Edukhabar
विहीबार, ०३ असोज २०८१
अन्तैवाट

नियम मिचेर प्रधानाध्यापक

शनिबार, १६ जेठ २०७२

काठमाडौं १६ जेठ / सुर्खेतको अवलचिङस्थित भैरव उच्च माविले शिक्षा नियमावलीविपरीत प्रधानाध्यापक नियुक्त गरेको पाइएको छ। विद्यालय व्यवस्थापन समितिले वरिष्ठताको नियम कुल्चँदै कनिष्ठ शिक्षकलाई निमित्त प्रधानाध्यापकको जिम्मेवारी तोकेको हो।

समितिको निर्णयविरुद्ध वरिष्ठ शिक्षक तारा बुढाले विद्यालय व्यवस्थापन समिति, जिल्ला शिक्षा कार्यालय र जिल्ला प्रशासन कार्यालयमा उजुरी दिइन्। तर, विद्यालय व्यवस्थापन समितिले नियमन गर्ने निकाय जिल्ला शिक्षा कार्यालयको निर्देशनसमेत टेेरेको छैन। ‘नियम मिचेर गरिएको निर्णय बदर गर्न जिशिकाले निर्देशन दिँदासमेत कार्यान्वयन हुँदैन भने न्याय खोज्दै कहाँ जाने?’ बुढाले भनिन्, ‘यस्तो अवस्थामा कानुन मिच्नेलाई कसले कारबाही गर्ने?’

मावि तृतीय तहकी बुढा निमित्तको जिम्मेवारी पाएकी शिक्षिका विमलाकुमारी रेग्मीभन्दा चार महिनाले वरिष्ठ हुन्। विद्यालयले रेग्मीलाई गत चैत २४ गते निमित्तको जिम्मेवारी सुम्पेको थियो जति बेला उनी शिक्षक सेवा आयोगको परीक्षण अवधिमै थिइन्।

शिक्षा नियमावलीको दफा ९३ (१२) मा स्पष्ट लेखिएको छ– ‘सामुदायिक विद्यालयमा प्रधानाध्यापक अनुपस्थित भएमा वा कुनै कारणले प्रधानाध्यापकको पद रिक्त भएमा प्रधानाध्यापक उपस्थित नभएसम्म वा प्रधानाध्यापकको पदपूर्ति नभएसम्मका लागि सो विद्यालयमा कार्यरत शिक्षकमध्ये वरिष्ठतम स्थायी शिक्षकले निमित्त प्रधानाध्यापक भई काम गर्नेछ।’

वरिष्ठ शिक्षक हुँदाहुँदै परीक्षणकालमा रहेकी कनिष्ठ शिक्षिकालाई निमित्तको जिम्मेवारी दिएपछि बुढाको संयोजकत्वमा विद्यालयमा कार्यरत १० जना शिक्षकले संघर्ष समिति बनाई आन्दोलन गरिरहेका छन्। ‘विद्यालयमा विधिविधान मिचेर अघि बढ्ने अनि नियम कार्यान्वयन गर्न लगाउने माथिल्लो निकायको निर्देशनसमेत अवज्ञा गर्नु लाजमर्दो अवस्था हो?,’ शिक्षक जगतजंग रानाले भने, ‘हामी गलत काम नसच्चिएसम्म आन्दोलन फिर्ता लिँदैनौं।’

जिशिकाले वैशाख ९ गते विद्यालयलाई पत्राचार गर्दै ‘शिक्षा नियमावली २०५९ को नियम ९३ बमोजिम प्रअ व्यवस्थापन गरी पुनः ताकेता गर्न नपर्ने गरी यस कार्यालयमा जानकारी गराउन’ निर्देशन दिएको थियो।

विद्यालय व्यवस्थापन समितिले भने वैशाख २३ गते उक्त निर्देशनलाई ठाडै चुनौती दियो। बैठकको निर्णय नं. २ मा लेखिएको छ, ‘जिशिकाले प्रअ नियुक्तिका लागि ताकेतापत्र पठाए पनि यस विव्यस भैरव उमावि अवलचिङले सो पत्रअनुसार निर्णय नगर्ने भनी आज बसेको बैठकले निर्णय पारित गरियो।’

यस विषयमा जानकारी लिन खोज्दा विद्यालय व्यवस्थापन समिति अध्यक्ष हर्कबहादुर रानासँग सम्पर्क हुन सकेन। समिति सदस्य नरबहादुर रानाले बहुमतको निर्णयअनुसार रेग्मीलाई निमित्तको जिम्मेवारी दिइएको बताए। ‘बैठकले बहुमतले गरेको निर्णय हो, शिक्षा कार्यालयले भन्दैमा हामी बदर गर्दैनौं,’ उनले भने।

अख्तियार दुरुपयोग अनुन्धान आयोग मध्यपश्चिम क्षेत्रीय कार्यालयका प्रवक्ता जंगबहादुर डाँगी यस्तो कार्य गर्ने पदाधिकारीलाई ऐनको दफा ३ मा उल्लिखित अनुचित कार्य गरेको र जिम्मेवारीभन्दा बाहिर गएर काम गरेको अभियोगमा दण्डसजाय हुने बताउँछन्। ‘जिल्ला शिक्षा कार्यालयले समेत विद्यालयले निर्देशन कार्यान्वयन गरेन भनेर चुप लागेर बस्न मिल्दैन,’ उनले भने, ‘गलत निर्णय बदर गरी कानुनअनुसार काम गराउनुपर्छ।’

निर्णयकर्ता अध्यक्ष नै ‘अवैधानिक’

भैरव उमाविमा नियम मिचेर प्रअ नियुक्ति गर्ने विद्यालय व्यवस्थापन समिति अध्यक्ष हर्कबहादुर राना नै अवैध भएको खुलासा भएको छ। २०७० वैशाख १० गते आफ्नो छोरालाई कक्षा ८ मा भर्ना गरी उनी त्यसको चार दिनपछि (वैशाख १४ गते) अध्यक्ष चुनिएका थिए। तर, उनका छोरा विद्यालयमा कहिल्यै हाजिर भएनन्। विद्यालयको हाजिरी रजिस्टरमा उनका छोरा कहिल्यै हाजिर भएको देखिँदैन। उनी अहिले सदरमुकाम वीरेन्द्रनगरस्थित उषा बालवाटिका उमाविमा कक्षा १० मा अध्ययनरत छन्।

शिक्षा विभागले २०७० जेठ २ गते ७५ वटै जिल्ला शिक्षा कार्यालयलाई गरेको निर्देशनमा नक्कली अभिभावक भए तत्काल जिशिकाले विव्यवसबाट हटाउने उल्लेख गरेको छ। विभागले एसएलसी वा १२ कक्षा उत्तीर्ण गरेर बाहिरिएका विद्यार्थीका अभिभावकलाई समेत विव्यसबाट हटाउन कडा परिपत्र गरेको थियो।

नागरिकबाट

प्रतिक्रिया