Edukhabar
मंगलबार, ०१ असोज २०८१
अन्तैवाट

भवन चर्किएपछि त्रिपालमुनि पढाइ

सोमबार, ११ जेठ २०७२

काठमाडौं ११ जेठ / भूकम्पबाट भवन क्षतिग्रस्त भएपछि रेसुंगा नगरपालिका–११, सिमिचौर गुल्मी स्थित सरस्वती प्राविले त्रिपालमुनि कक्षा सञ्चालन गरिरहेको छ । छकोठे भवन 'काम नलाग्ने' गरी चर्किएपछि रेडक्रसले उपलब्ध गराएको त्रिपालमुनि कक्षा सञ्चालन गरिरहेको विद्यालयले जनाएको छ ।

भूकम्पको त्रासले शिक्षक र विद्यार्थीले चर्किएको भवन बस्न नमानेको प्रधानाध्यापक शारदा थापाले बताउन् । 'वैशाख २९ को पराकम्पनले विद्यालयभवन काम नलाग्ने गरी चर्किएको छ,' उनले भनिन्, 'रेडक्रसले उपलब्ध गराएको त्रिपालमुनि तीनवटै कक्षा सञ्चालन गरिरहेका छौं ।' कक्षा ३ सम्म पठनपाठन हुने उक्त विद्यालयमा ३० विद्यार्थी छन् ।

वर्षायाममा त्रिपालमुनि पठनपाठन गर्न समस्या हुने चिन्ता प्रअ थापा दर्साउँछिन् । 'भूकम्पको त्रासका कारण कतिपय विद्यार्थी विद्यालय आएका छैनन्,' उनले भनिन्, 'भवन पुनर्निर्माणका लागि सम्बन्धित निकायमा पत्राचार गरिसकिएको छ ।' उक्त विद्यालय अढाई दशकअघि स्थापना भएको हो ।

दरबार देवीस्थान गाविसस्थित गंगा निमाविको आठकोठे भवन पनि भूकम्पबाट क्षतिग्रस्त छ । भवन चर्किएपछि उक्त विद्यालयले पनि त्रिपालमुनि कक्षा सञ्चालन गरिरहेको छ । 'भवन चर्किएपछि त्रिपालमुनि कक्षा सञ्चालन गरिरहेका छौं,' प्रधानाध्यापक रामबहादुर थापाले भने, 'अहिले त जेनतेन चलेको छ तर वर्षायाममा पढाउन कठिन देखिन्छ ।' उनका अनुसार रेडक्रसले उपलब्ध गराएको र विद्यालयले खरिद गरेको त्रिपाल टाँगेर पठनपाठन सञ्चालन भइरहेको छ । भूकम्पबाट विद्यालय भवन क्षतिग्रस्त भएपछि विद्यार्थीमा मनोवैज्ञानिक असर परेको थापा बताउँछन् । 'विद्यालय परिसरमा त्रिपाल टाँगेर आज (आइतबार) बाट पढाइ सञ्चालन गरेका छौं,' उनले भने, 'यसअघि बालबालिकाको डर भगाउन रमाइलो गरी बितायौं ।'

भूकम्पले जिल्लाका १ सय ७१ विद्यालयमा क्षति पु¥याएको छ । रानीबासस्थित जनबोध उमावि, बडागाउँस्थित पृथ्वी उमावि र शारदा माविमा पनि बढी क्षति भएको छ । क्षतिग्रस्त विद्यालयको विवरण संकलन गर्ने काम भइरहेको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । कार्यालयका अनुसार विवरण संकलन गर्ने कार्य एक हप्ता अझै सञ्चालन हुनेछ । 'भूकम्पबाट क्षतिग्रस्त जिल्लाका पाँच दर्जन विद्यालयले त्रिपालमुनि र खुला चौरमा कक्षा सञ्चालन गरिरहेका छन्,' जिल्ला शिक्षा अधिकारी डा. भोजराज शर्मा काफ्लेले भने, 'हालसम्म जिल्लाका १ सय ७१ विद्यालयमा क्षति भएको विवरण छ ।' जिल्लाका पाँच दर्जन विद्यालय बस्नै नमिल्ने गरी क्षतिग्रस्त छन् ।

शिक्षा विभागले पछि शोधभर्ना गर्ने गरी अरू निर्माण आयोजनाको रकम पुनर्निर्माणमा खर्च गर्न परिपत्र गरे पनि जिल्लामा त्यस्तो रकम पनि लगभग सकिइसकेको जिशिअ शर्माले जानकारी दिए । 'प्रहरी÷गाविस, नगरपालिकाको विवरणलाई आधार मानी विद्यालयको क्षति पहिचान गर्न समस्या देखिएको छ,' उनले भने, 'त्यसैले अधिकांश विद्यालयमा प्राविधिक टोली पठाएका छौं ।' सबै ठाउँमा प्राविधिक पठाउन पनि समस्या देखिएको बताउँदै उनले जस्तापाता उपलब्ध भए क्षतिग्रस्त विद्यालय श्रमदानबाट निर्माण गर्न सकिने विकल्प अघि सारे ।

जिल्ला विपद व्यवस्थापन समितिले विद्यालयलाई जस्तापाता उपलब्ध गराउने बताए पनि अहिलेसम्म दिएको छैन । शिक्षा मन्त्रालयले तत्काल विद्यालय वर्गीकरण गरी रकम उपलब्ध गराउने जनाएपछि जिल्लाबाट विद्यालयलाई दिन खोजिएको सहयोग रोकिएको प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैरेले बताए । क्षतिग्रस्त विद्यालयलाई तत्काल सहयोग गरिने उनी बताउँछन् ।

नागरिक दैनिकमा  दैनिकमा विशाल भट्टराईले लेखेका छन् ।

प्रतिक्रिया