काठमाडौं - विदेशमा अध्ययन गर्न जान चाहने विद्यार्थीलाई लक्षित गर्दै शनिबार (असोज ८ गते ) देखि अष्ट्रेलियन एजुकेशन फेयर हुँदैछ । दुई दिने शैक्षिक मेला अष्ट्रेलियमा जाने विद्यार्थीलाई परामर्श दिदैं आएका शैक्षिक परामर्शदातृ संस्थाहरुको संगठन नेप्लिज एशोसिएसन अफ अष्ट्रेलियन एजुकेशन रिप्रेजेन्टेटिभ 'नायर'ले आयोजना गरेको हो । अष्ट्रेलियमा जाने विद्यार्थीलाई परामर्श दिने संस्थाहरु आवद्ध नायर सन् २००७ मा स्थापित संस्था हो ।
होटल अन्नपूर्णमा हुने शैक्षिक मेलाको तयारी अन्तिम चरणमा पुगेको मेला ब्यवस्थापक वान अपका प्रमुख कार्यकारी अधिकृत रविशंकर झाले जानकारी दिए । मेलामा निःशुल्क प्रबेशको ब्यवस्था गरिएको छ ।
उक्त मेला र विदेशमा अध्ययन गर्न जान चाहने विद्यार्थीका लागि आवश्यक परामर्शका सन्दर्भमा नायरका अध्यक्ष तथा प्रोफेशनल एजुकेशन कन्सल्टेन्सिका कार्यकारी निर्देशक एस के श्रेष्ठसंग एडुखबरले गरेको कुराकानी :
सोझो भाषामा भन्ने हो भने विदेशमा अध्ययन गर्न जान चाहने विद्यार्थीलाई सही जानकारी गराउनकै लागि हो । अहिले धेरै फेयर हुन थालेको छ, तर अष्ट्रेलियालाई नै लक्षित गरेर कुनै पनि एशोसियसनहरुले फेयर गरेका छैनन् । हाम्रो एशोसियसन र हाम्रा सदस्य संस्थाहरु अष्ट्रेलियासंगै सम्बन्धित भएकोले त्यस संग सम्बन्धित शिक्षाको विस्तार गर्ने एशोसियसनको धर्म पनि हो । सदस्यहरुको प्रमोसन गर्ने पनि हाम्रो काम हो त्यसैले दुवै कुरा एकै पटक होस् भनेर हामीले मेला गर्न लागेका हौं ।
पहिलो फाईदा भनेको अष्ट्रेलियाका लागि परामर्श दिने शैक्षिक प्रतिष्ठानहरु कुन कुन हुन् भन्ने कुरा विद्यार्थीले एकै ठाउँबाट थाह पाउँछ । ती संस्थाहरुले दिने सेवाको बारेमा तुलना गर्न सक्छ । यति मात्रै हैन ती संस्थाहरुले पठाउने विश्वविद्यालयसंग सम्बन्धित सूचना र जानकारी पनि उसले एकै ठाउँमा पाउन सक्छ । यसले गर्दा विद्यार्थीले धेरै सूचना संकलन गर्न सक्छ । विद्यार्थीले गर्ने नै जतिसक्दो धेरै सूचना संकलन हो । जब सूचना संकलन गर्छ त्यसको बारेमा विश्लेषण गर्ने र निर्णय गर्ने काम विद्यार्थी कै हो ।
कुनै पनि परामर्शदाता संस्थाले विद्यार्थीलाई फोर्स गर्न या अनावश्यक प्रलोभन देखाएर प्रभावमा पार्न हुँदैन । तर विद्यार्थीले सही निर्णय गर्न सक्षम होस् भन्ने तरिकाले हामीले सही सूचना चाँही दिनु पर्छ । मेलाको उद्धेश्य पनि यही हो कि विद्यार्थीले सही निर्णय गर्न चाहिने जानकारीका लागि हामीले आवश्यक सूचना दिन सकौं । यसका लागि यो मेला फलदायी हुन्छ भन्ने हामीले ठानेका छौं ।
हाम्रो पेशामा धेरै संस्थाहरु आईरहेका छन् । सबैले राम्रो गरेका छन् भनेर दावी गर्ने ठाउँ त छैन । तर बुझ्नु पर्ने कुरा के हो भने अलिकति कमजोर विद्यार्थी छ भने त्यस्तो बेलामा प्रभावित हुन सक्छ । कमजोर भन्नाको मतलव विद्यार्थीले निर्णय गर्न नसकेको अवस्था हो । जस्तो कुन देश जाने ? के विषय पढ्ने ? विषय र देश समेत अनिर्णित भएको अवस्थामा विद्यार्थी छ भने, एजेण्टले फोर्स गरेर उसको निर्णयमा तल माथि पार्न सक्छ ।
तर मैले अघिनै भने हाम्रो धर्म भनेको विद्यार्थीलाई अनावश्यक प्रभावमा पार्ने हैन उसलाई सजिलो बनाईदिने हो । उसंग बसेर उसको रुचि के हो ? किन विदेशमा पढ्न जान खोजेको हो ? कतिपयको के हुन्छ भने वावु आमाको दवाव, साथिभाईको देखासिकी हुन्छ तर आफ्नो रुचि हुँदैन । त्यसैले हरेक विद्यार्थीलाई सजिलो होस् उसको भविष्य राम्रो होस् भन्ने तरिकाले हामीले परामर्श दिनु पर्छ ।
यस्ता मेलामा सहभागिहरुले के गर्न पाउने के गर्न नपाउने भन्ने बारेमा शिक्षा मन्त्रालयले जारी गरेको निर्देशिकाका अलावा हाम्रो पनि छुट्टै आचार संहिता छ । त्यहाँ भाग लिने कन्सल्टेन्सिहरुले यो छुट त्यो छुट, यो आउ त्यो आउ भन्न पाईदैन । तर सहभागि सबैका तर्फबाट विद्यार्थीलाई थप सुविधा केही दिन सकिन्छ की भन्ने बारेमा हामी छिटै निर्णय गर्दै छौं ।
त्यो भन्दा पनि महत्वपूर्ण पक्ष मेलामा आउने हरेक विद्यार्थीले एकै पटकमा अष्ट्रेलियाका धेरै भन्दा धेरै विश्वविद्यालयका सेवा सुविधा र कार्यक्रमबारे जानकारी पाउन सक्छ । त्यति भईसक ेपछि विद्यार्थी आफैंले निर्णय गर्न सक्छ । उसको लागि अष्ट्रेलिया ठिक नहुन पनि सक्छ । मेलामा आउँदैमा अष्ट्रेलिया नै जानु पर्छ भन्ने पनि हैन । तर यो ठिक हो हैन भन्ने कुरा विद्यार्थीले नै निर्णय गर्न सक्ने बनाउने काम हामी गर्छौ ।
हेर्नुहोस् कुनै पनि विद्यार्थी राजीखुसीले बाहिर गएको छैन । एउटा बाध्यता हो विदेश जानु । हाम्रो देशको शिक्षा नीति, रोजगारीको अवस्था, राजनीतिक अस्थिरता यी सबै कुरा हेर्नुस् त ! यसमा ध्यान दिएको कसले छ र ! दिनहुँ संयौ युवा रोजगारीका लागि खाडि गईरहेका छन् ।
हामीकहाँ काम गर्ने मान्छे छैन, भारतबाट आएकाले काम गरिरहेका छन् । यस बारेमा सोचिदिएको भए यो स्थिती हुने थिएन । पढ्न जाने मात्रै हैन काम गर्न जाने युवा गएको छ उसले रेमिट्यान्स पठाएको छ, त्यसको सदुपयोग भएको छ छैन भन्ने कुरा फेरी अर्को छ ...
विदेश गएर पढेर आर्थिक उन्नती गरेका विद्यार्थी धेरै छन् । घरमा आर्थिक सहयोग गरेका छन् । पढि सकेर आफू स्थापित भएपछि पैसा पठाएर घरमा सघाईरहेका छन् । त्यो भन्दा पनि मैले हेरेको कुरा त के भने, विदेश गएर पढेका विद्यार्थी भनेका शिक्षित सम्पत्ति हो हाम्रो । त्यो सम्पत्तिलाई भित्र्याउने वातावरण सरकारले मिलाईदिनु पर्यो । त्यो वातावरण बन्यो भने सबै त नभनौं तर विदेशमा गएर पेशागत दक्षता हासिल गरेका राम्रै संख्याका नेपाली विद्यार्थी स्वदेश फर्कन्छन् । अष्ट्रेलियाबाट मात्रै हैन अन्य देशबाट पनि फर्कन तयार छन् ।
अहिले पनि कतिपय विद्यार्थी राष्ट्रिय भावनाले गर्दा देश फर्केर केही गर्न खोज्छन्, एक दुई बर्ष बसेर फेरी निराश भएर फर्कन्छन् । त्यस्तो नहोस् । यहाँ आएर केही गर्छु भन्ने मान्छेलाई कमसेकम वातावरण दिनु पर्यो सरकारले । त्यो गर्न सकियो भने त्यसैले मान्छे तान्छ ।
विद्यार्थी विदेश गए भनेर चिन्ता मात्रै गर्नु आवश्यक छैन । हामीले के सोच्नु पर्यो भने नेपाली विद्यार्थी आफूलाई विश्व प्रतिस्पर्धामा उतार्न तैयार हुन गईरहेको छ । भविष्यको लागि तयार हुन गएको त्यो जनशक्ति देशमा ल्याउने की नल्याउने ? प्रश्न त्यो हो ।
बाहिरबाट खाली महंगो गाडि, लुगा र फैसन मात्रै ल्याउने हो की हाम्रो आफ्नो दक्ष जनशक्ति पनि ल्याउने हो ? त्यसलाई विचार गर्नु पर्यो ।
प्रतिक्रिया