काठमाडौं ३ असोज / विदेशी दाताको सहयोगमा राजधानीको बौद्ध, नयाँबस्तीमा सञ्चालित बुद्ध एकेडेमीको छात्रावासमा ३४ बालबालिका छन्। डोल्पा, दाङ, सोलुखुम्बु, ओखलढुंगा र ताप्लेजुङ जिल्लाबाट करिब २ महिनाअघि यहाँ ल्याइएका यी बालबालिका विद्यालयकै प्रांगणमा रहेको छात्रावासमा बस्छन्।
त्यहीँ पढाउन भनेर ल्याइएका यी बालबालिकाले पढ्न भने पाएका छैनन् न त यिनीहरुको भर्ना नै गरिएको छ।
काठमाडौंमा राखेर पढाइदिने भन्दै परिवारसँग छुटाएर ७ देखि १५ वर्ष उमेरका ५५ जनाजति बालबालिका ल्याइएकामा पढ्न नपाएपछि केही आफ्नै घर फर्किए। ३४ जना भने छात्रावासमै छन्।
गाउँमा रहेका आमाबुबा ढुक्क छन्, छोराछोरी राजधानीमा राम्ररी पढिरहेका छन्। उनीहरुको दैनिकी भने खेलेरै बित्छ।
'७ कक्षामा पढ्दै थिएँ, काठमाडौंमा पढाइदिने भनेपछि हजुरबुबा र ममीले पठाउनुभयो, यहाँ त पढाइ नै नहुँदोरछ,' डोल्पाबाट ल्याइएका विवेक कठायतले नागरिकसँग भने, 'गाउँमा साथीहरुले कति पढिसके होलान्, मैले त पढ्नै पाइनँ।' विवेकलाई डोल्पाका नेता, पूर्वमन्त्री तथा बुद्ध एकेडेमीका पूर्वअध्यक्ष नरबहादुर बुढाथोकीले काठमाडौंमा पढाइदिने भनेर यहाँ ल्याएका हुन्।
उनका अनुसार बुढाथोकीले अभिभावकबाट ५० हजार रुपैयाँसमेत लिएका छन्। विवेकजस्तै पढाइदिने भनेर नरबहादुरले डोल्पा, दाङबाट करिब दुई दर्जन बालबालिका ल्याएर विद्यालयको छात्रावासमा छाडेका छन्। नरबहादुर भने केही दिनयता सम्पर्कविहीन छन्।
शुक्रबार विद्यालय प्रांगणमा भेटिएका बालबालिकालाई नागरिकले सोध्दा अधिंकाशले नरबहादुरले पैसा लिएर पढ्न ल्याएको बताए। कति लिएको भनेर सोध्दा बालबालिका स्वयंले लेखेर नागरिकलाई कागजै बुझाए।
'नरबहादुरले पढाइदिन्छु भनेर ५० हजार, ९० हजार र एक लाख रुपैयाँ लियो तर पढ्न पाएनौं,' तीन जनाले फरक–फरक अक्षरमा लेखेको कागज नागरिकसँग छ।
नागरिकले डोल्पामा रहेकी विवेक कठायतकी आमालाई फोन गरेर सोध्दा हवाइजहाज, खाना खर्च भनेर नरबहादुरलाई पैसा दिएको स्विकारिन्। कति भन्ने उनले खुलाइनन्। छोरोलाई काठमाडौंमा पढाइदिने भनेर कसले ल्यायो भन्नेमा अनभिज्ञ रहेको बताउँदै उनले भनिन्, 'छोरो काठमाडौंमा पढिरहेको छ। गएदेखि कुराकानी भएको छैन। ससुरा'बा नेपालगन्जमा छन्, उसैलाई थाहा होला।'
डोल्पा, दाङका बालबालिका नरबहादुरले ल्याएका हुन् भने सोलुखुम्बु र ओखलढुंगाका बालबालिकालाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सोनामवाङ्छेन लामा शेर्पाले ल्याएका हुन्। केही विद्यार्थी अन्य व्यक्तिको माध्यमबाट पनि ल्याइएको एकेडेमीका एक कर्मचारी बताउँछन्।
'७ कक्षामा पढ्दै थिए, सोनाम वाङ्छेनले छात्रावासमा राखेर बुद्ध एकेडेमीमा १० सम्म निःशुल्क पढाइदिने भएपछि यहाँ आएको हुँ,' सोलुखुम्बुकी आङकिमु शेर्पाले भनिन्।
कक्षा १० सम्म अध्ययन हुने एकेडेमी अखिल नेपाल हिमाली बौद्ध संघद्वारा सञ्चालित छ। गरिब, पिछाडिएका वर्ग, अनाथ, अंपाग विद्यार्थी पढाउने भन्दै एकेडेमीले विदेशी दातासँग सहयोग लिँदै आएको छ। दाताले सहयोग गर्ने हुँदा एकेडेमीमा पढ्ने विद्यार्थीले कुनै शुल्क बुझाउनुपर्दैन।
विद्यालय आर्थिक रुपमा बलियो बन्दै गएपछि पदीय भागबन्डा र आर्थिक अनियमितताका कारण एकेडेमी भने समस्याग्रस्त छ। बौद्ध संघ र व्यवस्थापन समितिमा रहेका सदस्यले एकअर्कामाथि आरोप लगाउँदै मुद्दा दर्ता गरेका छन्। एक कार्यकाल बिताएर पुनः अध्यक्ष हुन आएका नरबहादुरले विद्यालयका निर्देशक र केही कर्मचारी निकालेपछि जिल्ला शिक्षा कार्यालयमा पर्न गएको उजुरीका आधारमा छानविन गर्दा नरबहादुरको एलएलसी उत्तीर्ण नभएको पाएको थियो।
स्रोतका अनुसार नरबहादुर हटेपछि आङनिमा शेर्पालाई अध्यक्ष बनाइयो। आङनिमाविरुद्ध बौद्ध संघबाट मुद्दा परेपछि स्टेअर्डर जारी भएको थियो। त्यसपछि सोनामवाङ्छेन अध्यक्ष भएका थिए। अहिले अदालतमा विद्यालयबारे मुद्दैमुद्दा रहेको स्रोतले बतायो।
स्रोतका अनुसार विद्यालयलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि छानबिन दायरामा राखेको छ। केही समयअघि आन्तरिक विवादकै कारण करिब दुई साता बन्द विद्यालय अहिले भने खुलेको छ।
एकेडेमीका अध्यक्ष सोनामवाङ्छेन शेर्पा लामालाई केही समयअघि विद्यालयको विषयमा परेको मुद्दा मिलाइदिनु भनेर घुस दिने क्रममा १० लाख रुपैयाँसहित पक्राउ परेका थिए। त्यसपछि पुरानो व्यवस्थापन समितिका ज्येष्ठ सदस्य मातहतबाट अहिले विद्यालय सञ्चालित छ।
विद्यालय सञ्चालनमा भए पनि बीचमा ल्याइएका पहिल्यै भर्ना भएका विद्यार्थीलाई मात्र पढाइएको छ। बीचमा ल्याइएका तीन दर्जन विद्यार्थीको भर्ना नै भएको छैन।
'विद्यालय यस्तो अवस्थामा छ तर विद्यार्थी ल्याएर छात्रावासमा राखिएको छ,' एकेडेमीका प्रिन्सिपल विमल गौतमले भने, 'प्रक्रिया र विद्यालयको क्षमताअनुसार विद्यार्थी भर्ना गर्नैपर्ने हुन्छ। अहिले साउनमा मनलागी रुपमा ल्याइएका विद्यार्थी प्रक्रियागत पनि छैनन् भने थप पढाउन सक्ने विद्यालयको क्षमता पनि छैन।'
उनका अनुसार विद्यालयमा भर्ना भएका विद्यार्थीलाई निशुल्क पढाउनुपर्ने हुन्छ। विवादकै कारण दाताले सहयोग घटाउँदै गएका छन्। विद्यालयको आम्दानी भनेकै दाता हुन्। अहिले विद्यालयका नाममा दाताबाट आएको करिब ६ करोड रुपैयाँ रहेको प्रिन्सिपल गौतमले जानकारी दिए।
अख्तियारले पक्राउ गरेपछि धरौटीमा छुटेका सोनामवाङ्छेनलाई भर्ना नभएका विद्यार्थीबारे सोध्दा उनले आफू अहिले विद्यालय नगएको र कुनै जानकारी नभएको बताए। उनले अहिले आफू व्यस्त रहेको भन्दै फोन काटे। यता नरबहादुर भने वाङ्छेन समातिएदेखि नै फरार छन्।
जिल्ला शिक्षा अधिकारी शंकर गौतम भने बुद्ध एकेडेमीमा ठूलै मान्छेको समूह रहेको हुँदा जिल्ला शिक्षा कार्यालयले केही गर्न नसक्ने बताए। 'बुद्ध एकेडेमीको नाम सुन्नेबित्तिकै मलाई ज्वरो आउँछ,' जिशिअ गौतमले भने, 'बुद्ध एकेडेमीमा ठूलै समूह छ, उसको छेउमा जिशिअ भुसुना हो। तसर्थ हामी केही गर्न सक्दैनौं।' उनले अख्तियार र अदालतले हेरिरहेको हुँदा कार्यालयले केही हेर्न नमिल्ने बताए।
'बुद्ध एकेडेमीमा ठूलै आर्थिक चलखेल र भागबन्डा छ,' गौतमले थपे, 'कर्मचारी, सञ्चालकदेखि गुठियारसमेत कोही चोखो छैनन्।'
खिलक बुढाथोकीले नागरिकमा लेखेको खबर ।
प्रतिक्रिया