Edukhabar
विहीबार, ०३ असोज २०८१
अन्तैवाट

भवन टालटुलभन्दा टहरा सुरक्षित

शनिबार, १६ जेठ २०७२

schoolकाठमाडौ १६ जेठ / शिक्षा मन्त्रालयले आइतबारदेखि शैक्षिक कार्यक्रम सुरु गर्ने निर्णय गरेको छ। यसअनुसार विद्यालय खोल्ने तयारी तीव्र पारिएको छ। आफ्नो निर्णय कार्यान्वयन गर्न मन्त्रालयले सचिव, सहसचिवको नेतृत्वमा विद्यालयको अनुगमनलाई तीव्रता दिएको छ।

सामुदायिक विद्यालयलाई अस्थायी सिकाइ केन्द्र निर्माण गर्न बजेटको समेत व्यवस्था गरेको छ। दाताको लगानीमा समेत धमाधम सिकाइ केन्द्र बनिरहेका छन्। सामुदायिक विद्यालय कसरी हुन्छ धेरै क्षति देखाएर बजेट ल्याउन लागिपरेका छन्। निजी विद्यालय भने विद्यार्थी घट्ने डरले चर्के, भत्केको भवन टालटुल गर्न व्यस्त छन्। सामुदायिक विद्यालयका शिक्षक पुरानो भवन मर्मत सम्भार गर्नुपर्ने भनी रातो स्टिकर लगाइदिए हुन्थ्यो भन्ने ध्याउन्नमा छन्। त्यसैले सामान्य चर्केको भवनमा पनि रातो स्टिकर लगाइएको छ। निजी विद्यालयमा शिक्षा कार्यालयका प्राविधिक आउनुभन्दा अघि नै टालटुल गरेर रङरोगन गरिसकेका छन्। ‘कसैलाई प्रवेश नदिई गुपचुपमा मर्मत गर्दा विद्यालयको गतिविधिमा शंका देखिन्छ,’ शिक्षा मन्त्रालयका प्रवक्ता हरिप्रसाद लम्सालले भने,‘सार्वजनिक स्थल सबैका लागि खुला हो। भित्रभित्रै मर्मत सम्भार गर्नु गैरजिम्मेवार कार्य हो। यसले आफैंलाई हानि पुर्‍याउँछ।’

यस्ता विद्यालय मर्मत सम्भार गरेर जोखिम उठाउनुको सट्टा जस्ताको छानो हालेर छाप्रोमा पढाउन सकिने उनको सुझाव छ। निजी विद्यालयको छाता संगठन प्याब्सनले सरकारसँग टेन्ट माग गरेको थियो। त्यसअनुसार शिक्षा मन्त्रालयले केन्द्रीय दैवीप्रकोप उद्धार समितिलाई सिफारिस गरिसकेको उनले बताए। प्याब्सनका अध्यक्ष लक्ष्यबहादुर केसीले सरकारले निजी विद्यालयलाई सरकारले सहयोग नगरेको बताए।

कतैबाट सहयोग नपाए पनि आफ्नो क्षमताअनुसार अस्थायी व्यवस्था गर्न आबद्ध संस्थाहरूलाई आग्रह गरेको छ। बाँसको कप्टेराबाट पनि अस्थायी संरचना बनाउन सकिन्छ। ५० हजारमा एउटा कक्षा बनाउन सकिने जानकारहरू बताउँछन्। समता नेपालले राजधानीका विभिन्न ठाउँमा बनाइएका बाँसको संरचनामा भूकम्पपछि सुरक्षित आश्रय लिने सर्वसाधारण धेरै थिए। ‘अब अग्लो भवन भएको विद्यालयभन्दा बाँसले बारबेर गरेको छाप्रोमा पढाउन उचित लाग्यो,’आश्रय लिएर बसेका रामेश्वर बस्नेतले भने। भवन भत्किएका सामुदायिक विद्यालयलाई दाताले ७० हजारमा दुई वटा कक्षा चलाउन मिल्ने अस्थायी सिकाइ केन्द्र निर्माण गरिरहेका छन्।

‘खुला चौर भएका विद्यालयलाई तत्काल अस्थायी सिकाइ केन्द्र बनाउन किन हिचकिचावट भएको होला?’ शिक्षाविद् विद्यानाथ कोइरालाले भने,‘अब अभिभावकको रोजाइ अग्लो भवन हुने छैन। भूकम्प प्रतिरोधी होचा भवन सबैले रोज्नेछन्।’ भवन भत्किँदा ज्यानै जाने खतरा हुन्छ। छाप्रोले समान्य घाइते मात्रै हुने भन्दै अभिभावकको रोजाइ यतातिर आकर्षित भएको हो। विद्यालय छनोट गर्दा पनि कति तलाको भवन भन्ने सोध्न थालेका छन्।

पूर्ण क्षति भएको, रातो स्टिकर लागेको र भित्री कक्षा चर्केको विद्यालयले तत्काल टहरा बनाउन सक्ने कोइरालाले बताए। भाडाको घरमा विद्यालय सञ्चालन गरेको भए पायक पर्ने ठाउँमा बनाउन सकिने उनको सुझाव छ। ‘ठाउँ नहुने स्कुलले जहाँ ठाउँ छ त्यही पढाउने व्यवस्था गर्न सक्छन्,’उनले भने,‘पहिला विद्यार्थीलाई गाडीमा राखेर स्कुल ल्याइन्थ्यो भने अब शिक्षक गएर टोलटोलमा अस्थायी टहरा बनाएर पढाउन सक्छन्।’ यसले अभिभावकलाई पनि आफ्नो छोराछोरी नजिक भएकाले सुरक्षित रहेको महसुस गर्न सक्छन्। यस्तो कक्षा चलाउँदा एक दिनमा सबै विषय पढाउनुपर्छ भन्ने हुँदैन। एक ठाउँमा नेपाली, अर्कोमा सामाजिक, विज्ञान पढाउन सकिने उनको सुझाव छ।

त्यस्तै प्रविधि र मिडिया प्रयोग गरेर पनि पढाउन सकिन्छ। अनलाइनमार्फत घरमा बसेर पढाउने व्यवस्था गर्न सकिने कोइरालाले बताए। रेडियो र टीभीमार्फत पढाउँदा पनि तत्काल फलदायी हुने उनले बताए। ‘चर्केको भवनमा जबर्जस्ती पढाउनुभन्दा यस्ता विकल्प सोच्नुपर्छ,’उनले भने,‘भवन छैन भनेर बन्द गर्नु हुँदैन। अनेक उपाय सोच्नुपर्छ।’

शिक्षा मन्त्रालयले चर्किएको भवनमा रेक्ट्रोफिटिङ गरेर पनि सुरक्षित बनाउन सकिने जनाएको छ।

ललितपुरका शिक्षा अधिकारी शिवकुमार सापकोटाले चर्के, भत्केको विद्यालयमा छोराछोरी पढाउन अभिभावक मानसिक रूपमा तयार नभएको बताए। यसको विकल्पमा कटेज मोडलको विद्यालय बनाउन ढिलाइ गर्न नहुने उनको सुझाव छ। ‘ग्रिन स्टिकर लगाएर जस्तोसुकै सुरक्षित भए पनि अग्लो भवनमा लगेर आफ्ना छोराछोरी पढाउन कोही तयार छैनन्,’उनले भने,‘आफ्नै घरको माथिल्लो तलामा जान नमान्ने बालबालिका स्कुलमा झन् जाँदैनन्। कटेज मोडल कम खर्चिलो र सुरक्षित हुन्छ।’

असुरक्षित अग्लो भवन बनाउदा त्यसको भार अभिभावकले ब्यहोर्नुपरेको छ। निजी विद्यालयले भवन बनाउन लाग्ने खर्चबापत अभिभावकसँग चर्को शुल्क असुल्ने गरेका छन्। कम खर्चिला भवन बनाएर कम शुल्क लिएर पढाउन सकिन्छ। ‘असुरक्षित भवनमा पढाउने हो भने अभिभावकले विकल्प खोज्न थाल्छन्,’सापकोटाले भने,‘सानो एकतले कटेजमा विद्यार्थीको आकर्षण बढ्नेछ।’

कान्तिपुरबाट

प्रतिक्रिया