‘न्याय हराए गोर्खा जानू, विद्या हराए काशी जानू’ भन्ने रामशाहको भनाइले विशेषतः संस्कृत विद्याको खोजीका लागि काशी जाने कुरालाई सङ्केत गरेको हो । पहिले पहिले संस्कृत पढ्ने नेपाली विद्यार्थीहरू धेरै हुन्थे र उच्च शिक्षाको अध्ययन गर्न काशी जानैपथ्र्यो तर नेपालमा २०१६ सालमा त्रिभुवन विश्वविद्यालयको स्थापना भएपछि त्यसकै मातहतमा रहेर संस्कृत अध्ययन संस्थानले संस्कृतको उच्च शिक्षासमेत प्रदान थालेकाले संस्कृतको उच्च शिक्षाकै लागि काशी जाने प्रचलन क्रमशः घट्तै गएको हो ।
२०४३ मंसिर २५ मा ‘नेपालमा संस्कृत शिक्षालाई उच्चतम तहसम्म सुव्यवस्थित गर्ने, संस्कृत विद्याले विविध क्षेत्रमा प्राप्त गर्दै आएका विशेष उपलब्धिहरूलाई समयानुसार अध्ययन, अनुसन्धान, संरक्षण र सम्बर्द्धन गर्ने, परम्परागत धर्म र नैतिक मान्यता, सदाचार र सच्चरित्रताको परिपालना गर्दै नेपाललाई संस्कृत विद्याको ज्ञान र प्रेरणा प्राप्त गर्ने केन्द्रका रूपमा विकास गर्ने’ उद्देश्यले महेन्द्र संस्कृत विश्वविद्यालयको स्थापना भएपछि नयाँ नयाँ क्याम्पसहरूको विस्तारसँगै संस्कृत उच्च शिक्षाले थप गति लिन थालेको हो ।
२०४६ सालको राजनीतिक परिवर्तनपछि मसंविमा पनि राजनीतिले प्रवेश पाउँदै गयो भने २०६२/०६३ को जनआन्दोलनपश्चात् २०६४ पुस ३० देखि महेन्द्र संस्कृत विश्वविद्यालयले नेपाल संस्कृत विश्वविद्यालयको स्वरूप धारण गरेसँगै विश्वविद्यालयका पदाधिकारीहरूको नियुक्तिमा राजनीतिक भागबन्डे संस्कार भित्रिएको हो । विश्वविद्यालयजस्तो प्राज्ञिक क्षेत्रमा पनि राजनीतिक भागबन्डाको संस्कार भित्रिएपछि नेसंवि क्रमशः रुग्ण बन्दै गएको हो ।
दुई हप्ताअघि नेसंविको रिक्त उपकुलपति पदमा नयाँ उपकुलपतिको नियुक्ति भए पनि महिनौंदेखि विश्वविद्यालयको केन्द्रीय कार्यालयको मूल ढोकामा झुन्डिइरहेका पाँच पाँच ओटा तालाहरू अझै खुल्न सकेका छैनन् । २०७१/०७२ आर्थिक वर्षको अन्त्य हुँदा पनि २०७२ जेठदेखि विश्वविद्यालयमा कार्यरत शिक्षक एवम् कर्मचारी आफ्नो मासिक पारिश्रमिक नपाएर भोकभोकै आ आफ्नो काममा संलग्न हुँदै आउनु परेको छ । विश्वविद्यालयमा रिक्त कुलसचिवको पदमा अझै नियुक्ति हुन नसकेका कारण दसैं पेस्कीको त कुरै छाडौं महिनौंदेखिको बाँकी तलबसमेत बझ्न नपाउँदा यसवर्षको दसैं मनाउन नपाइने हो कि भन्ने आशङ्का नेसंविका शिक्षक र कर्मचारीहरूका मनमा उब्जिएको छ ।
संस्कृत विश्वविद्यालय स्थापनाको मूल उद्देश्यबाट विश्वविद्यालय यतिखेर किन विमुख हुँदैछ ? तमसो मा ज्योतिर्मयको संस्कार सिकाउने संस्कृत विश्वविद्यालय नै किन सधैं बन्दका कारण अँध्यारोतिर धकेलिँदै छ ? विश्वविद्यालयलाई सधैं किन खुला राख्न सकिँदैन ?
यी र यस्तै महत्त्वपूर्ण प्रश्नहरूप्रति नेपाल सरकार, विश्वविद्यालयका नवनियुक्त पदाधिकारी र विश्वविद्यालयका प्राध्यापक, कर्मचारी एवम् विद्यार्थीसँग सम्बद्ध विभिन्न दलका भातृ सङ्गठनहरूको समेत गम्भीर ध्यानाकर्षण हुनु जरुरी देखिन्छ ।
प्रतिक्रिया