डा. तारालाल श्रेष्ठ
भूकम्प प्रभावित गाउँका घर मात्रै होइन, स्कुल पनि विरलै सद्धे छन्। धनजनको मात्रै होइन, विद्यार्थीको मनोवैज्ञानिक क्षतिसमेत मापन गरिसाध्य छैन। धरोहरासँगै विद्यार्थीको इच्छाशक्ति पनि ढलेका छन्। अब आम अभिभावक, शिक्षक र सचेत समुदाय अनौपचारिक मनोवैज्ञानिक परामर्शदाता बन्नुपर्छ। तामाका मुनाजस्ता कलिला बालबालिकालाई भन्नुपर्छ, भूकम्पपछिका यथार्थ कथा। विश्वजगत्ले योभन्दा धेरै ठूला विपत्ति सामना गरेका सत्य कथा प्रशस्तै छन्। छिमेकी पाकिस्तानमा सन् २००५ र चीनमा सन् २००८ मा गएको भूकम्पले नेपालको अहिलेभन्दा धेरै बढी धनजनको विनाश गरेको थियो। वीभत्स उत्सव मनाउने सामाजिक सञ्जालले नसमेटेका सकारात्मक पाटालाई प्रस्तुत गर्दै तत्कालै बालबालिकाको मनोबल बलियो पार्ने कलाकारिता हामीले सिक्नैपर्छ।
शिक्षा विभागले भूकम्पका कारण ४९ जिल्लाका १९ हजार २ सय ८९ मध्ये ६ हजार ९ सय २ विद्यालय प्रभावित भएको तथ्यांक प्रस्तुत गर्यो, जसमध्ये १६ हजार ४ सय ७५ कक्षाकोठामा पूर्ण क्षति र ७ हजार २ सय ६६ मा अधिक क्षति भएको रिपोर्ट छ। १२ हजार ६ सय १३ कक्षाकोठामा भने सामान्य क्षति भएको छ। पर्खाल, शौचालय, खानेपानीलगायत संरचनामा भएको क्षति उस्तै छ। सार्वजनिक र निजी गरी देशभरको झन्डै ३४ हजार विद्यालयमध्ये अधिकांश भवन भूकम्प प्रतिरोधात्मक थिएनन्। निकै थोरै विद्यालय नयाँ मापदण्डअनुरूप मर्मतका क्रममा रेट्रोफिटिङ गरिएका थिए। हामीले हाम्रा बालबालिकालाई सबै स्कुल ध्वस्त भएका होइनन्, २७ हजार स्कुल र ६० जिल्ला सकुशल छन् भन्ने सन्देश दिनुपर्छ। विश्वका हाल विकसित मुलुकले पनि इतिहासमा झेलेका कठिन परिस्थितिलाई जितेर कसरी अगाडि बढ्न सफल भयो भन्ने उदाहरण दिँदै विद्यार्थीको मनोबल बढाउनुपर्छ। विश्वजगत्मा भूकम्पले तहसनहस पारेपछि कसरी छिट्टै विद्यालय तथा अन्य संरचनाको सफल व्यवस्थापन र पुनर्निर्माण गरिएको थियो भन्ने नमुना पेस गर्न सकिन्छ। हाइटी होइन, गुजरात र जापानको भूकम्पपछिको पुनर्निर्माण नमुना व्यवहारमै लागू गर्ने तत्परता हरतप्काबाट देखाउनुपर्छ।
भत्किएका (विश्व) विद्यालयको पुनर्निर्माणका लागि आर्थिकका साथै अथाह श्रमदान र सक्रियता चाहिन्छ। विद्यालयका लागि कम्तीमा ३ अर्ब र विश्वविद्यालय पुनर्निर्माणका लागि १ अर्ब ५० करोड रुपैयाँ लाग्ने अनुमान छ। भूकम्पबाट क्षतिग्रस्त्र विद्यालयमा १२ हजार अस्थायी सिकाइ केन्द्र (टीएलसी) कक्षाकोठा निर्माण गर्ने मन्त्रालयको परिकल्पनाले मूर्तरूप कहिले लिने हो यसै भन्न सकिन्न। हजारौं विद्यार्थी भार बोकेका विशाल विद्यालय हेर्दै यमराजझैं उभिएका देखिन्छन्। अनगिन्ती विद्यार्थी भार बोकेको विद्यालयभन्दा थोरै संख्या विद्यार्थी भएका साना विद्यालय बढी सुरक्षित र व्यवस्थित हुनेमा दुईमत छैन। सकारात्मक ऊर्जा भर्न सकिएमा थोरै आर्थिक सहयोगमै श्रमदानबाट छिट्टै भत्किएका विद्यालयको पुनर्निर्माण गर्न सकिन्छ। सामूहिक श्रमदानको शक्तिलाई कम आँक्नु हुन्न। यसले संरचनासँगै भत्किएका निराश मनलाई पनि जोड्न मद्धत गर्छ। बिरक्तिएर निष्क्रिय बसेका सक्रिय जनशक्तिलाई समाजसेवामा समर्पित गर्ने आशावादी नेतृत्व अहिलेको आवश्यकता हो। जति बढी व्यक्तिवादी बन्दै गएको देखिए पनि अन्तत: मानिस सामाजिक प्राणी नै हो। आफ्ना लागि महिनाको २९ दिन काम गरौं, कम्तीमा १ दिन समाजसेवा गरौं, अझ सकेसम्म हप्ताको १ दिन समाजसेवामा सक्रिय जनसंख्यालाई समर्पित गर्ने भिजनरी नेतृत्व आजको विपत्कालीन समयको माग हो। व्यक्तिगत घर सँगसँगै (विश्व) विद्यालयको पुनर्निर्माण अपरिहार्य छ। न त घरबिना प्राचीन मानिस आफूलाई सुरक्षित ठान्थे न आधुनिक मानिस नै घरबिनाको जीवन कल्पना गर्न सक्छन्। न आजका मानिस (विश्व) विद्यालयविहीन जीवनको नै । हो, नेपाली समाज अहिले अशान्त छ। मनोविज्ञान हतास र निराश छ।
आफ्नै स्कुलको पुननिर्माणमा सारा शिक्षक र विद्यार्थी श्रमदान गर्दै सरकारसँग हातेमालो गर्ने माहोल बनाउन सकिन्छ। विपत्तिमा हामी सशक्त, सन्तुलित र समाजप्रति समर्पित हुनैपर्छ। झन्डै १० लाख बालबालिकालाई पहिले सकेसम्म छिट्टै स्कुल पठाउने वातावरण तय गर्ने जिम्मा सरकारको जत्तिकै हाम्रो पनि हो। सिन्धुपाल्चोक, गोरखा र नुवाकोटमा ९० प्रतिशत स्कुल भवन भत्किएका छन् भने धादिङका ८० प्रतिशत भवन भत्किएको तथ्य छ। कम क्षतिग्रस्त जिल्लाबाट ती जिल्लामा स्वयंसेवक परिचालन गर्न सकिन्छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय र यसअन्तर्गतका निकाय, आंगिक क्याम्पससमेत क्षतिग्रस्त छन् । त्रिविले जेठ २१ गतेसम्म बर्खेबिदा समेतबाट कट्टा हुनेगरी पठनपाठन बन्द गरेको छ भने शिक्षा मन्त्रालयले जेठ १ गतेबाट चालु गर्ने भनिएको स्कुल मंगलबारको भूकम्पपछि थप दुई हप्ता बन्द गरेको हो। साना नानीहरूका मनमा रहेका डरत्रास हटाउन कस्ता प्रभावकारी अभिनयकला थेरापी प्रयोग गर्ने हो आम शिक्षक अभिभावक स्पष्ट छैनन्। शिक्षा मन्त्रालयसँग समन्वय गरी लामो बिदामा बसेका आफ्ना शिक्षक–विद्यार्थीलाई पुनर्निर्माणमा परिचालन गर्न सक्नुपर्छ। हामी जुट्न सक्छौं, उठ्न सक्छौं भन्ने चेतना बालबालिकाको मनमस्तिष्कभित्र भर्ने हामीले नै हो।
सक्रिय युवामा जसरी अहिले आफ्नो मुलुकप्रति वितृष्णा छ, पराया मुलुक बाध्यात्मक गन्तव्य बनेको छ, समयमै सबैले चासो नराख्ने हो भने त्योभन्दा भयावह रूपमा कलिला बालबालिकाको मनोविज्ञान भत्किन सक्छ। जीवन, जगत् र अभिभावकप्रतिको भरोसा टुट्न सक्छ। हामी अभागी पुस्ता हौं भन्ने भावनाले मानसिक सन्तुलनलाई आघात पार्न सक्छ। यस्तो अवस्थामा सबैभन्दा पहिले अभिभावक–शिक्षक सचेत हुनुपर्छ। मनोवैज्ञानिक रूपमा बलियो बनेर खानपान, सोचविचार र दैनिकीलाई सन्तुलित बनाउनुपर्छ। राष्ट्रिय अविभावक सरकारको भूमिका त अपरिहार्य छँदै छ। भत्किने जति भत्किगए, भूतकाल बनिगए। उच्च जोखिममा रहेका विद्यार्थीको मनोबल बढाउन सबैको समयमै ध्यानाकर्षण होस्।
श्रेष्ठको लेख आजको कान्तिपुर दैनिकमा छापिएको छ ।
प्रतिक्रिया