Edukhabar
आइतबार, ०७ पुस २०८१
खबर/फिचर

विद्यार्थी ‘बन्धक’ बनाउने मेडिकल कलेज प्रति शिक्षाका निकाय चुपचाप, छानविनमा नगरपालिका अग्रसर

विहीबार, ३० भदौ २०७३

भक्तपुर– काठमाडौं मेडिकल कलेज केएमसीले लाइसेन्स रिन्यू गर्न आवश्यक संख्या पुर्याउन छिमेकी विद्यालयका विद्यार्थीलाई ‘बन्धक’ बनाएको घटना सार्वजनिक भएको दुई हप्ता बितिसक्दा पनि शिक्षाका निकाय बेखबर जस्तै बसेका छन् ।

एडुखबरमा खबर प्रकाशित भएपछि चाँगुनारायण नगरपालिकाले भने उक्त विषयमा छानविन गर्न अग्रसरता देखाएको छ । उक्त अस्पताल चाँगुनारायण नपा वडा नं. १२ मा छ ।
नगरपालिकाले छानविन गर्ने भन्दै समिति गठन गरेको छ । उक्त खबरको आधारमा चाँगु नपामा रहेको नगरस्तरीय बाल संरक्षण समितिलाई छानविन गर्ने जिम्मा दिएर गत सोमबार छानविन समिति गठन गरिएको नपाका कार्यकारी अधिकृत लोकनाथ भुसालले बताए ।

उनले चाँगु नपाको बैठकमा केएमसीले विद्यार्थी बन्धक बनाएको खबर आएको विषयले प्रवेश पाए पछि सो विषयमा छानविन गर्न संयुक्त वडा कार्यालयका वडा सचिव प्रेम तुल्सीको संयोजकत्वमा पाँच सदस्यीय छानविन समिति गठन गरिएको जानकारी दिए ।

छानविन समितिमा नगरस्तरीय वाल संरक्षण समतिका राजु खत्री, सिविसका एलिसा अधिकारी, वडा नागरिक मञ्चका  नवराज काफ्ले र वडास्तरीय वाल संरक्षण समितिका सदस्य मनिषा कार्की रहेका छन् ।
उक्त अस्पतालले विद्यार्थीलाई बन्धक बनाएको खबर गत भदौ १५ गते एडुखबरमा प्रशाशित भएको थियो ।  

पढ्नुहोस् :  लाइसेन्स रिन्यूको खेलो, मेडिकल कलेजद्धारा प्राविका विद्यार्थी ‘बन्धक’

काठमाडौं मेडिकल कलेज र गणेश प्राविलाई समेत बोधार्थ दिइएको समिति गठन सम्बन्धि उक्त पत्रको व्यवहोरामा ‘स्कुल हेल्थ प्रोग्रामको सिलसिलामा काठमाडौं मेडिकल कलेजले भदौ ८ गते बालबालिकाको अपहरण गरिएको विषयमा पत्रपत्रिकामा प्रकाशित समाचारको सन्दर्भमा भएको सत्यतथ्यका सम्बन्धमा सम्बन्धित स्कुल र  काठमाडौं कलेजमा स्थलगत रुपमा गइ अध्ययन गरी प्रतिवेदन पेश गर्नुहुन’ उल्लेख छ ।

शिक्षा मात्र हैन बालबालिका सम्बद्ध संस्था र निकाय देखि प्रशासन सम्म चुपचाप

केएमसी अस्पतालको उक्त कर्तुत सार्वजनिक भएको यतिका दिन सम्म जिल्ला शिक्षा कार्यालय, जिल्ला प्रशासन कार्यालय, प्रहरी तथा महिला तथा बालबालिका कार्यालय पनि चुप छन् । घटना सार्वजनिक भईसक्दा पनि शिक्षा, प्रशासन, प्रहरी र बालबालिकाको क्षेत्रमा काम गर्ने निकाय कानमा तेल हालेर बसेको भन्दै स्थानीय आक्रोशित बनेका छन् ।

‘विद्यालयले अस्पतालबाट आर्थिक लाभ पाउने भएपछि बालबालिका माथि त्यस्तो हर्कत गर्दा पनि सम्बन्धित निकाय मौन बस्नु लाजमर्दो हो’ एक स्थानीयले नाम उल्लेख नगर्ने सर्तमा भने, ‘पहिला पनि अस्पतालले नक्कली बिरामी बनाएर अस्पताल रिन्यू गर्ने गरेको घटना आएको थियो, यो पटक पनि आएको छ, यस्तो हुँदासम्म पनि वास्ता नगर्नु विडम्वना हो ।’

उक्त घटनालाई सामान्य रुपमा लिन लगाउन र स्थानीयलाई विभिन्न सेवा र सुविधा दिँदै आएको भन्न केही स्थानीयलाई अस्पतालले प्रभावमा पारेको उनको दावी छ ।

‘केएमसीले स्थानीय केहीलाई पैसा दिएरै अस्पतालको सो घटना सामान्य हो भनेर फलाक्न लगाइरहेको छ तर यो घटना सामान्य होइन ।’ अर्का स्थानीयको भनाइ छ ।

शिक्षा कार्यालय भक्तपुरका सहायक जिशिअ पुष्पराज ढकालले भने  सो विषयमा आफूले एडुखबरबाटै थाहा पाएको जानकारी दिँदै विद्यालयमा हुने विभिन्न कार्यक्रमको बारेमा शिक्षा कार्यालय, स्रोत केन्द्रमा जानकारी हुनुपर्ने भए पनि विद्यालय आफैले विना जानकारी उपचारको लागि पठाएको बारेमा थप बुझ्ने बताए ।

प्रतिक्रिया