Edukhabar
विहीबार, ०३ असोज २०८१
अन्तैवाट

छोराछोरी स्कुल पठाउन आमाहरु डराए

सोमबार, १८ जेठ २०७२

Bhaktapur काठमाडौं १८ जेठ/बौद्धस्थित मन्जु भट्टराई सापकोटाले आइतबार छोराछोरीलाई स्कुल पठाउन सकिनन् । भूकम्प गएको डेढ महिना बित्यो । जनजीवन सामान्य बन्दै गएपछि सरकारले आइतबारदेखि स्कुल सञ्चालनमा ल्याएको छ । निजी स्कुलहरुले पनि विद्यार्थीलाई बिभिन्न मनोरञ्जनात्मक कार्यक्रममा व्यस्त गराउँदै स्कूल सुचारु गरेका छन् ।

भट्टराई भने मानसिक त्रास कायमै रहेकाले बालबालिकालाई स्कुल पठाउन नसकेको बताउँछिन् ।

उनकी ५ कक्षामा पढ्ने छोरी आयुस्मा सापकोटा र २ कक्षामा पढिरहेका छोरा आयुष भने त्यति डराएका छैनन् । 'म भने बच्चाहरु स्कुल पठाउन डराएको छु,' उनले भनिन्, 'छोराछोरी पढिरहेको स्कुल चर्किएकाले पनि म धेरै डराएँ ।'

उनका अनुसार बालबालिकालाई अन्यत्रैको स्कुलमा सार्ने सोचाइमा छु । बौद्धस्थित छोराछोरी पढिरहेको स्कुलमा असुरक्षित भन्दै रातो स्टिकर टाँसिएको छ । '२ पटक सम्म स्कुल हेर्न गएँ, उनी सुनाउँछिन्, 'स्कुलका भित्ता, पर्खाल चर्किएका भत्किएका छन् । शिक्षकहरुले संघै रहेको अर्को सुरक्षित भवनमा पढाउँछु भनिरहेका छन् । मनले मानेन ।'

भुकम्पका पराकम्पनहरु गइरहेकाले पनि स्कुल पठाउनका लागि निधक्क हुन नसकिएको उनको भनाइ छ ।

अर्की बानेश्वरकी चित्रा राई पनि डराएर छोरी स्कुल नपठाएको बताउँछिन् । उनी आफ्नी ५ वर्षीया छोरी रोशिका पढ्ने स्कुल हेर्न गएकी थिइन् । 'शिक्षकले सबै संरचना ठिकै छ भनेपनि १/२ दिन हेरेर मात्र पठाउने बिचारमा छु ।'

उनीहरु मात्र होइन अधिकांश आमाहरु छोराछोरी स्कुल पठाउन डराएका छन् । महाभुकम्प पछि पनि पराकम्पनहरु गइरहेका बालबालिकालाई स्कुल पठाइहाल्न नसकिएको अविभावकहरुको धारणा छ ।

आइतबार बालबालिकालाई स्कुल पठाएका कतिपय आमाहरु पनि बालबालिकालाई गेट भित्र छिराएर बाहिरै कुरेर बसे । चाबहिल भृकुटी चोककी आस्था बजगाई आइतबार दिनभर छोराछोरीको स्कुलको गेटमै बसेको बताउँछिन् ।

कतिपय स्कुलहरुले बालबालिकालाई भूइँचालोको त्रास भगाउन खेलाउने, चित्र बनाउने, म्युजिक र डान्स कक्षामा सहभागी गराउने गरिरहेका छन् । गोल्डेन पीक हाइस्कुलका प्रिन्सिपल छत्रमणि राईले भने, 'स्कुल लाग्नु भन्दा एकसाता अघि देखि नै बालबालिका र अविभावकलाई बोलाएर डान्स, चित्र बनाउने, म्युजिक कक्षामा व्यस्त गराएको जानकारी दिए ।

'पहिलेदेखि नै बिभिन्न खाले मनोरञ्जनात्मक कार्यक्रममा सहभागी गराएकाले होला आइतबार बालबालिका सहजै स्कुल आए,' प्रिन्सिपल राईले भने, 'बरु आमाहरु डराएर दिनभर गेटमै छोराछोरी कुरेर बसिरहे ।'  

उनका अनुसार बालबालिका सँगसँगै आमाहरुलाई पनि 'काउन्सेलिङ' गराइरहेका छौं । पराकम्पन आइरहेको अवस्थामा शिक्षकलाई पनि अति संयमित भएर पढाउनका लागि मनोबैज्ञानिक परामर्श तालिम दिइरहेका छौं । आइतबार देखि सुरु भएको स्कुलमा हाजिरी लिएर म्युजिक र डान्स कक्षामा बालबालिकालाई स्वतन्त्र छोडिदिएकाले बालबालिका आफैं कक्षामा पसेर बसे । अझै २/४ दिन पछि मात्रै पढाउन सुरु गरिनेछ ।

अहिलेको अवस्थामा अविभावकको पनि मानसिक त्रास हटाउन जरुरी छ । निजी तथा सरकारी स्कूलमा विद्यार्थी र विद्यार्थीका अविभावकलाई पनि मनोबैज्ञानिक परामर्श तालिम दिनु आवश्यक छ । 

आजको कान्तिपुर दैनिकमा कल्पना घिमिरेले यो खबर लेखेकी छिन् । 

प्रतिक्रिया