्न १० विद्यालयमा बम राखेर उनीहरुले चन्दा असुल्ने दाउ गरेको प्रहरीले जनाएको छ । घटनास्थलबाट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी केन्द्र र योङ कम्युनिष्ट फोर्स नेपालको पर्चा फेला परेको थियो । घटनामा संलग्न भएको अभियोगमा प्रहरीले ३ जना पक्रेको एडुखबरलाई जानकारी गराएको थियो ।

पक्राउ परेका यी दुई जना यस अघि पनि निजी विद्यालय सञ्चालक समेत रहेका सांसद उमेश श्रेष्ठको विद्यालय आईडियल मोडेलको बसमा आगजानी गर्दा पक्राउ परेर पनि छुटेका प्रहरी श्रोतले जनाएको छ ।

यसैविच घटनाको चौतर्फि निन्दा भएको छ । शिक्षा मन्त्रालय सहित शिक्षामा कृयाशिल विभिन्न संस्थाले घटनाको भत्र्सना सहित निन्दा गरेका छन् ।

मन्त्रालयका प्रवक्ता डा.हरी लम्सालले विज्ञप्ति जारी गर्दै आफ्ना माग पुरा गराउने वहानामा विद्यालयलाई आक्रमणको निशाना वनाउने, ढालको रुपमा प्रयोग गर्ने वा भौतिक क्षती पुर्याउने र जवरजस्ति चन्दा असुल्ने कार्य कसैका लाष् िपनि शोभनीय नभएको उल्लेख गरेका छन् । यस्ता कार्यत्रको सबै पक्षबाट विरोध गर्न मन्त्रालयले आह्वान समेत गरेको छ ।

केन्द्रीय बाल कल्याण समितिले पनि विज्ञप्ति जारी गर्दै घटनाको भत्सर्ना गरेको छ । बालबालिकाले शान्तिपूर्ण रुपमा पढ्न पाउने अधिकारको उलंघन हुने गरी विद्यालय परिसरमा बम विस्फोट कार्यलाई औचित्यपूर्ण मान्न नसकिने जनाउँदै समितिकी कार्यक्रम ब्यवस्थापक नमूना भूषालद्धारा जारी विज्ञप्तिमा घटनाको अनुसन्धान एवं कारवाही गर्न माग गरिएको छ  ।

यस्तै शिक्षक महासंघका अध्यक्ष केशव निरौला एवं महासचिव तिलक कुवँरले पनि विज्ञप्ति निकालेर घटनालाई आततायी भन्दै जुनसुकै उद्धेश्य राखि गराईएको भएपनि घटनामा संलग्नलाई कारवाही गर्न माग गरेका छन् ।

यस्तै बालबालिका शान्ति क्षेत्र तथा बालसंरक्षण राष्ट्रिय अभियान (सिजप) का अध्यक्ष कृष्ण सुवेदीले विज्ञप्ति निकालेर घटनाको घोर भत्र्सना गर्दै आफ्ना माग पुरा गराउन बालबालिकाको ज्यानलाई खतरामा पार्ने कुनै पनि क्रियाकलाप नगर्न राजनीतिक दलसँग आव्हान गरेका छन् ।

यस्तै शिक्षाका लागि राष्ट्रिय अभियान नेपालका अध्यक्ष कुमार भट्टराईले पनि विज्ञप्ति निकालेर दैनिकरुपमा बालबालिका आवतजावत् गर्ने विद्यालय जस्तो संवेदनशील क्षेत्र अगाडि गराईएको बम विस्फोटका कारण बालबालिकाको शारीरिक, मानसिक तथा बौद्धिक विकासमा पर्ने क्षति प्रति गम्भीर हुन सम्बन्धित राजीनितिक दल र सरकारलाई अनुरोध गर्दै घटनाको छानविन गरी दोषी माथि कडा कारवाही गर्न यस माग गरेका छन् ।

यसैविच विद्यालय क्षेत्रमा बम आतंक फैलाउनेलाई कडा कारवाही नगरे आन्दोलनमा उत्रिने निजी विद्यालय सञ्चालकहरुको संस्थाले चेतावनी दिएका छन् ।

विद्यालय क्षेत्रमा बम आतंक फैलाईएको भन्दै घट्नामा संलग्नहरुलाई तत्काल कडा भन्दा कडा कारवाही नगरिए संयुक्त रुपमा आन्दोलनमा उत्रिने हिसान, प्याब्सन र एन प्याब्सनल चेतावनी दिएका हुन् ।

बम आतंक गराउनमा पढ्नका लागि विदेश विद्यार्थी पठाउन चाहने तत्वको समेत हात रहेको आशंका रहेको उनीहरुको दावी छ ।

हिसानका अध्यक्ष रमेश सिलवाल, प्याब्सनका अध्यक्ष लक्ष्यबहादुर केसी, एन प्याब्सनका अध्यक्ष कर्णबहादुर शाहीले विज्ञप्ति निकालेर घटनाको भत्सर्ना गरेका हुन् ।

मंगलबार एका विहानै काठमाडौं र ललितपुरका विभिन्न १० विद्यालय अघिल्तिर शंकास्पद बस्तु देखिनासाथ सुरक्षाकर्मी परिचालित भएको थियो । २ वटा विद्यालय अघिल्तिरका बम पड्किए पनि अन्य बम सुरक्षाकर्मीले निस्कृय पारेको थियो ।

सबै भन्दा पहिले विहान पौने ४ बजे जोरपाटिको दक्षिणढोका स्थित आकाशदीप स्कुलमा र त्यसको १० मिनेट पछि जोरपाटिकै मनकामना स्कुलमा बम पड्केको थियो । जोरपाटिकै राई स्कुल, ईष्टपोल स्कुल, एम्बेस्डर स्कुल, बाल संसार, माउण्ट यूराल, डल्लुको कञ्चनजंघा, ललितपुर सानेपाको रेडियण्ट रिडर्स र महाराजगञ्ज चप्पल कारखाना स्थित कान्तिपुर एकेडेमी अघिल्तिर राखिएको बम भने सुरक्षाकर्मीले निस्कृय पारेको थियो ।

प्रतिक्रिया