काठमाडौं १ असोज / आस्था महिला विद्यालयकी ६३ वर्षीया मिट्ठु खनाल १० कक्षामा पढिरहेकी छन्। स्वास्थ्य शारीरिक शिक्षामा हाइजम्प, लङजम्प, भलिबल, बास्केट बललगायत खेल खेलाएर पढाउनुपर्ने पाठ छ।
तर खनाललाई खेल्न त परै जाओस् उफ्रिन पनि हम्मेहम्मे पर्छ। नैतिक शिक्षामा अनुशासन रहनुपर्ने, आफूभन्दा ठूलोलाई सम्मान गर्ने, सानोलाई माया गर्नेजस्ता विषयवस्तु पढ्नुपर्छ। ‘यस्ता कुरा त छोराछोरी र नातानातिनालाई सिकाइरहेकी हुन्छु,’ उनले भनिन्, ‘किताबले पनि मलाई त्यही सिकाइरहेको छ।’ विद्यालय तहका सबै विषयमा नानीबाबु, भाइबहिनी भनेर सम्बोधन गरिएको छ। पाठको अन्तिममा अभ्यास गराउँदा ‘तिमी’ सम्बोधन गरेर ‘लेख, भन, गर’ भनिएको हुन्छ।
यस्ता वाक्य विद्यालय तह पढ्ने १६ वर्षभन्दा कम उमेर समूहलाई लक्षित गरेर तयार पारिएका पाठ्यपुस्तकका हुन्। अधुरो शिक्षा पूरा गर्न पढाइ सुरु गरेका वयस्क महिलाले पनि बालबालिकालाई लक्षित गरेर तयार भएकै पाठ्यपुस्तक पढ्नुपर्ने बाध्यता छ। ‘सरकारले पढाइ अधुरो भएकालाई विद्यालय शिक्षामा फर्कन उत्साहित गरेको छ।
विभिन्न कार्यक्रम योजना पनि बनाएको छ,’ आस्था विद्यालयकी प्रधानाध्यापक पार्वती ज्ञवालीले भनिन्, ‘तर, पाठ्यपुस्तक भने बालबालिकालाई मात्रै केन्द्रित गरेर बनाइएको छ। वयस्क मनोविज्ञानमा आधारित नहुँदा अर्को उमेर समूहका विद्यार्थीमा जटिलता थपिएको छ।’ मुलुकभरि विद्यालय तहमा कति वयस्क अध्ययन गर्छन् भन्ने यकिन तथ्यांक छैन। उपत्यकामा मात्रै वयस्कलाई माध्यमिक तह अध्ययन गराउने एक दर्जन हाराहारी विद्यालय छन्। एउटा विद्यालयमा सरदर तीन सय विद्यार्थी हँुदा पनि तीन हजारभन्दा बढी वयस्क महिला पढ्ने गरेको देखिन्छ।
उनीहरूका लागि सरकारले छुट्टै पाठ्यपुस्तक बनाएको छैन। सरकारले बालमनोविज्ञान बुझेर तयार गरेको पुस्तक वयस्कले पढ्नुपर्ने बाध्यता छ। ‘बालबालिका र वयस्कको अपेक्षा फरक हुन्छ,’ ज्ञवाली भन्छिन्, ‘अपेक्षाअनुसार पाठ्यपुस्तक तयार भएकै छैन।’ सरकारले जीवन उपयोगी शिक्षालाई जोड दिने नारा अघि सारेको छ। तर नारामै सीमित छ। वयस्कले पढ्ने पुस्तकमा महिला शिक्षाको महत्त्व, सफलताको कथा र कसरी सिक्ने भन्नेजस्ता विषयवस्तु राख्नुपर्ने शिक्षकहरूको सुझाव छ। उत्प्रेरणा महिला विद्यालय तीनकुनेकी प्रधानाध्यापक सुमित्रा मैनालीले वयस्कका लागि छुट्टै पुस्तक नहँुदा बुझाउन समस्या भएको बताइन्। कक्षा १० को सामाजिक विषयमा लागू पदार्थ दुव्र्यसनी भन्ने पाठ छ। पाठमा दुव्र्यसनी भनेको के हो? यसको सेवनबाट के असर गर्छ भन्ने विषय पढ्नुपर्छ। कतिपय वयस्क विद्यार्थीलाई आफ्ना सन्तानलाई दुव्र्यसनीबाट छुटाएको अनुभव छ।
वयस्कका लागि तयार दुव्र्यसनीबाट कसरी छुटाउने भन्ने विषयवस्तु समेटिनुपर्ने उत्प्रेरणा विद्यालयकी सामाजिक शिक्षक मीना गौतमले बताइन्। व्यावसायिक शिक्षामा भेडाबाख्रा, गाई पालनबारे पढ्नुपर्छ। कतिपय वयस्कहरू भेडाबाख्रा, गाई हेर्नुपर्ने समस्याले बेलैमा पढ्न पाएनन्। उनीहरूले फेरि भेडाबाख्रा कसरी पाल्ने भन्ने पढ्नुपरेको छ। कक्षा ६ को जनसंख्या शिक्षामा जनसंख्या व्यवस्थापन भन्ने पाठमा परिवार नियोजनबारे पाठ छ। यो पाठमा ‘परिवार नियोजनको साधनको प्रयोग कसले गर्छन्? छिमिकीलाई सोधेर उत्तर लेख’ भनिएको छ। ‘वयस्क विद्यार्थीले छिमेकीलाई सोधेर उत्तर लेख्न लगाउने होइन, तपाईंहरूमध्ये क–कसले परिवार नियोजनको साधन प्रयोग गर्नु हुन्छ? साथीहरूबीच छलफल गरेर लेख्नुहोस् भन्नुपर्ने थियो,’ गौतमले भनिन्।
कक्षा १० को सामाजिकमा दिल्ली सम्झौता भन्ने पाठ छ। त्यसमा दिल्ली सम्झौताबाट केआई सिंह असन्तुष्ट भए भनिएको छ। अभ्यासमा असन्तुष्ट हुनुको कारण लेख्नुपर्ने हुन्छ। तर किन असन्तुष्ट भए भन्ने पाठमा छैन। यस्ता विषयले पनि वयस्क विद्यार्थीलाई बुझाउन समस्या भएको शिक्षकहरू बताउँछन्। आस्था महिला विद्यालयले आयोजना गरेको वयस्कहरूका लागि पाठ्यसामग्रीसम्बन्धी कार्यशालामा उपत्यकाका वयस्क महिला अध्ययन गराउने विद्यालयका विषयगत शिक्षकले समस्या प्रस्तुत गरेका थिए। बीजगणित र ज्यामितीका अवधारणालाई व्यवहारमूलक बनाउन कठिन भएको गणित शिक्षकहरूले बताए। विज्ञानमा प्रयोगमा भएका शब्दहरू बुझाउन, प्रश्नगत संरचना बुझ्नमा पनि कठिनाइ भएको शिक्षकहरू बताउँछन्।
‘वयस्कहरूलाई उपयुक्त नभए पनि परीक्षामा त्यही पाठ्यवस्तुमा आधारित भएर मूल्यांकन हुने भएपछि विद्यालय शिक्षा पूरा गर्ने विद्यार्थीको प्रतिशत कम भएको हो,’ ज्ञवालीले भनिन्, ‘उनीहरूको उपेक्षा पूरा गर्न वयस्क मनोविज्ञान बुझेर पाठ्यपुस्तक र सामग्री तयार गर्नुपर्छ।’ शिक्षा विभागका महानिर्देशक बाबुराम पौडेलले बालबालिकाका लागि तयार भएको पाठ्यपुस्तक वयस्कलाई अध्ययन गराउँदा चाहेको उपलब्धि पाउन नसक्ने बताए। उनले छुट्टै पाठ्यपुस्तक आवश्यक रहेको बताए। ‘आफ्ना लागि आफंै कस्तो पाठ्यक्रम हुनुपर्छ भन्ने छलफल सुरु भएको छ,’ उनले भने, ‘यसले अब चाँडै सार्थकता पाउँछ।’ शिक्षा राज्यमन्त्री धनमाया विकले वयस्कलाई छुट्टै पाठ्यपुस्तक बनाउन महत्त्वपूर्ण निर्णय लिनुपर्ने देखिएको बताइन्।
मकर श्रेष्ठले कान्तिपुरमा लेखेको खबर ।
प्रतिक्रिया