Edukhabar
आइतबार, ०२ मंसिर २०८१
अन्तैवाट

गुरुकूललाई स्वीकृति दिन विलम्ब

सोमबार, ०३ असोज २०७३

काठमाडौं ३ असोज / जिल्लाको एक मात्र गुरुकुल सञ्चालन भएको एक वर्ष भए पनि अझै दर्ता हुन सकेको छैन । संस्कृत भाषा, अध्यात्म ज्ञान, नैतिक शिक्षा, सभ्य संस्कृति, सदाचारी, स्वावलम्बी र आदर्श नागरिक तयार गर्ने उद्देश्यले लोहजारा ९ भेडियामठमा स्थापित गुरुकुलले स्वीकृति पाएको छैन ।

गुरुकुल स्थानीयको पहल र सर्वोदय नेपालका अध्यक्ष काशीनाथ जोशीको सहयोगमा सञ्चालनमा आएको हो । दुई बालिकासहित १५ जना वटुक (विद्यार्थी) अध्ययनरत छन् । सबै जातजाति, भाषाभाषी र वर्ग समुदायका विद्यार्थीलाई गुरुकुलमा भर्ना लिइएको प्रधानाध्यापक दीपेन्द्रनारायण ठाकुरले बताए ।

‘पटकपटक शिक्षा मन्त्रालय, विभागलगायत निकाय धाउँदा पनि दर्ता ढिलाइ भइरहेको छ,’ उनले भने । धार्मिकस्थल बाबा वनखण्डीको तपोभूमिस्थलमा गुरुकुल छ । आवासीय रूपमा सञ्चालित गुरुकुलमा हाल प्राथमिक तहको अध्यापन गराइँदै छ ।
संस्कृत, अध्यात्मका साथै सरकारी शिक्षा नीतिअनुसारका विषय पनि पाठ्यक्रममा समावेश गरिएको छ । सुरुवाती चरणमा सर्वोदय नेपालका अध्यक्ष काशीनाथ जोशी र उनले विदेशवाट मगाएको सहयोगका आधारमा वटुकहरूको वासस्थान, अध्ययन कक्ष, भान्छा, शौचालय र प्रतीक्षालय निर्माण गरिएको छ ।

दाताको सहयोगबाट सञ्चालनमा ल्याइएको गुरुकुललाई सहज रूपमा दर्ता गरी अगाडि बढाउन सरकारी निकायको ध्यान जानुपर्ने गुरुकुल व्यवस्थापन समिति अध्यक्ष अधिकलाल मण्डलले बताए ।
‘शिक्षा मन्त्रालय र विभागले स्वीकृति दिन निर्देशन दिइसकेको अवस्थामा पनि शिक्षा कार्यालय आनाकानी गरिरहेको छ,’ आर्थिक सहयोग गरिरहेको सर्वोदय नेपालका अध्यक्ष जोशीले भने, ‘लोप हुँदै गएको संस्कृत भाषाको जगेर्नाका लागि खोलिएको गुरुकुल व्यवस्थित गर्न सरकारी पक्षबाट असहयोग भइरहेको छ ।’

सरकारी स्वीकृति र अनुदान नहँुदा १५ विद्यार्थीको भोजन, आवास, अध्ययन सबै दाताकै सहयोगमा चलिरहेको छ । यसका अतिरिक्त प्रधानाध्यापक ठाकुरसहित ३ शिक्षक र दुई सहयोगीको तलब पनि दाताकै भरमा छ । ‘यसरी कति दिन थेग्नु’ जोशीले भने, ‘कि सरकारले संस्कृत भाषाको गुरुकुल सञ्चालन हुनु हुँदैन भन्नुपर्‍यो नभए भौतिक रूपमा सञ्चालनका लागि ठीक रहेकोलाई स्वीकृति दिनुपर्‍यो ।’

यसका लागि मासिक एक लाख खर्च भइरहेको र उक्त रकम जोसीको पहलमा सर्वोदय नेपाल र अन्य दाताहरूबाट संकलन हुने गरेको प्रअ ठाकुरले जनाए । सप्तरी जिशिअ शंकर लुइँटेलले गुरुकुल स्वीकृतिको प्रक्रियामै रहेको बताए ।

अवधेशकुमार झाले कान्तिपुरमा लेखेको खबर ।

प्रतिक्रिया