Edukhabar
मंगलबार, ०१ असोज २०८१
अन्तैवाट

प्लस टु परीक्षा सार्न दबाब

शनिबार, ०९ जेठ २०७२

काठमाडौं ९ जेठ / उच्च मावि शिक्षा परिषदले कक्षा १२ को परीक्षा यही जेठ २० देखि सञ्चालन गर्ने सार्वजनिक गरे पनि उपत्यकाका भूकम्प पीडित विद्यार्थीले आफूहरू मानसिक र शारीरिक रूपमा परीक्षा दिन तयार नरहेको भन्दै असारसम्म सार्न माग गरेका छन् ।

प्लसटु स्वतन्त्र विद्यार्थी आन्दोलनका संयोजक प्रकाश थापाको नेतृत्वमा विद्यार्थीहरूले शुक्रबार पत्रकार सम्मेलन गर्दै भुइँचालोका कारण धेरै विद्यार्थीको घरपरिवारमै क्षति भएकाले तत्काल परीक्षा दिने अवस्था नरहेको जनाए ।

'मेरो घर भत्केको छ । क्षतिपूर्ति माग गर्दै अहिले म वडा तथा सरकारी काममै व्यस्त छु,' बाफलका सबिन श्रेष्ठले नागरिकसँग भने, 'किताब, कापी, नोट केही छैन । यस्तो अवस्थामा परीक्षा दिनै सकिन्न ।'

जेभियर इन्टरनेसनल कलेजका विद्यार्थी श्रेष्ठ थप्छन्, 'परीक्षा असारसम्म सारिनुपर्छ ।' भूकम्प पीडित विद्यार्थीले बिहीबार उपत्यकामा परिषदविरुद्ध नाराबाजी गर्दै ¥याली निकालेका थिए ।

विद्यार्थीहरू आफ्ना परिवारका लागि राहत र पाल जोहो गर्नमै व्यस्त छन् । यस्तो अवस्थामा धेरैले परीक्षाको प्रवेश पत्रसमेत लिएका छैनन् । 'अहिले गाँस, बास, कपास नै धौधौ छ, शुल्क तिरेर एडमिट कार्ड कसरी लिने ?' संयोजक थापाले भने, 'कलेजले शुल्क नलिई एडमिट कार्ड दिँदैन । असारसम्म विद्यार्थीमा त्रास घट्ने र अभिभावकले पनि शुल्क व्यवस्था गर्न प्रयास गर्नेछन् ।'

कीर्तिपुर, खसीबजारका सन्जिल श्रेष्ठ ललितपुरस्थित लिटिल एन्जल्स स्कुलको कक्षा १२ का विद्यार्थी हुन् । वैशााख १२ को महाभूकम्पका कारण उनको घर पूर्ण रूपमा क्षति भयो । उनले कक्षा १२ को अन्तिम परीक्षा तयारी गर्ने किताब, कापीकलम र महतवपूर्ण नोट सबै घरमै पुरिए । हाल उनको परिवारको बास पालमा छ ।

'बुबाआमाको जीवनभरिको कमाइले बनाएको दुईतले घर चर्केपछि सरकारले डोजर लगाएर भत्काइदियो । किताबकापी र अध्ययन गर्ने सबै कुरा घरसँगै पुरिए,' सन्जिलले नागरिकसँग दुखेसो गरे, 'हजुरआमा पनि बिरामी हुनुहुन्छ । म त पढ्न सक्ने मानसिक अवस्थामै छैन ।'

थुप्रै विद्यार्थीको अवस्था श्रेष्ठको जस्तै छ । किताबकापी नभएका कारण परीक्षा राम्ररी तयार गर्नसक्ने अवस्थासमेत छैन । कतिपय विद्यार्थीमा भुइँचालोकै त्रास कायम छ । भक्तपुरका अनुज पोखरेलले परिषदले परीक्षा सञ्चालन मिति तय गरे पनि आफूहरू परीक्षाकेन्द्रसम्म पुग्नसमेत त्रस्त रहेको जनाए । उनी पनि जेठ २० मा सुरु हुने कक्षा १२ को परीक्षाका परीक्षार्थी हुन् ।

परिषदले भने अति प्रभावित ७ जिल्लाबाहेकका अन्य ६८ जिल्लामा कक्षा १२ को परीक्षा तोकिएको समयमै सञ्चालन गरिने जनाएको छ । कक्षा १२ को जेठ २० देखि र ११ को असार १ देखि सञ्चालन गर्ने मिति तय गरी परीक्षा तालिका सार्वजनिक गरेलगत्तै सबै तयारी अघि बढाइएको परिषदको स्पष्टोक्ति छ ।

परिषदले कक्षा १२ को परीक्षाका लागि सबै तयारी अघि बढाइएको जनाएको छ । परिषदका कामु परीक्षा नियन्त्रक सन्तोष अर्यालले परीक्षा सञ्चालन गरिने ६८ जिल्लामध्ये उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुरबाहेकका अन्य जिल्लामा दैवीप्रकोप उद्धार समितिसँग समन्वय गरी केन्द्र तोकिएको जानकारी दिए ।

उपत्यकाका जिल्लाका सवालमा जिल्ला परीक्षा समन्वय समितिसँग सहकार्यमा जिल्ला शिक्षा कार्यालयका प्रतिनिधि, प्राविधिक र परिषद प्रतिनिधिको टोलीले अनुगमन गरी सुरक्षित केन्द्रमा मात्र परीक्षा केन्द्र तोक्ने कार्य अघि बढाइएको पनि उनले जनाए । कक्षा १२ मा ४ लाख ४२ हजार ४ सय ५५ र ११ मा ४ लाख ५४ हजार ७ सय १५ गरी ८ लाख ९७ हजार १ सय ७० परीक्षार्थीले ९ सय २२ परीक्षा केन्द्रबाट परीक्षा दिने उनले बताए ।

भूकम्पबाट अति प्रभावित ७ जिल्ला दोलखा, सिन्धुपाल्चोक, काभ्रे, नुवाकोट, धादिङ, गोर्खा र रामेछापमा हाललाई परिस्थिति सामान्य नहुन्जेल परिषदका सबै परीक्षा स्थगित गरिएको पनि उनले बताए । तर ती जिल्लाले सबै तयारीसाथ परीक्षा सञ्चालन गर्न चाहे जेठ १० भित्र जिल्ला परीक्षा समन्वय समितिको सिफारिसमा परीक्षा सञ्चालन गर्न सकिने परिषदको भनाइ छ । नियन्त्रक अर्यालका अनुसार परीक्षार्थी संख्या बढी भएका कारण परिषदले दोस्रो तलासम्म केन्द्र राख्नेछ ।

'विद्यार्थी सुरक्षाको ख्याल राख्दै सकभर ग्राउन्ड र सकेसम्म चौडा सडक र खुला ठाउँमा रहेका विद्यालयमा केन्द्र तोक्न निर्देशन दिइएको छ,' कामु परीक्षा नियन्त्रक अर्यालले नागरिकसँग भने, '८ लाखभन्दा बढी विद्यार्थीको परीक्षाकेन्द्र तोक्न सबैलाई भुइँतलामा व्यवस्थापन गर्न मुस्किल पर्छ ।'

'परीक्षा केन्द्र सुरक्षित भए र जिल्ला परीक्षा समन्वय समितिले सिफारिस गरे परिषदले १५ दिनअगावै परीक्षा तालिका सार्वजनिक गरी परीक्षा लिनेछ,' उनले भने ।

प्रभावित ७ जिल्लाका कक्षा ११ र १२ का गरी कुल ४६ हजार ७ सय १९ परीक्षार्थीको हाललाई परीक्षा स्थगित गरिएको छ । काठमाडौंबाट कुल १ लाख १४ हजार ५२ विद्यार्थी परीक्षामा सहभागी हुँदैछन् ।

नागरिक दैनिकमा रुवी रौनियारले खबर लेखेकी छन् ।

 

प्रतिक्रिया