शहर आतंकित हुने गरी मंगलबार एकाविहानै राजधानीका विद्यालय लक्षित बम ‘आक्रमण’ जुन नियतले गरिएको भए पनि अत्यन्त निन्दनीय अपराध हो । दुई विद्यालयमा भएको विष्फोटमा मानवीय क्षति नभए पनि त्यसले सिर्जना गरेको त्रासको पारो भने उच्च छ । यी दुई सहित १० विद्यालयमा बम फेला परेपछि शहरका निजी शिक्षालय, अभिभावक, विद्यार्थी र आम नागरिक त्रासमय छन् ।
घटनाले राजधानीमा विद्यार्थीको सुरक्षा चुनौति थप जटिल मात्रै भएको छैन उपत्यकाको सुरक्षा व्यवस्थाप्रति पनि शंका उब्जाएको छ । १० मध्ये ८ स्थानमा बम डिस्पोज गरेर सुरक्षाकर्मीले आम नागरिकालाई थोरै भए पनि त्रासमुक्त बनाउने कोशिस गरेको छ ।
घटनामा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी केन्द्र तथा योङ् कम्युनिष्ट फोर्स नेपालको पर्चा फेला परेकाले निजी विद्यालयमाथिको आक्रमण नियोजित हो भन्ने बुझन् गाह्रो छैन । यसले राज्यको सुरक्षाप्रति चुनौति र शंका थपिदिएको छ । आम नागरिकलाई सुरक्षाको प्रत्याभूति दिन सरकारले तत्काल अनुसन्धान थालेर अपराधीलाई कारबाहीको दायरामा ल्याउन ढिला गर्न हुन्न ।
सभ्य र शान्त समाज निर्माणका लागि राजनीतिक चरित्र बोकेका कुनै पनि संगठनबाट यस्तो अपेक्षा गर्न सकिन्न । त्यसमाथि विद्यार्थी फुर्को जोडिएका संगठनबाट बम आक्रमण भएको हो भने ती विद्यार्थीका नाममा कलंक हुन् । आम नागरिकको ज्यान लिने गरी बम राखेर त्रास फैलाउनु आतंककारी र आपराधिक क्रियाकलाप बाहेक केही हुनै सक्दैन । विद्यालय शान्ति क्षेत्र भएकालेमात्रै बम त्रासको आलोचना भएको होइन, यो मानवता विरुद्धको अपराध हो र यो क्षम्य हुँदै हुँदैन । त्यस्ता अपराधी कुनै हालतमा कानुनी कठघरामा पुग्नै पर्छ ।
विद्यालय बालबालिकाको दोस्रो घर हो, भोलि के र कस्तो बन्ने भन्ने उनीहरुको भविष्यको निक्र्यौल त्यही विद्यलायबाट हुन्छ । बम राख्नु अघि तिनले आफ्ना छोराछोरी पनि स्कुल जान्छन्, विद्यालयमा तिनले ज्ञान सिक्छन् र त्यो ज्ञानको उज्यालोमा उनीहरु संसार देख्न सक्षम हुन्छन् भन्ने सामान्य चेत पनि गुमाएका छन् । बमबारुदसित खेल्ने सोच विशुद्ध आतंक हो । आतंकले संसारमा कहिल्यै कसैको भलो गरेको छैन । विद्यलायमा राखिएको बमले विद्यालयमात्रै ध्यस्त पार्दैन सभ्यता, भविष्य र मान्छेको मानवीय मूल्य पनि छियाछिया पार्छ ।
यद्यपि विद्यालयमा बम राखिएका यस्ता घटनाको आलोचना गर्दा हामीले डेढ दशकको माओवादी हिंसात्मक आन्दोलनलाई भुल्नु हुँदैन । विद्यालयमाथि बम आक्रमण गर्ने 'कुलगुरु' को जस वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नै जान्छ । जसले कहिल्यै विद्यालय, बालबालिका र समग्रमा आमनागरिमाथिको बमप्रहारमा क्षमा मागेका छैनन् तर दुई पल्ट देशको प्रधानमन्त्री भइसकेका छन् । तत्कालीन माओवादीले सामुदायिक तथा निजी विद्यालयमा गरेको बम प्रहार, माओवादी आरोपमा राज्य सत्ता र सुरक्षाकर्मीबाट भएका दुर्दान्त घटनाहरु शायदै कसले बिर्सिएका छन् । स्कुले विद्यार्थीलाई बन्दुक बोकाउने र तिनै विद्यार्थीलाई लगाएर विद्यालय ध्वस्त पार्ने काममा माओवादीले जसरी ज्यादती गरेको थियो सुरक्षा निकायले पनि माओवादीलाई सघाएको आरोपमा उत्तिकै ज्यादती बालबालिका, विद्यालय र शिक्षा क्षेत्रमा गरेको थियो ।
यसपटक निजीमाथि लक्षित यो बम आक्रमण पनि विगतमा तत्कालीन माओवादीले गरेका गतिविधिकै सिको हो । यद्यपि बम आक्रमणको धम्की दिँदै आएको माओवादीबाट छुट्टिएको विप्लव माओवादी विद्यर्थाी संगठनले भने विष्फोटमा आफ्नो संलग्नता नरहेको जनाएको छ । राजधानीमा भएको आतंककारी घटनाको राज्यले गम्भीर भएर अनुसन्धान थाल्नु जरुरी छ ।
जेसुकै कारण भए पनि विद्यालयमा बम हानेर समाधान खोज्नु भनेको क्षणिक आवेगमा समाजलाई आतंकित पार्नु हो । यस्ता आतंककारी गतिविधि तत्काल बन्द गर्नु पर्छ ।
यसअघि पनि पटक पटक निजी विद्यालय माथि प्रहार भएका छन् । विद्यालयका विद्यार्थी बोकिरहेका सवारी तथा भवनमा आगजनी भएको छ । त्यस्तो क्रियाकलापमा आफूलाई विद्यार्थी संगठन पनि भन्ने दलका कार्यकर्ताहरुको संलग्नता कतैबाट छिपेको छैन । त्यस्तो आपराधिक गतिविधमा संलग्नहरुले राजनीतिक संरक्षणमा उन्मुक्ति पाउँदै आएका छन् । विद्यालयमात्रै होइन समाजमै खलल् पुरयाउने, आम नागरिकको ज्यान लिन उद्यत हुने यस्ता आपराधिक गतिविधिमा संलग्नलाई कुनै हालतमा राजनीतिक उन्मुक्ति दिनु हुँदैन । कडाभन्दा कडा कारबाहीको दायरामा ल्याउनु पर्छ ।
बम आक्रमण घटनामा संलग्न आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । राजधानीकै विद्यालयमा यो स्तरको त्रास भएकाले राज्यले सुरक्षाको अनभूति दिन सकेन भने सरकारप्रतिको अविश्वास र त्रासको मात्रा बढ्छ । त्यसले आतंककारीप्रतिमात्रै होइन राज्यप्रति पनि वितृष्णा बढ्छ । सरकारले यसको हेक्का राख्नु पर्छ । र भोलिका दिनमा यस्ता गतिविधि हुन नदिन चनाखो रहनु पर्छ ।
यो पनि पढ्नुहोस् : जनजीवन आतंकित हुनेगरी उपत्यकाका विद्यालय अघिल्तिर बम, सुरक्षाकर्मीद्धारा निस्कृय
प्रतिक्रिया