Edukhabar
आइतबार, ०२ मंसिर २०८१
अन्तैवाट

नेपाली भाषा सिक्ने विदेशी विद्यार्थीको चाह

शनिबार, २५ भदौ २०७३

काठमाडौं २५ भदौ / अमेरिका, क्यालिफोर्नियाकी ग्लोरिया ग्रेस पहिलो पटक नेपाल आउँदा १९ वर्ष टेक्दै थिइन् । उद्देश्य थियो, घुम्ने । नेपाल घुमेर फर्केका उनका दाजुले यहाँको सुन्दरता र सरलताको खुब बखान गरेका थिए । त्यही भएर कलेज जानुभन्दा पहिल्यै प्राकृतिक छटामा रमाउन नेपाल उडेकी थिइन् तीन महिनाका लागि । मुक्तिनाथ र जोमसोम पुगिन् । जति घुम्दै गयो, त्यति नै नौलो र रमाइलो । समय पर्याप्त थिएन, फर्कने दिन आइसकेको थियो । तर, अमेरिका नपुग्दै उनले निर्णय गरिसकेकी थिइन्, फेरि नेपाल आउँछु, त्यो पनि लामो समयका लागि । त्यसयता पटक–पटक यहाँ आउँदा मोह थपियो ।

कतिसम्म भने उनलाई नेपाल बुझ्न नेपाली भाषा पढ्नैपर्छ भन्ने हुटहुटी पलाएछ । “विभिन्न ठाउँ घुम्दा नमस्ते, सन्चै हुनुहुन्छ भन्ने जस्ता शब्द जानेँ । त्यसले आत्मीयता अझ बढायो,” प्रदर्शनीमार्गस्थित विश्वभाषा क्याम्पसमा नेपाली भाषा अध्ययनरत ग्लोरियाले सुनाइन्, “नेपाली भाषाको मिठास बेग्लै छ ।” आठ महिना मात्र भयो उनले नियमित कक्षा लिएको तर नेपालीमा दोहोरो कुरा गर्न सक्छिन् । त्यो पनि बोलीचाली र ठेट शब्द मिसाएर ।

ग्लोरियाले नेपाली बोलेको सुनेर मुसुमुसु मुस्कुराइरहेकी थिइन्, जापानकी युरी वातानापे । उनीहरू एउटै कक्षामा पढ्छन् तर ग्लोरियाझैँ युरी नेपाली खुलेर बोल्न सक्दिनन्, सिक्ने चाह र कौतूहल भने उत्तिकै छ । भर्खर २४ वसन्त टेक्दै गरेकी युरीले विश्वविद्यालय पढ्दा पहिलो पटक नेपालबारे सुनेकी थिइन्, आर्थिक विपन्न तर प्राकृतिक रूपमा सम्पन्न । जापानी लबज मिसिएको बोलीमा हँसिलो मुहारसहित युरीले भनिन्, “म जापान, जर्मनी र अस्ट्रेलियाजस्ता विकसित देशमा हुर्किएँ । त्यसैले विकासोन्मुख देश, त्यहाँको जीवनशैली र संस्कृतिबारे जान्ने चाह थियो ।” एक संस्थाको स्वयंसेवीका रूपमा चार वर्ष पहिले नेपाल आइन् । र, उनलाई पनि त्यो भ्रमणले नेपालप्रतिको प्रेम र लगाव बढायो ।

विश्वविद्यालयको पढाइ सकेर उनी जुन कम्पनीमा जागिरे भइन्, त्यहाँका अधिक कर्मचारी नेपाली थिए । उनीहरूलाई राम्रोसँग काम गराउन पनि नेपाली भाषा बोल्नैपथ्र्यो । उनले हाँस्दै सुनाइन्, “यही मौकामा मैले नेपाली भाषा सिक्न नेपाल जान्छु भनेँ । कम्पनीले पनि पठायो ।” कोर्स पूरा गरेपछि नेवारी भाषा पढ्ने योजना छ उनको किनभने कम्पनीमा कार्यरतमध्ये नेवार धेरै छन् ।

दक्षिण कोरियाका सङयुन किम, ५३, त्रिभुवन विश्वविद्यालय, केन्द्रीय नेपाली विभाग, कीर्तिपुरमा स्नातक तह तेस्रो वर्षमा अध्ययनरत छन् । रमाइलो त के छ भने विश्वविद्यालयमा अंग्रेजी विषय पढाएर निवृत्त भएपछि उनी नेपाल आएका हुन् । नेपाली भाषा पढ्दै गएपछि यहाँको प्राकृतिक सुन्दरता, संस्कृति र जीवनशैलीले पनि तान्दै लग्यो । बाँकी जीवन यहीँ बिताउने प्रण नै गरेका छन् । भन्छन्, “कोरियाली कथा नेपालीमा र नेपाली कथा कोरियाली भाषामा अनुवाद गर्ने योजना छ ।”

ग्लोरिया, युरी र सङयुन त उदाहरण मात्र हुन्, जो विश्वका विभिन्न भूगोलबाट नेपाली भाषा पढ्ने लालसामा नेपाल आएका छन् । उनीहरूको चाह र उद्देश्यको स्वरूप फरक होला तर नेपाल र नेपाली भाषाप्रतिको मोहको सार समान छ । कोही संस्कृति बुझन्, कोही अवकाशपछिको जीवन शान्त शैलीमा बिताउन, त कोही अनुवादको काम गर्न नेपाली भाषा पढ्छन् ।

पछिल्लो केही वर्षयता नेपाली पढ्न आउने विदेशीको संख्या बढिरहेको छ । कोही व्यक्तिगत लगानीमा पढ्छन् भने कोही सम्बन्धित देशको छात्रवृत्ति पाएर नेपाली भाषा अध्ययन गर्न आउँछन् । यसरी छात्रवृत्तिमा आउनेमध्ये चिनियाँ धेरै हुने नेपाली केन्द्रीय विभाग, वैदेशिक एकाइका संयोजक कृष्णप्रसाद घिमिरेले जानकारी दिए । सरकारी छात्रवृत्तिमा आएकाले केन्द्रीय विभागमा मात्र पढ्न पाउने व्यवस्था छ । संयोजक घिमिरे भन्छन्, “भाषा भनेको देशलाई नियाल्ने पहिलो खुड्किलो हो । त्यसैले नेपालप्रति रुचि राख्ने जो–कोही भाषा सिक्न हामीकहाँ आइपुग्छन् ।” उनका अनुसार विदेशीका लागि तयार पारिएको चार वर्षे स्नातक कोर्समा नेपाली व्याकरण र भाषा मात्र होइन, नेपालको इतिहास, सभ्यता, संस्कति, जीवनशैली र रहनसहनको जानकारी पनि समेटिएको छ । भाषासँगै नेपालकै बारेमा जान्न पाउने भएकाले पनि विदेशीको ध्यान तानिएको घिमिरेको बुझाइ छ । विश्वभाषा क्याम्पसको कोर्स पनि केन्द्रीय विभागको भन्दा खास फरक छैन ।

धेरैले ख्याल नगरेको अर्को सत्य के रहेछ भने नेपाली भाषा जान्ने विदेशीका लागि अवसरको दायरा फराकिलो हुँदै गएको छ, चाहे स्वदेशमै फर्केर होस् वा नेपालमै बसेर । यसरी एकातिर अवसरको नयाँ ढोका खुल्ने, अर्कातिर फरक देशको संस्कृति बुझ्न र प्राकृतिक सम्पन्नताको मज्जा लिन पाउने भएकाले नेपाली भाषा रोजाइमा पर्ने गरेको छ ।

कतिचाहिँ आत्मिक सन्तुष्टिको खोजी गर्दैै नेपाल आइपुग्छन् र भाषा पढ्छन् । जस्तो : दक्षिण कोरियाका ग्वाङ मुन छा, ४५ । आफ्नै देशमा चिनियाँ भाषा पढाएर मनग्य आम्दानी हुन्थ्यो । अंग्रेजी पनि अध्यापन गर्थे । भिन्न–भिन्न भाषाप्रति खुब मोह थियो उनको । हाल कीर्तिपुरमा नेपाली भाषामा स्नातक तह दोस्रो वर्षको प्रथम सत्रमा अध्ययनरत ग्वाङ सम्झन्छन्, “नेपालको बहुआयामिक संस्कृति, प्रकृति र नेपालीको सरलताबारे हाई स्कुल पढ्दा नै सुनेको थिएँ । त्यसैले नयाँ भाषाका रूपमा नेपाली नै सिक्न मन लाग्यो र दुई वर्ष पहिले यहाँ आएँ ।” सुरुमा नेपाली भाषा पढेपछि स्वदेश फर्कने योजना थियो तर पढ्दै गएपछि मोह यति बढेछ कि पढाइपश्चात् यहीँ अनुसन्धानात्मक काम गर्ने योजना बुनेका छन् । साथै, चिनियाँ र अंग्रेजी भाषा पनि जानेकाले नेपालमै राम्रो सम्भावना देख्छन् उनी ।

ग्वाङजस्तै आत्मिक आनन्द र सम्भावना देखेर नेपाली भाषा अध्ययन गरिरहेका छन्, इक्वेडरका फ्रान्सिस्को, ३४ । बौद्ध धर्मावलम्बी फ्रान्सिस्को बुद्धको जन्मस्थल लुम्बिनी खोज्दै चार वर्ष पहिले नेपाल आइपुगेका थिए । ध्यान, योगमा रुचि राख्ने उनले लुम्बिनीसहित अन्य सुन्दर र सांस्कृतिक महत्त्वका ठाउँ पनि घुमे । जसका कारण उनको नेपालप्रतिको मोह बढ्दै गयो । फेरि उनको फरक भाषाप्रतिको मोह पनि गज्जबकै रहेछ । फ्रेन्च, अंग्रेजी, इटालियन, चिनियाँलगायत आधा दर्जन भाषामा दख्खल छ उनको । यस्ता भाषाप्रेमीलाई नेपाली भाषाले नतान्ने कुरै भएन । त्यसैले त वर्ष दिनअघि विश्वभाषामा भर्ना भए । अझ तीन वर्ष पढ्ने योजनामा रहेका यी तन्नेरीले सुनाए, “धार्मिक र सांस्कृतिक रूपमा पनि नेपाल प्रिय लाग्छ । झन् भाषा जानेपछि अनुवादमै पनि राम्रो अवसर छ ।” गाइड बनेर नेपालको पर्यटन विस्तारमा जोडिने चाह पनि छ उनको ।

विदेशीले नेपाली भाषा सिकेपछि अवसरको दायरा, सम्भावना त बढ्छ नै, सँगै विद्यार्थीका लागि भिसा प्रक्रिया सरल र सस्तो छ । जस्तो : केन्द्रीय विभागमै पढ्नका लागि पनि वर्षमा ६ सय ५० डलर बुझाए पुग्छ, विश्वभाषाको हकमा यो भन्दा कम पर्छ । बैंक स्टेटमेन्ट पनि तीन हजार डलरमा सीमित छ तर विद्यार्थीले डिपेन्डेन्टमा श्रीमती/श्रीमान् र सन्तान ल्याउन पाउने सुविधा छ । कलेजको सिफारिस भएपछि भिसा सहजै ‘रिन्यु’ हुन्छ । यस्तो प्रशासनिक सरलताका कारण पनि विदेशी विद्यार्थीको चाप बढेको हो । नेपालजस्तो विकासोन्मुख राष्ट्रका लागि विदेशीले भाषा सिक्दा बृहत्तर हित हुन्छ । घिमिरे भन्छन्, “सांस्कृतिक आदानप्रदान, पर्यटन र नेपालको सान बढाउन पनि विदेशीलाई नेपाली भाषाप्रति आकर्षित गर्नुपर्छ । यसो हुन सक्यो भने हाम्रो कला र साहित्यलाई विश्वसामु लैजान थप उपयोगी र प्रभावकारी हुन्छ ।”

पढाइभन्दा भिसामुखी

जानकारहरूका अनुसार बहुदल आएपछि नेपाली पढ्न आइपुग्ने विद्यार्थीको संख्या बढेको हो । त्यो संख्या माओवादीको सशस्त्र युद्ध नचर्किन्जेल बढी नै रह्यो । ०५६/५७ बाट पढ्नका लागि मात्र होइन, घुम्न आउने विदेशी पनि घटे । दोस्रो जनआन्दोलन सफल भएपछि फेरि नेपाली भाषाप्रति विदेशीको लगाव बढिरहेको १७ वर्षदेखि विश्वभाषामा नेपाली अध्यापन गराइरहेका कृष्ण पौडेल बताउँछन् तर समस्या के भइदियो भने पहिले नेपाली पढ्नेको स्वार्थ भाषा सिक्ने मात्र हुन्थ्यो, पढेर स्वदेश फर्केकाले नेपाली भाषाको विस्तारमा भूमिका पनि खेल्थे । जस्तो : त्रिभुवन विश्वविद्यालयमा पढेका चिङली बेइजिङ रेडियोमा नेपाली समाचार पढ्छन् । ०५५ सालमा नेपालीमा स्नातकोत्तर गरेका जापानी नागरिक हारुहितो नोजू अहिले जापानमा नेपाली साहित्य अनुवाद गर्न व्यस्त छन् ।

तर, अहिले पढ्ने बहानामा भित्री स्वार्थ र मिसन बोकेर आउने पनि छन् । धेरैजसो जापानीहरू अवकाशपछिको जीवन बिताउन आउँछन् भने केही युरोपियनहरूमा धर्म प्रचारको स्वार्थ पनि जोडिने गरेको छ । भिसा पाउन सजिलो भएकाले भर्ना भए पनि नियमित कलेज आउँदैनन् । त्यसैले ‘ नक्कली विद्यार्थी’लाई हतोत्साहित गर्नुपर्ने आवाज उठ्न थालेको छ । “पछिल्लो समय पढाइभन्दा भिसामुखी विद्यार्थीको बाहुल्य देखिन्छ,” नेपाली केन्द्रीय विभाग, वैदेशिक एकाइका संयोजक कृष्णप्रसाद घिमिरे भन्छन्, “त्रिभुवन विश्वविद्यालय, अध्यागमन विभाग र सम्बन्धित कलेजको संयुक्त प्रयासमा यो प्रवृत्ति रोकिएन भने सिकाइ प्रभावकारी र उपयोगी त हुँदैन नै, सँगै दीर्घकालीन असर पनि पर्छ ।”

सिकाइन्छ कसरी ?

पाली भाषाको पृष्ठभूमि नै थाहा नभएका विदेशीलाई नेपाली सिकाउनु चानचुने कुरा होइन । फेरि नेपाली भाषा पढ्न कलेज पुग्ने अधिक परिपक्व भइसकेका हुन्छन् । उनीहरुलाई आधारभूत तहबाटै सिकाउन धेरै अभ्यास गराउनुपर्ने नेपाली केन्द्रीय विभागमा विदेशीलाई नेपाली भाषा अध्यापनरत उप–प्राध्यापक अशोक थापा बताउँछन् । उनका अनुसार युरोपियन र अमेरिकीभन्दा भाषागत संरचना समान हुने भएकाले कोरियन र जापानीले सरल शैलीमा नेपाली सिक्छन् । कर्ता, कर्म र क्रियाको पदक्रम पनि मिल्छ । थापा भन्छन्, “तर, शब्द र अक्षरको रुप र योग अनि श्रुतिसमभिन्नार्थक र अनेकार्थ शब्द सिकाउन मुस्किल पर्छ ।” अमेरिकाकी ग्लोरियाले पनि लेख्न र बुझ्नभन्दा नेपाली उच्चारण गर्न गाह्रो हुने सुनाइन् ।

गोकर्ण गौतमले नेपाल साप्ताहिकमा लेखेको खबर ।

 

 

प्रतिक्रिया