काठमाडौं ३ असोज / प्रज्ञा–प्रतिष्ठान (एकेडेमी)ले ‘प्राज्ञिक बहसका निष्कर्ष र प्राज्ञिक शैक्षिक संस्थाहरूको राय–सुझावका आधारमा लागू गरिएको वर्ण विन्यास’लाई आफूले पनि अँगालेको जनाएको छ । नेपाली वर्ण विन्यासका सम्बन्धमा भइरहेको विवादबारे ध्यानाकर्षण भएको जनाउँदै प्रतिष्ठान यसबारे बोलेको हो ।
“त्रिभुवन विश्वविद्यालय अनिवार्य नेपाली विषय समितिको सहमतिमा पाठ्यक्रम विकास केन्द्रबाट प्रस्तुत भएको सहमति र प्रतिष्ठानबाट दिइएको सुझावसमेतका आधारमा शिक्षा मन्त्रालयअन्तर्गतको पाठ्यक्रम विकास केन्द्रले मन्त्रीस्तरीय निर्णयअनुसार लागू गरेको वर्ण विन्यास हाल प्रचलनमा छ,” प्रतिष्ठानका सदस्य–सचिव प्रा. डा. जीवेन्द्रदेव गिरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्तिमा “प्रतिष्ठानबाट विसं २०७२ मा प्रकाशित ‘नेपाली बृहत् शब्दकोश’को संशोधित नवौं संस्करणको वर्ण विन्यास पनि यिनैमा आधारित छ । त्यसमा नेपाली स्वर व्यञ्जनहरू घटाइयो, सबै संयुक्त व्यञ्जनका हलन्त वर्णहरू खुट्टा काटेर लेखियो भन्ने खालका अनर्गल प्रचारहरूमा कुनै सत्यता छैन,” पनि भनिएको छ ।
मूल प्रविष्टि पूर्ववत् राख्दै ‘विद्या’को लेखन उच्चारणमा ‘विध्या’ नहोओस् भनेर वैकल्पिक रूपमा ‘विद्या’, ‘विद्वान्’ को लेखन उच्चारणमा ‘विद्धान्’ नहोओस् भनेर वैकल्पिक रूपमा ‘विद्वान्’, ‘शत्ति’ नहोओस् भनेर ‘शक्ति’जस्ता केही प्रयोग स्पष्टताका लागि बाहेक कुनै अन्यथा नगरिएको विज्ञप्तिमा उल्लेख छ ।
यस विषयमा अध्ययन गरी प्रतिवेदन प्रस्तुत गर्न प्राज्ञ परिषद्ले प्रा.डा. चूडामणि बन्धुको संयोजकत्वमा प्रा.डा. नोबल किशोर राई र हेमनाथ पौडेल सदस्य रहेको समिति बनाई काम अघि बढाएको जनाइएको छ । “समितिको प्रतिवेदन प्राप्त भएपछि ‘नेपाली बृहत् शब्दकोश’मा प्रतिष्ठान आवश्यक सुधार गर्न प्रतिबद्ध छ,” विज्ञप्तिमा भनिएको छ ।
कारोबारमा प्रकाशित खबर ।
प्रतिक्रिया