Edukhabar
मंगलबार, ०१ असोज २०८१
अन्तैवाट

जेठ १७ बाट स्कुल : 'पहिले शिक्षककै मनोबल बढाउन जरुरी'

सोमबार, ११ जेठ २०७२

काठमाडौं ११ जेठ / 'घरमा अभिभावक डराउने, स्कुलमा शिक्षक डराउने, यस्तोमा जेठ १७ देखि स्कुल बोलाइएका विद्यार्थीलाई चाहिँ नडराईकन पढ भनेर कसले भन्न सक्छ', शिक्षा कार्यालय काभ्रेमा आइतबारको छलफलको विषयवस्तु नै यही बन्यो ।

वैशाख १२ को विनाशकारी भूकम्प र त्यसपछिको ठूलो पराकम्पनले अझैसम्म गाउँबस्तीमा त्रास घट्न सकेको छैन । शिक्षा कार्यालयमा दिनहुँजसो जेठ १७ देखि स्कुल सञ्चालन गर्ने सरकारी निर्णय कसरी कार्यान्वयन गर्ने भन्नेमा छलफल चलिरहन्छ ।

'जेठ १७ देखि नै पढाइ सुरु गरिहाल्न सकिन्न किनकि शिक्षकमा समेत त्रास कायमै छ । यसलाई पूर्ण रूपमा नहटाएसम्म पठनपाठन नियमित गर्न असम्भव छ,' सहायक जिल्ला शिक्षा अधिकारी दिनेश न्यौपानेले भने । सुरुका केही हप्तामा किताबी कुराभन्दा पनि त्रास भुलाउन बालगीत, लोकगीत, नाचगान, कथा, कविता, सरसफाइका तरिकाजस्ता क्रियाकलापमा जोड दिनुपर्ने उनको भनाइ छ ।

काभ्रेका अधिकांश शिक्षक स्थानीय नै रहेको र उनीहरू पनि भूकम्प प्रभावित रहेको नेपाल शिक्षक संघका अध्यक्ष अश्विन चौलागाईं बताउँछन् । '८० प्रतिशत शिक्षकका घर भत्किएका छन् । परिवारका कोही न कोही घाइते छन् । शिक्षकको आत्मबल नबढेसम्म शिक्षण सिकाइ प्रक्रिया प्रभावकारी बन्दैन,' चौलागाईंले थपे ।

पहिलो चरणमा शिक्षकको आत्मबल बढाउने, त्यसपछि अभिभावकसँगै विद्यार्थीलाई मनोविमर्शमार्फत भयमुक्त वातावरण बनाउनुपर्ने स्रोतव्यक्ति समाजका अध्यक्ष महेश्वर जंगमको भनाइ छ ।

'तत्काल वैशाख ११ अघिकै शिक्षण क्रियाकलाप सम्भव नभए पनि बालबालिकालाई विद्यार्थीलाई विद्यालय सञ्चालन भएको अनुभूति दिलाउने क्रियाकलाप भने अघि बढाउन सकिन्छ,' जंगमले भने ।

उता, कार्यालयका अनुसार शैक्षिक जनशक्ति विकास केन्द्रले समेत क्षेत्रगत तालिम आयोजना गर्दै शिक्षकलाई विद्यार्थीलाई परामर्श दिन सक्षम बनाउने योजना अघि सारेको छ । यस्तै, काभ्रेमा सिविसले समेत शिक्षकहरूलाई मनोसामाजिक परामर्श दिने योजना राखेको छ । 'यस्ता तालिमबाट शिक्षकको मनोबल बढेपछि उनीहरूले विद्यार्थीमा व्याप्त त्रास हटाउन सक्छन्', सहायक जिशिअ न्यौपानेले भने ।

वैशाख १२ को भूकम्प र शक्तिशाली पराकम्पनले जिल्लाका ५ सय ९० सामुदायिक विद्यालयमध्ये ९९ वटामा पूर्ण क्षति भएको जिल्ला शिक्षा कार्यालयको प्रारम्भिक तथ्यांक छ । ती विद्यालयका १ हजार ५ सय ७१ कक्षाकोठा पूर्ण क्षति र १ हजार ९ सय २२ वटा कक्षाकोठामा सामान्य क्षति छ ।

यतिखेर शिक्षा विभाग र शिक्षा कार्यालयका अधिकृत तथा प्राविधिक सम्मिलित १० वटा टोली गाउँगाउँ खटिएका छन् । 'टोलीले विद्यालयको भौतिक तथा आर्थिक क्षतिको यकिन विवरणसहितको प्रतिवेदन बनाउँछ जसले आगामी योजना बनाउन सजिलो हुन्छ', शिक्षाका कार्यक्रम अधिकृत बालकृष्ण सिंखडाले जानकारी दिए ।

तत्कालै कक्षा सञ्चालन गर्न समस्या भएका ९९ वटा स्कुलमा कम्तीमा १ सय २५ वटा अस्थायी सिकाइ केन्द्र (टिएलसी) बनाउनुपर्ने आवश्यकता रहेको जिल्ला शिक्षा समिति अध्यक्ष एवं स्थानीय विकास अधिकारी चिरञ्जीवी तिम्सिनाको भनाइ छ ।

निजी पनि तयार
काभ्रेका निजी स्कुल सञ्चालक पनि जेठ १७ गतेबाट कक्षा सञ्चालनको तयारीमा जुटेका छन् । पहिलो एक हप्ता पठनपाठनभन्दा पनि शिक्षक र विद्यार्थीमा रहेको त्रासलाई हटाउन विभिन्न क्रियाकलाप, तालिम तथा प्रशिक्षणको योजना बनाएका छन् ।

'लामो समयपछि विद्यार्थीलाई स्कुलसम्म आउने वातावरण तयार पार्नु नै मुख्य काम हो । उनीहरूलाई पूर्ववत् अवस्थामा फर्काउन विभिन्न क्रियाकलाप आयोजना गर्छौं । यसमा नाचगान, खेलकुदलगायत कार्यलाई प्राथमिकता दिइनेछ । शिक्षकलाई समेत मनोविमर्शलगायतका तालिम दिन्छौं', प्याब्सन काभ्रेका पूर्वअध्यक्ष एवं विद्यासागर स्कूलका प्रिन्सिपल हिरा शर्मा नेपालले भने । ग्रामीण भेगका निजी स्कुलमा बढी क्षति भएकाले अस्थायी कक्षाका लागि टेन्ट र अन्य सामग्री सहयोग गर्न लागिएको पनि उनले जानकारी दिए ।

फोटोः जिल्लाकै पुरानो सञ्जीवनी उच्चमावि, धुलिखेलको साइन्स ब्लक, बाहिरबाट हेर्दा केही नदेखिए पनि भित्री भागमा जताततै चर्केको र भत्किएको छ ।

यस्तै, देवीटार गाविसको देवीस्थान निमाविको भवन बाहिर केही नभएको देखिए पनि भित्री भागमा जताततै चर्केको र भत्किएको छ ।

नागरिक दैनिकमा  दैनिकमा मधुसुधन गुरागाईंले लेखेका छन् ।

प्रतिक्रिया