Edukhabar
आइतबार, ०७ पुस २०८१
खबर/फिचर

महिला शिक्षकले मात्र धानेको विद्यालय

शुक्रबार, २४ भदौ २०७३

भक्तपुर / भक्तपुरमा आधारभूत तहका विद्यालयको संख्या ९९ छ, माध्यमिक विद्यालय समेत गरेर १ सय ३९ विद्यालयहरू सञ्चालनमा छन् । ती विद्यालयहरूमध्ये भक्तपुुर नगरपालिका वडा नं. २ लिवालिविमा एक आधारभूत विद्यालय छ, जहाँ महिला शिक्षकहरू मात्र छन् ।

२०४८ सालमा २५ विद्यार्थीबाट सुरू भएको ब्रह्मायणी प्राथमिक विद्यालयमा अहिले ७२ विद्यार्थी अध्ययन गरिरहेका छन् भने एक आया सहित ७ जना शिक्षकहरू छन् ।

‘जीवना जंगम, तारा जोन्छें, हरिदेवी भण्डारी, इन्दिरा कोइराला, लक्ष्मी श्रेष्ठ, चन्द्रलक्ष्मी धन्छा र आया दिदी, कृष्णश्वरी ज्याख्व र म समेत गरेर हामी ७ जना छौं ।’ विद्यालयका प्रधानाध्यापक तीर्थलक्ष्मी धन्छाले भनिन् ।
सो स्कुलमा दुई वर्ष अघिसम्म एक पुरूष शिक्षक नभएका होइनन्, तर उनको सरूवा भए पछि भने अहिले पूरै स्कुल सम्हाल्ने जिम्मेवारी महिलाहरूको काँधमा आएको छ । उनले महिला शिक्षकहरू मात्र भएकै कारणले अभिभावककहरूले विश्वास गरेको दावी गरिन् । ‘यही विश्वासले एकपटक २५÷३० विद्यार्थीमा सीमित हुन पुगेको विद्यालयमा अहिले विद्यार्थी बढेका छन् ।’  कक्षा १ का विद्यार्थीलाई देखाउँदै प्रअ धन्छाले भनिन् ।

‘बालबालिकाहरू आफ्नो सन्तानको बारेमा बढी ख्याल गर्ने पनि बुवा भन्दा आमा नै हुन्छिन्, यस हिसाबले यहाँ हामी पनि महिला मात्र शिक्षकहरू पाउँदा अभिभावकहरू खुसी छन् ।’ उनको भनाइ छ ।
दैनिक ज्यालादारीमा कामगरी खाने मजदुरका सन्तान र निम्न आय भएका अभिभावकका छोराछोरीहरूको बाहुल्यता भएको उक्त विद्यालय सञ्चालनका लागि महिला शिक्षकहरू नै बढी उपयोगी भएको शिक्षकहरू बताउँछन्, ‘पुरूष शिक्षक भए पनि, नभए पनि फरक परेको छैन’, एक शिक्षक भन्छिन्, महिलाहरू मात्र भए पनि हामीले आफ्नो कर्तव्य पूरा गरिरहेका छौं ।’

शिक्षकाहरूले पुरूष शिक्षकहरूले भन्दा महिला शिक्षकहरूले बाल मनोविज्ञान बुझ्ने स्वभावबाट अभिभावकहरू प्रभावित हुने गरेको जानकारी दिएका छन् । सोही कारण विद्यालयले पनि प्ले गु्रपदेखि कक्षा ५ सम्म नै अंग्रेजी माध्यमबाट पठनपाठन गराउँदै आएको छ । हालै मात्र शैक्षिक गुणस्तर परीक्षण केन्द्रले सिकाइ उपलब्धि सम्बन्धी गरेको एक परीक्षणमा महिला शिक्षकहरुले पढाएका विद्यार्थीको सिकाइ उपलब्धि पनि पुरुष शिक्षकले पढाएकाको भन्दा उच्च रहेको देखिएको छ ।

‘हामीले सबै मिसहरूलाई साढे नौ बजे विद्यालयमा पुग्नैपर्ने नियम बनाएका छौं ।’ प्रअ धन्छाले थपिन्, ‘ त्यो नियमबाट अभिभावकहरू खुसी छन्, र सन्तानलाई स्कुल पठाएका छन् ।
उनले महिला शिक्षकहरू भएकै कारणले विद्यार्थीले सरसफाइ सम्बन्धी र घरका अन्य कामसम्बन्धी व्यवहारिक ज्ञान पाएको प्रतिक्रिया अभिभावकहरूबाट पाएको जानकारी दिँदै पुरूष शिक्षकको अभाव नखट्ेकेको बताइन् ।

२०४८ सालमा सूर्यमढीको ब्रह्मायणी द्योछें (देउता घर) बाट सुरु भएको उक्त विद्यालय महिला शिक्षककै नेतृत्वमा लिवालिमा सरेको थियो । ‘२०६५ सालमा लिवालिविमा ३ आना जग्गा किनेर २०६८ सालमा भवन बनाएको उक्त विद्यालयले अहिले ८ वटा कोठा सहितको दुई तल्ले भवन बनाइसकेको छ ।

प्रतिक्रिया