Edukhabar
आइतबार, ०२ मंसिर २०८१
अन्तैवाट

उच्च शिक्षा आर्जन गरेकालाई रोजगारीमूलक सीपसम्बन्धी तालिम सञ्चालन गरिने

विहीबार, ३० भदौ २०७३


काठमाडौं ३० भदौ / उच्च शिक्षा आर्जन गरेकालाई रोजगारीमूलक सीपसम्बन्धी तालिम सञ्चालन गरिने भएको छ ।  नेपाल चेम्बर अफ कमर्स अन्तर्गतको युवा उद्यमी मञ्चले लर्ड बुद्ध एजुकेसन फाउन्डेसन विद्यापीठ (एलबीईएफ) स्कुल अफ स्किलसँगको सहकार्यमा यस्तो तालिम सञ्चालन गर्ने भएको हो ।  ‘दक्ष नेपाल, समक्ष नेपाल’ भन्ने नाराका साथ सञ्चालन गर्न लागिएको तालिमको बुधबार नेपाल राष्ट्र बैङ्कका गर्भनर डा. चिरन्जीवी नेपालले औपचारिक रूपमा आरम्भ गर्नुभयो ।

तालिम एलबीईएफले सञ्चालन गर्नेछ भने तालिमपछि मनिपाल प्रो लर्न नामक संस्थाबाट प्रमाणपत्र उपलब्ध गराइने भएको छ ।  विभिन्न ४५ विधामा प्रदान गरिने तालिम एक महिनेदेखि छ महिनासम्मका छन् ।  तालिम आरम्भ गर्न आयोजित कार्यक्रममा गभर्नर डा. नेपालले बजारको मागअनुरूप बेरोजगारी युवालाई तालिम आवश्यक परेको बताउनुभयो ।

उहाँले औपचारिक शिक्षा पूरा गरेपछि पनि युवासँग सीप नहुने अवस्था रहेको बताउँदै दक्ष जनशक्ति उत्पादन यस्ता तालिमको आवश्यकता रहेको बताउनुभयो ।  नेपाल बैङ्कर्स सङ्घका अध्यक्ष उपेन्द्र पौडेल र एलबीईएफका संस्थापक परमानन्द केजरीवालले व्यावहारिक सीप र ज्ञानको अभावले युवा बेरोजगारी सङ्ख्या बढ्दै गएको बताउनुभयो ।

गोरखापत्रमा प्रकाशित खबर ।

प्रतिक्रिया