काठमाडौं १ असोज / शिक्षा मन्त्रालयअन्तर्गतको नो अब्जेक्शन सर्टिफिकेशन शाखाबाट नो अब्जेक्शन लेटर (एनओसी) लिएर विदेशमा पढ्न जाने विद्यार्थीको सङ्ख्या प्रतिवर्ष बढ्दै गएको छ । यो सङ्ख्यामा प्रतिवर्ष करीब २ हजारका दरले वृद्धि हुँदै गएको पछिल्ला ३ आवको तथ्याङ्कले देखाएका छन् । यसरी जाने विद्यार्थीहरू विभिन्न शैक्षिक तहका भए पनि विशेषगरी स्नातक तह अध्ययनका लागि जानेको सङ्ख्या बढी रहेको शाखा प्रमुख डिल्लीश्वर प्रधान बताउँछन् । ‘विभिन्न देशको इण्टेकको समयअनुसार कुनै देशका लागि कुनै महीना त कुनै देशका लागि कुनै महीना एनओसी लिन आउने विद्यार्थी सङ्ख्या धेरै हुन्छन्,’ उनले भने, ‘तर समग्रमा सबैभन्दा धेरै विद्यार्थी अष्ट्रेलिया र त्यसपछि जापानका लागि एनओसी लिन आउने गरेका छन् ।’
अघिल्लो आर्थिक वर्षको भदौताका शाखाका कम्प्युटर क्र्याश भएका कारण भदौ महीनाको तथ्याङ्क उपलब्ध हुन सकेन । बाँकी ११ महीनाको तथ्याङ्क हेर्दा गतवर्ष सबैभन्दा बढी अष्ट्रेलियाका लागि, ६ हजार ५ सय दुईजनाले एनओसी लिएका छन् भने जापानका लागि ३ हजार ८ सय १२ जनाले लिएका छन् । त्यसैगरी तेस्रोमा अमेरिकाका लागि २ हजार ६ सय ४४ जनाले र चौथोमा भारतका लागि ९ सय ६७ जनाले एनओसी लिएको छात्रवृत्ति शाखाको तथ्याङ्क छ । अघिल्लो आर्थिक वर्षभरको तथ्याङ्क हेर्दा महीनाको २ हजारदेखि ५ हजारको सङ्ख्यामा विद्यार्थीले एनओसी लिएको देखिन्छ । यो आर्थिक वर्षको पहिलो महीना साउनमा मात्रै विदेश पढ्न जानका लागि एनओसी लेटर लिने विद्यार्थीको सङ्ख्या ३ हजार ७६ पुगेको छ ।
शाखाले कार्यालय खुलेको दिन दिनको १० देखि १२ बजेसम्म फारम वितरण गरी एक दिनमा वितरण गरेका फारमको काम एकै दिनमा सक्ने व्यवस्था गरेको थियो । तर, पछिल्लो समयमा भने दिनको ५ सय २१ ओटासम्म फारम वितरण गरी सोही दिनमा काम सक्ने गरेको छ । विद्यार्थीले शिक्षा मन्त्रालयको वेबसाइटबाट फारम डाउनलोड गरी भरेर पनि बुझाउन सक्छन् । ‘तर, विद्यार्थीहरू फारम भर्ने साइड मात्र डाउनलोड गरेर भर्ने र अर्कोपट्टिको भाग नहेर्ने कारणले झमेलामा पर्ने गर्छन्,’ शाखा प्रमुख प्रधानले भने, ‘कम्तीमा त्यो भाग पनि राम्ररी पढे एकै पटकमा आवश्यक प्रक्रिया र कागजातसहित उनीहरू आउँथे, काम सकेर जान्थे, हामीलाई पनि झन्झट हुन्थेन ।’
विदेश पढाइका नाममा अवैध धन्दा
बुधवार छात्रवृत्ति शाखामा बसेर नियालिरहँदा केही बेरअघि मात्र छैन भनेको कागजातसहित केही बेरपछि नै एक विद्यार्थी उपस्थित भए, जसले गर्दा शाखा प्रमुखले ती विद्यार्थीमाथि शङ्का गर्दै केही प्रश्न गर्न थाले । सानाभन्दा साना कुरामा पनि नियालेर कागजात हेरिने भएकाले विद्यार्थीहरू एनओसी लिने काम विदेश पढ्न जाने सवालमा भिसाअघिको जटिल प्रक्रिया मान्दछन् । एनओसी लिन धेरैजसो विद्यार्थी आफै र विदेशमा पढिरहेका छोराछोरीको पढाइ थपका लागि अभिभावक आउने गरेको प्रधानले बताए । ‘तर आजकाल विद्यालय तहका छोराछोरीलाई उता पढ्ने बन्दोवस्त मिलाएर संरक्षकका रूपमा अभिभावक जाने धन्दा पनि चल्न थालेको छ,’ प्रधानले भने, ‘यसरी आउने सबै वास्तविक अभिभावक नभई संस्थाका प्रतिनिधि वा धर्म आमाबाबु पनि रहेकाले कतै बालबालिकाको बेचबिखन त भइरहेको छैन भन्ने शङ्का बढेको छ । त्यसैले, शङ्कास्पद कुरामा गम्भीर ढङ्गले सोच्नुपर्ने अवस्था आएको छ ।’
एनओसी लिएर मानव तस्करीको बाटोमा लागेका केही केस यस शाखासँग छन् । गाउँका सोझा युवाबाट मोटो रकम लिएर शर्टकट बाटो हुँदै अमेरिका पु¥याउने प्रलोभनमा कुनै निश्चित देशसम्म पुग्ने आधारका लागि एनओसी लिन आउनेहरू भेटिएको प्रधानको भनाइ छ । ब्राजिलमा तीनमहीने स्पेनिश भाषा अध्ययनका जान लागेका दुईजना युवासँग बुझ्दा दलालले अमेरिका पु¥याउने भनेको, नेपालले प्रतिबन्ध गरेका देशका कलेजमा पढ्न एनओसी लिन आएको जस्ता दर्जनौं उदाहरण मन्त्रालयसँग छन् । ‘सरकारले अध्ययन अनुमतिमा बन्देज लगाएका चिली, दक्षिण अमेरिकालगायत देश मानव तस्करहरूले विकसित मुलुक लैजाने ट्राञ्जिटका रूपमा प्रयोग गरिरहेको पाइएको छ,’ प्रधानले भने, ‘त्यसैले, युवाहरू विदेशको सपना देख्दा जीवनकै खतरामा नपरून् भनेर कागजात अध्ययनमा विशेष चनाखो हुने गरेका छौं । उनका अनुसार झूठा कागजात बनाउन दलाल, अवैध कन्सल्ट्यान्सी जस्ता माध्यमको पनि भूमिका रहेको देखिन्छ । गत आर्थिक वर्षमा झूठा कागजात पेश गरी विदेश पठाउन लागेका केसमा केही कन्सल्टेन्सीलाई महानगरीय अपराध महाशाखाले कारबाही पनि गरेको छ ।
अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीले आफू पढ्न जाने भनेको कलेज उपयुक्त छ/छैन, कहाँ छ, आफूले चाहेको विषय छ/छैन, सम्बन्धित देशमा अध्ययनका लागि नेपालबाट अनुमति छ÷छैन भन्ने जस्ता विषयमा राम्ररी बुझ्नुपर्छ । उताको कलेजका बारेमा आफैले, भरपर्दो कन्सल्टेन्सी वा व्यक्तिको सहयोगमा बुझेमा सुरक्षित साथ जान, नठगिई पढ्न र बस्न सकिने एनओसी शाखा प्रमुख प्रधानको भनाइ छ । एउटा कामका लागि भनेर डकुमेण्ट बनाउन लगाएर अर्कै कामका लागि लगिदिन्छु भन्ने व्यक्ति तथा कन्सल्टेन्सीबाट सजग रहन महानगरीय अपराध महाशाखाका प्रहरी वरिष्ठ उपरिक्षक सर्वेन्द्र खनालले सल्लाह दिए ।
अभियान दैनिकमा दुर्गा लामिछानेले लेखेको खबर ।
प्रतिक्रिया