Edukhabar
शुक्रबार, ०४ असोज २०८१
खबर/फिचर

शिक्षक सरुवा रोक्का

मंगलबार, १९ साउन २०७२

काठमाडौं १९ साउन / शिक्षा मन्त्रालयले अन्तर जिल्ला शिक्षक सरुवा रोक्ने निर्णय गरेको छ । दरबन्दी खाली भएको स्थानमा भनसुन गरेर सरुवा गर्न थालेपछि मन्त्रालयले यस्तो निर्णय गरेको हो ।

दरबन्दी खाली भएको विद्यालयमा नयाँ र योग्य शिक्षकबाट पदपूर्ति गर्न थालेपछि सरुवा गर्न राजनीतिक भनसुन हुन थालेको छ । ‘खाली रहेको जुन पदमा विज्ञापन गरेर परीक्षा नै भइसक्यो, त्यही ठाउँमा सरुवा गर्न चलखेल हुन थालेपछि साउन १५ मा मन्त्रालयले यस्तो निर्णय लिनु परेको हो,’ मन्त्रालयका एक अधिकारीले भने, ‘चौतर्फी दबाब आएपछि अन्तर जिल्ला सरुवा नै रोकेको हो ।’

शिक्षक सेवा आयोगले निम्न माध्यमिक र माध्यमिक तहका शिक्षक पदमा गत चैत २४ मा खुल्ला प्रतियोगिताबाट पदपूर्तिका लागि विज्ञापन प्रक्रिया अगाडि बढाइसकेको छ । आयोगबाट सिफारिस भएर आउने योग्य शिक्षकको पदस्थापन कार्यलाई व्यवस्थित गर्न शिक्षक सरुवा रोकेको शिक्षा विभागले जनाएको छ ।

मन्त्रीस्तरीय निर्णय कार्यान्वयन गर्न विभागले ७५ जिल्ला शिक्षा कार्यालय र पाँचै विकास क्षेत्रलाई पत्राचार गरिसकेको छ । विभागको निर्देशनमा भनिएको छ, ‘निम्न माध्यमिक र माध्यमिक तहमा विज्ञापन गरिएका पदमा मात्रै नयाँ शिक्षकको पदस्थापन कार्य समाप्त नहुन्जेलसम्म जिल्लान्तर शिक्षक सरुवा रोक्का गर्न गराउनु हुन मन्त्रीस्तरीय निर्णय अनुसार अनुरोध छ ।’   

प्रतिक्रिया