Edukhabar
मंगलबार, ०१ असोज २०८१
अन्तैवाट

काठमाडौं नजाने, यतै पढ्छौं : भूकम्पपीडित बालबालिका भन्छन्

शनिबार, ०९ जेठ २०७२

child-mahendranagarकाठमाडौं ९ जेठ / कञ्चनपुरको झलारी पीपलाडी नगरपालिका ७ का १५ वर्षीय रवि महरा २ वर्षअघि काठमाडौं पढ्न गएका थिए । पुष्प सदन स्कुल कीर्तिपुरमा ७ कक्षामा भर्ना भएका उनी यस वर्ष ८ पास भए । वैशाख १२ को महाभूकम्पले त्रसित उनी घर फर्किएका छन् । उनले भूकम्पकै त्रासले महेन्द्रनगरमै पढाइ सुरु गरेका छन् । अब काठमाडौं पढ्न कहिल्यै जान्न उनले भने ।

‘अब यतै पढ्ने तयारी गरेर आएकाले यतै भर्ना भई पढ्न थालिसकेँ,’ स्थानीय सनराइज उमावि कक्षा ९ मा भर्ना भएका रविले भने, ‘मसँगैका धेरै साथी गाउँमै पढ्ने भनेर फर्किसकेका छन् ।’ उनका अनुसार टीकापुर, धनगढी, भैरहवालगायत विभिन्न क्षेत्रका बालबालिका गाउँमै पढ्न थालेका हुन् ।

भूकम्प आएको दिन रवि कीर्तिपुरस्थित आफ्नै कोठामा बसिरहेका थिए । काठमाडौंमा उनी सरकारी जागिरे काका विष्णुको साथ बस्थे । भूकम्पपछि ५ रात उनले कीर्तिपुरमै पालमुनि बिताए । त्यहाँ बस्दा पनि उनलाई भूकम्प आइहाल्छ कि भन्ने डर हट्न सकेन । त्यही डरका कारण वैशाख १७ गते उनी यतै पढ्ने निर्णयसाथ फर्केका हुन् । ‘नयाँ कक्षामा पढाइ सुरु हुने तयारी भइरहेको थियो,’ उनले भने, ‘तर एक दिन पनि स्कुल नगई, साथीभाइलाई समेत भेट्न नपाई फर्किनुपर्‍यो ।’

भीमदत्त नगरपालिका १८ कटानका ११ वर्षीय आयन सिंहलाई त भूकम्पको त्रास हटाउनै मुस्किल परेको छ । रोजबर्ड स्कुल बानेश्वरमा ४ कक्षामा अध्ययन गरिरहेका उनकी आमा भूकम्पमा घाइते भएपछि त्रास अझ बढी देखिन्छ । वैशाख १२ को भूकम्पमा परी आयनसँगै बसोबास गर्ने आमा सिर्जनाको हात–खुट्टा भाँचिनुका साथै टाउकोमा समेत गम्भीर चोट लागेको छ । उनको अहिले काठमाडांैंमै उपचार भइरहेको छ । ‘अब काठमाडौं कहिल्यै जाँदैन,’ सनराइज उमाविमा भर्ना भएका आयनले भने, ‘यतै बसेर पढ्छु ।’

सनराइज उमाविमा मात्रै २० भन्दा बढी बालबालिका काठमाडांैबाट फर्केर भर्ना भएका छन् । यसैगरी यहाँको इन्टरनेसनल उमाविमा पनि १५ जना भूकम्प प्रभावित क्षेत्रबाट आएर पढ्न थालेका छन् । बजार र ग्रामीण क्षेत्रका विद्यालयमा समेत भूकम्प प्रभावित क्षेत्रबाट फर्केका विद्यार्थी भर्ना भएको देखिन्छ । कतिपय २/३ वर्षजति काठमाडौंका स्कुलमा पढिरहेका र यसै वर्ष भर्ना भएका पनि फर्केका छन् ।

भीमदत्त नगरपालिका १८ कटानकी ११ वर्षीया आयुश्मा लेखक यसै वर्ष काठमाडाैंको ज्ञानोदय उमावि भर्ना भएकी थिइन् । ठूलो खर्च लगाएर भर्ना भए पनि भूकम्पको त्रासले उनले त्यहाँ पढ्न मानिनन् ।

लामो समसम्म स्कुल बन्द रहने भएका कारण पनि बालबालिका गाउँमै पढ्ने इच्छा देखाएर फर्किन थालेका हुन् । ‘त्यहाँ एक/डेढ महिनासम्म स्कुल नलाग्ने भएपछि हामी घर फर्किएका हौं,’ काठमाडौं बालुवाटारको एकता इन्टरनेसनलबाट ९ पास गरेकी दीक्षा साउदले भनिन्, ‘पढाइ नबिग्रियोस् भनेर यतै भर्ना भएँ ।’ उनले काठमाडौंमा हजुरबुबा र हजुरआमासँगै बसेर नर्सरीदेखि पढेकी हुन् ।

ती विद्यार्थीमा अझै पनि भूकम्पको त्रास हटिनसकको उनीहरूलाई पढाइरहेका शिक्षक–शिक्षिका बताउँछन् । अन्य बालबालिकाभन्दा प्रभावित क्षेत्रबाट आएका बालबालिकामा पढाइप्रति खासै रुचि नभएको उनीहरू बताउँछन् । ‘उनीहरूको पढाइतिर एकदमै रुचि कम छ, अझै त्रासमै छन्जस्तो लाग्छ,’ सनराइज उमाविकी शिक्षिका पूजा भट्टले भनिन्, ‘भूकम्पबारे कुरा गर्नै रुचाउँदैनन्, अब त्यस ठाउँमा कहिल्यै नजाने उनीहरू भनिरहेका छन् ।’

फोटो : काठमाडौंबाट फर्केर महेन्द्रनगरस्थित एक विद्यालयमा पढ्न थालेका बालबालिका ।

कान्तिपुर दैनिकमा भवानी भट्टले खबर लेखेका छन् ।

http://www.ekantipur.com/np/2072/2/9/full-story/409508.html

प्रतिक्रिया