Edukhabar
आइतबार, ०२ मंसिर २०८१
अन्तैवाट

१२ को नतिजा निरासाजनक

शुक्रबार, ३१ भदौ २०७३


काठमाडौं ३१ भदौ / राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा सञ्चालक समितिले सोमबार कक्षा १२ को व्यवस्थापन, मानविकी र शिक्षाशास्त्र संकायको नतिजा प्रकाशन गर्‍यो। तीनवटै संकायमा नियमिततर्फ १ लाख ७५ हजार ५ सय ९३ परीक्षार्थी सहभागी भएकोमा ८४ हजार ५ सय ९३ अर्थात् ४८.१७ प्रतिशत उत्तीर्ण भए। ९१ हजार विद्यार्थी फेल भए। आधाभन्दा बढी परीक्षार्थी फेल हुँदा राज्य र अभिभावक दुबैको गरी करिब तीन अर्ब रुपैयाँ लगानी खेर गएको छ।

 ५० प्रतिशत पनि विद्यार्थी कक्षा १२  मा उत्तीर्ण हुन नसक्नुले हाम्रो शिक्षा नीति प्रभावकारी नभएको पुष्टि गरेको बताउँछन् शिक्षाविद् विद्यानाथ कोइराला। विद्यार्थी नेट, वेवसाइट, मोबाइल, भिज्युल र अडियो सुनेर/हेरेर पढ्ने भए तर शिक्षक भने पुरानै पारा कक्षामा किताब पल्टाएर पढाउने भए। विद्यार्थी र शिक्षकबीचको दुरी बढेका कारण कमजोर नतिजा आएको उनको ठम्याइँ छ। '५१.८३ प्रतिशत विद्यार्थी  फेल हुने नेपालको कस्तो शिक्षा नीति हो,' कोइरालाले भने, 'शिक्षकमा पढाउने र केटाकेटीमा पढ्ने संस्कार घट्दै गएको स्पष्ट भएको छ।' उनले सुझाए, 'अब राज्यले विद्यार्थी केन्द्रित पठनपाठनमा जोड दिएमात्र शिक्षामा गुणस्तर कायम हुन्छ।'

विगत तीन वर्षको तथ्यांक हेर्ने हो भने कक्षा १२ को व्यवस्थापन, मानविकी र शिक्षा संकायतर्फको उत्तीर्ण नतिजा खासै फरक छैन। परीक्षा नियन्त्रक सन्तोष  अर्यालका अनुसार २०७० सालमा कक्षा १२ मा तीनै संकायमा गरी ३८.६३ प्रतिशत, ०७१ मा ३९.०४ प्रतिशत र ०७२ मा ३९.९९ प्रतिशत परीक्षार्थी पास भएका थिए। 'अहिले (०७३ मा) बल्लतल्ल नतिजामा १० प्रतिशत वृद्धि भएको छ,' नियन्त्रक अर्यालले भने, '५० प्रतिशत विद्यार्थी पनि उत्तीर्ण गराउन नसक्नु कमजोरी हो।

कक्षा १२ मा ८१ विषयमा पठनपाठन हुन्छ। उनले थपे, 'सरकारले बढी फेल हुने जिल्लामा शिक्षक तालिमको व्यवस्था गर्दै आएको छ तर नतिजा सुधार हुन नसक्नुले यो प्रभावकारी नभएको प्रस्ट छ।'

उनका अनुसार कक्षा १२ मा धेरैजसो फेल हुने विषय एकाउन्ट, अर्थशास्त्र, विजनेस म्याथ, अंग्रेजी हुन्।

सिकाइ उपलब्धि विधिले विद्यार्थी र शिक्षकबीच मेल नखाँदा नतिजामा सुधार हुन नसकेको शिक्षाविद् कोइराला बताउँछन्। 'विद्यार्थीले पढ्ने तरिका र शिक्षकले पढाउने तरिकामा मेल खाएन,' कोइरालाले भने, 'सरकारले  लागु गरेको अक्षरांक पद्धति र निरन्तर मूल्यांकन प्रणाली हाम्रो संस्कारसँग मेल खाएन्।' अब सरकार विद्यार्थीलाई किताबमात्र पढाउने होइन गरी खाने सीपसहितको शिक्षा उपलब्ध गराउनतर्फ लाग्नुपर्ने उनको भनाइ छ।

उच्चमाध्यामिक विद्यालय सञ्चालक संघ, नेपाल (हिसान) का अध्यक्ष रमेश सिलवालले यस वर्ष ९१ हजार विद्यार्थी फेल हुँदा राज्य र अभिभावकको गरी ३ अर्ब, ६० करोड रुपैयाँबराबरको लगानी खेर गएको बताउँछन्। उनका अनुसार सबै राम्रा विद्यार्थी विज्ञान तथा प्रविधि समूहमा भर्ना हुन्छन्। बाँकी व्यवस्थापन, मानविकी र शिक्षाशास्त्र संकायमा जान्छन्। यसले गर्दा पनि यी संकायमा नतिजा राम्रो हुन नसकेको हो।

'प्रतिविद्यार्थी राज्य र अभिभावकबाट बर्सेनि ४० हजार रुपैयाँ खर्च हुन्छ,' सिलवालले भने, 'करिब ५२ प्रतिशत विद्यार्थी फेल हुनु भनेको ३ अर्ब, ६० करोड रुपैयाबराबरको लगानी रकम खेर गएको हो।' उनले थपे, 'विज्ञानतर्फ उत्तीर्ण नतिजा ७० प्रतिशतभन्दा कम हुँदैन। तर व्यवस्थापनतिर भने ५० प्रतिशत कहिल्यै कट्दैन।'

कक्षा १२ का कुल विद्यार्थीमा विज्ञान, व्यवस्थापन र मानविकी समूहमा गरी ५९ प्रतिशत हुन्छन् भने शिक्षा समूहतर्फ ४१ प्रतिशत विद्यार्थी हुन्छन्। 'परीक्षामा शिक्षा समूहका विद्यार्थी बढी सहभागी भए पनि त्यसतर्फको उत्तीर्ण नतिजा बर्सेनि १० प्रतिशत पनि पुग्दैन,' उनले भने, 'बर्सेनि कुल उत्तीर्ण नतिजामा निजीतर्फका कलेजको ७० प्रतिशत र सरकारीको ३० प्रतिशत हुन्छ।' उनका अनुसार सरकारी कलेजमा धेरै विद्यार्थी अंग्रेजीमै फेल हुन्छन्। उनले भने, 'राज्यले सरकारी कलेजमा अंग्रेजीमा मात्र सुधार गर्न सके २५ प्रतिशत नतिजा सुधार हुन्छ।'

एभरेष्ट कलेज सञ्चालक एवं शैक्षिक परामर्श दातृ निकायहरूको छाता संगठन इक्यानका उपाध्यक्ष विष्णुहरि पाण्डेका अनुसार शिक्षामा राज्य र अभिभावकको लगानीअनुसार प्रतिफल आउन नसक्नुको मुख्य कारण सरकारी अनुगमन र नियमनको कमजोरी हो। कक्षा १२ विद्यार्थीको भविष्य निर्धारण गर्ने आधारस्तम्भ भएको र यहीनेर कमजोर नतिजा आउँदा विद्यार्थीमा निरासा बढ्दै जाने उनले औंल्याए।

'प्लस टुमा अभिभावक र राज्यको लगानीअनुसार ७०–८० प्रतिशत विद्यार्थी उत्तीर्ण हुनुपर्छ,' पाण्डेले भने, 'कक्षा १२ मा फेल हुने विद्यार्थी कामको खोजीमा विदेश जान खोज्छन्। यसले ठूलो संख्यामा युवा जनशक्ति विदेश पलायन हुने प्रस्ट छ।'

 परीक्षा नियन्त्रक अर्यालका अनुसार कक्षा १२ को व्यवस्थापन, मानविकी र शिक्षाशास्त्र संकायमा आंशिकतर्फ १ लाख २३ हजार १ सय ८१ परीक्षार्थी सहभागी भएकोमा ३९.५९ प्रतिशत पास भएका छन्। गत वर्ष तीनवटै समूहमा आंशिकतर्फ ३२.४९ प्रतिशत परीक्षार्थी पास भएका थिए।

रुबी रौनियारले नागरिकमा लेखेको खबर ।

प्रतिक्रिया