Edukhabar
आइतबार, ०२ मंसिर २०८१
खबर/फिचर

अझै बुझाएनन् शिक्षकले विवरण

आइतबार, ०२ असोज २०७३

काठमाडौं - सम्पत्ति विवरण बुझाउने म्याद भित्र यस बर्ष पनि सबै शिक्षकले विवरण बुझाएनन् । आर्थिक बर्ष शुरु भएको मितिले ६० दिन भित्र शिक्षक किताबखानामा अनिवार्य रुपमा सम्पत्ति बिवरण बुझाउनु पर्ने ब्यवस्था छ ।

जस अनुसार भदौ २८ गते भित्र सम्पत्ति विवरण बुझाई सक्नु पर्ने थियो । तर, सबै शिक्षकले विवरण नबुझाएको कितावखानाका महानिर्देशक शेरबहादुर ढुङ्गानाले बताए ।

'जिल्लाहरुबाट प्राप्त विवरण उतार्ने काम जारी भएकोले ठ्याक्कै यति शिक्षकले बुझाएनन् भन्ने तथ्याङ्क अहिल्यै दिन त गाह्रो छ, तर सबैले नबुझाएको भने पक्का हो' उनले भने, 'तोकिएको समय भित्र नबुझाउने शिक्षकले बुझाउन नसकेको उपयुक्त कारण सहित असोज २९ गते भित्र बुझाउन भने सक्छन् ।'

सम्पत्ति विवरण बुझाउन आलटाल गर्ने शिक्षकको संख्या बर्षेनी बढ्दो छ । आर्थिक बर्ष २०६८–६९ मा ८ हजार १ सय शिक्षकले बिबरण बुझाएका थिएनन् भने गत आर्थिक बर्षमा यो संख्या बढेर ९ हजार ४ सय ८७ पुगेको थियो ।

अहिले सम्मको अवस्था हेर्दा यो बर्ष पनि विवरण नबुझाउने शिक्षकको संख्या बढ्ने खेखिन्छ ।

भ्रष्टाचार निबारण ऐन २०५९ को दफा ५० मा विवरण नबुझाउने शिक्षकले प्रतिबर्ष ५ हजार रुपैंया जरिवाना तिर्नु पर्ने ब्यवस्था छ ।

शिक्षकले आफैं आएर वा आफन्त मार्फत् समेत उक्त विवरण बुझाउन सक्ने भए पनि शिक्षकले आलटाल गर्ने गर्दा यो समस्या आएको ढुङ्गानाले बताए ।

मन्त्रालयले आफ्नै संरचना अनुसार विद्यालय, विद्यालय निरिक्षक, जिल्ला शिक्षा कार्यालय, क्षेत्रीय शिक्षा निर्देशनालय हुँदै केन्द्रमा पठाउने गर्दै आएको छ ।

सामुदायिक विद्यालयमा पढाउने शिक्षकको दरबन्दी एक लाख सात हजार आठ सय ६० भए पनि कितावखानामा ७० हजार शिक्षकको मात्रै अभिलेख छ । कतिपय शिक्षक अवकास भएका र कतिपय शिक्षकको निधन भएका कारण यो संख्यामा तलमाथी भैरहने किताबखानाले जनाएको छ ।

सार्वजनिक पदमा बहाल हुने हरेक ब्यक्तिले आफ्नो आर्थिक पारदर्शिता तथा पेशागत शुसासनका लागि आफूसंग भएको सम्पत्तिको विवरण बुझाउने ब्यवस्था गरिएको हो । कितावखानाले तोकेको ढाँचामा खामको बाहिर पट्टी नाम, थर, पद र संकेत नम्बर लेखेर खामबन्दी गरेर विवरण बुझाउनु पर्ने हुन्छ ।

प्रतिक्रिया