Edukhabar
आइतबार, ०२ मंसिर २०८१
विचार / विमर्श

मनस्थिति : चौमासिक तलब र शिक्षकको भुक्तमान समेटिएको लघुकथा

शनिबार, ०१ असोज २०७३

- महेन्द्रगोपाल कर्माचार्य , पेशाले शिक्षक हुन् । हाल भक्तपुरको राम मन्दिर स्थित शान्ति निकेतन माविमा प्रधानाध्यापक रहेका उनको अर्को परिचय पनि छ - साहित्यकार । विराट नेपालभाषा साहित्य सम्मेलन गुठीको पदाधिकारी समेत रहेका उनी शिक्षासँग सम्बन्धित विविध विषयलाई कविता, मुक्तक, कथा र लघुकथा मार्फत् अभिव्यक्त गरिरहेका छन् ।

२०७१ फागुन ७ गते सृजना गरेका कर्माचार्यको यो लघुकथा यस साताको शिक्षा साहित्य श्रृखलामा  :

‘......आन्सर मिलेन सर ।’ कक्षाका फ्रष्टब्वाई रोशन कराए ।

हिराकाजी माड्साबले सेतोपाटीमा आँखा दौडाए ।

३७०० हुनुपर्नेमा ७५०० भएछ ।

माड्साबले मिलाउनका लागि डष्टरले नमिलेको उत्तरलाई मेटे र मिलाएर लेखे ।

‘...... हा हा हा । अझै ७५०० भयो, ३७०० लेख्नुस् न ।’ कक्षाका थुप्रै विद्यार्थी एकै स्वरले कराए ।

हिराकाजी माड्साबको निधारमा चिट्चिट् पसिना आयो । उनी थचक्क मेचमा बसे ।

‘...... के भएको हो ?’ आफैसँग प्रश्न गरे ।

विद्यालय आउन कोठाबाट निस्कँदा ‘.....तिम्रो चौमासिक तलब निकासा हुने र नहुनुसँग मेरो के सरोकार ? भरे साँझसम्म तीन महिनाको कोठाभाडा ७५ सय तिर्नु, तिर्न नसके कोठा खाली गर्नु’ भन्ने घरबेटी बा ! को आवाजमात्र माड्सावको कानमा गुञ्जिरह्यो ।

कक्षामा विद्यार्थीहरु कुन्नी के के हल्ला गरिरहेका थिए ।

प्रतिक्रिया