काठमाडौं ३ असोज / नातिनी रसनाले डाक्टर पढ्न मिर्गौला (किड्नी) बेच्ने भनेपछि ६५ वर्षीय हजुरबुबा पशुपतिनाथ न्यौपाने छाँगाबाट खसेजस्तै भए ।
नातिनीका कुराले परिवारमा छटपटी बढाएको छ । रसनाका बाबु रमेशले कान सुन्दैनन् । बोली प्रस्ट छैन । सानैदेखि पढ्नमा तेज रसनाले डाक्टर पढ्ने निधो गरिन् । पढ्नलाई पैसा छैन । ‘गरिबको छोराछोरीले पढनै नपाउने ?’ पशुपतिनाथले भने, ‘नातिनीले डाक्टर पढ्न किड्नी बेच्ने निर्णय गरेकी छन् । मैले किड्नी नबेच, म पुस्तक बेचौंला भनेको छु ।’ राइनास नगरपालिका ११ बोराङकी रसनाले गाउँमै प्राथामिक शिक्षा हासिल गरिन् । गाउँको स्कुलमा ‘लाटाको छोरी’ भनेर हेपिएपछि उनले पढाइ छाडिन् । ‘भनसुन गरी दु:खजिलो गरी बजारमा पढाएँ । भक्तपुरस्थित नेपाल प्रहरी स्कुल साँगाबाट विज्ञान विषयमा राम्रै अंक ल्याएर पास गरिन् । अहिले फुपूकोमा बसेर एमबीबीएसको प्रवेश परीक्षा दिएकी छे,’ पशुपतिले भने, ‘नातिनीलाई डाक्टर पढाउने मेरो सपना छ । नाम निस्के सरकारी कोटामै होला । ननिस्किए किड्नी बेच्छु भनेकी छे । पछि आफैंले कमाएर किड्नी प्रत्यारोपण गर्ने रे ।’
पशुपतिनाथ अहिले लमजुङका सहरबजारमा पुस्तक बेच्दै हिँडेका छन् । ‘मागौं कोसँग माग्ने, घरपरिवारमा पेट पाल्नै मुस्किल छ,’ उनले भने, ‘पैसा अलिअलि बनाउन सकियो भने नातिनीलाई हुन्छ भनेर पुस्तक बेचेर हिँडेको छु ।’ नातिनीलाई पैसा जुटाउन उनले ४ वटा पुस्तक आफैं प्रकाशन गरेका छन् । साहित्यमा रुचि राख्ने भएकाले उनले यसअघि बोराङदेखि बाहुनडाँडासम्मका कविता संग्रह ०६८ सालमा प्रकाशित गरेका थिए । ०७२ मा रसनाको विषयमा यथार्थ बालकाव्य ‘कति बाठी रसना’ प्रकाशित गरे । हालसालै प्रकाशित हाम्रा चाडपर्वहरू (बाल सन्दर्भ सामग्री) असार २९ गते भानुजयन्तीको दिन विमोचन गरिएको छ । गाउँखाने कविता (प्रश्नोत्तर माला) हालै विमोचन गरिएको छ । प्यारजुङस्थित बुद्धमिलन माविका संस्थापक प्रधानाध्यापक रहेका उनले ०२८ देखि ०५० सालसम्म स्कुलमा बिताए ।
०५० देखि ०६१ सम्म शिक्षा कार्यालयको स्रोतव्यक्ति भएर काम गरे । अहिले बेसीसहरमा सामुदायिक उत्थान संस्था नेपाल (सोकोड नेपाल) नामक गैरसरकारी कार्यालय चलाउँछन् । ज्येष्ठ नागरिक संघका जिल्ला अध्यक्ष हुन् । ०५६ सालमा कार्यक्षेत्र बाहुनडाँडा र घेर्मु हुँदा ङादीबजारमा माइक्रोसफ्ट कम्पनीका संस्थापक जोन उडलाई भेटेपछि उनले ४ घण्टा नेपालको शिक्षाबारे बताए । बाहुनडाँडास्थित चन्द्रोदय माविमा लगेर विद्यालय देखाए । उडले ङादी बजारमा बियर बोत्तललाई खोलाको चिसो पानीमा डुबाएर आफ्ना पाहुनालाई खुसी पार्दै गरेको बालकको कथाबाट सुरु भएको ‘लिभिङ माइक्रोसफ्ट टु चेन्ज द वल्र्ड’ नामक पुस्तक लेखे । यही पुस्तकलाई खगेन्द्र संग्रौलाले ‘माइक्रोसफ्टदेखि बाहुनडाँडासम्म’ भनेर नेपालीमा अनुवाद गरे । विमोचन पशुपतिनाथले नै गरे । तिनै जोन उडले ‘बुक्स फर नेपाल’ पुस्तक पनि लेखे । २ वर्षपछि उनले नेपाललाई लक्षित गरी ‘रुम टु रिड’ नामक अन्तर्राष्ट्रिय गैरसरकारी संस्था खोले । उक्त संस्थामार्फत जिल्लाका मात्रै नभएर देशका कुनाकुनाका विद्यालयमा पुस्तकालय स्थापना गरे ।
‘जोन उडसँग मेरो भेट नभएको भए सायद यतिको सहयोग जुट्ने थिएन,’ उनले भने, ‘शिक्षा भनेको बालबालिकाको चाहनाअनुसार दिलाउनुपर्छ । त्यसैले आफ्नै नातिनीको चाहना पूरा गर्न पुस्तक बेचेर हिँडेको छु,’ उनले भने ।
आश गुरुङले कान्तिपुरमा लेखेको खबर ।
प्रतिक्रिया