Edukhabar
विहीबार, ०३ असोज २०८१
अन्तैवाट

टहरामा रमाए नानीहरु

सोमबार, १८ जेठ २०७२

काठमाडौं १८ जेठ/ महाभूकम्पको त्रास र क्षतिका कारण बन्द भएका विद्यालय जेठ १७ देखि पुनःसंचालनमा आएका छन्। आइतबार विद्यालय सञ्चालनको पहिलो दिन अभिभावक, दाजुदिदी तथा साथीहरुसँग रमाउँदै नानीहरु स्कुलसम्म निकै उत्साहित भएर पुगे। 

स्कुलहरुले टहरामै अस्थायी सिकाइ केन्द्रमा नानीहरुलाई स्कुलसम्म आउने वातावरण बनाएका थिए। ललितपुर, लगनखेलमा रहेको नमुनामच्छिन्द्र माध्यमिक विद्यालयको चौरमा निर्माण गरिएका अस्थायी सिकाइ केन्द्रमा विद्यार्थी र तिनका अभिभावकको बिहानैदेखि चहलपहल थियो।

बिहान साढे नौ बजेदखि नै विद्यार्थी र अभिभाव आउन थालेका थिए। स्कुलले ठूला कक्षाका विद्यार्थीको सहयोगमा साना नानीहरुलाई मनोरन्जनात्मक क्रियाकलापद्वारा भूकम्पको मनोत्रास दूर गर्न वातावरण मिलाएको थियो।

स्कुलका माथिल्ला तहका विद्यार्थीले तल्लोे कक्षाका बालबालिकाको मनबाट भूकम्पको त्रास दूर गर्न म्युजिक थेपारीको माध्यम प्रयोग गरे। कक्षा १० का धनराज सत्यालले साना कक्षाका भाइबहिनीको मनबाट भूकम्पको त्रास दूर गर्न संगीतको धुनतालमा नृत्य तथा अभिनय गरेर नानीहरुको अनुहारमा खुसी ल्याइदिएका थिए। उनी घरि मुख बिगारेर अभिनय गर्थे, घरि टाउकोमा औंलाले सिङ बनाएर नानीहरुलाई जिस्काउँथे। उनको हर्कत देखेर नानीहरु हाँस्थे।

धनराजलाई नृत्य र अभिनयमा साथ दिइरहेकी थिइन्, सहपाठी रेखा जुनुजाती मागर। रेखाले भाइबहिनीलाई फकाएर नाच्न, अभिनय गर्न, चुट्किला भन्न लगाएर वातावरण तयार पारेकी थिइन्। नमुनामच्छिन्द्र स्कुलको कक्षा १० का विद्यार्थीले अभिभावकको भूमिका निर्वाह गरेका थिए।

नानीहरु पनि आफ्नो शिक्षक, साथीसंगी र सिनियर दिदीदाजुसँग निर्धक्क रमाएका थिए। उनीहरु उत्साहित भएर एकआपसमा अँगालो र म्वाइँसमेत खाइरहेका थिए।

'बिहान पहिलो पटक स्कुल आउने भाइबहिनीले पहिले त भुइँचालोकै कुरा गरे। उनीहरुमा मनोत्रास रहेको थियो,' कक्षा १० की रेखाले सुनाइन्, 'सुरुमा त उनीहरु ट्वाइलेट जान पनि डराए। उनीहरुलाई चर्पीसम्म म आफैं लिएर गएँ।' साढे १० बजेदेखि म्युजिक बजाएर नृत्य थाल्दा सबै भाइबहिनी रमाएको र उनीहरुले भुइँचालोको कुरा गर्न बिर्सेको उनले सुनाइन्।

म्युजिक थेरापी र अभिनयबाट नानीहरुको मुहारमा खुसी ल्याउन पाएकोमा कक्षा १० का धनराज सत्याल आत्मसन्तुष्टि मिलेको बताउँछन्। 'हाम्रा भाइबहिनी बिहान स्कुल आएपछि भूकम्पको त्रासले तुरुन्तै घर फर्कौं भनिरहेका थिए,' धनराजले नागरिकसँग भने, 'तर जब हामीले उनीहरुलाई म्युजिक बजाएर नृत्य, अभिनय र खेल खेलायौं, उनीहरु घर जानै मानेनन्।'

बिहान कक्षा २ मा पढ्ने छोरी अपृता सिंहलाई स्कुल छाड्न आएकी आमा बालकुमारी बस्नेतको मनमा स्कुलमा छोरीलाई एक्लै छाडेर जान निकै मुस्किल परेको थियो। उनी एक घन्टामै लिन आउने बाचा गर्दै फर्केकी थिइन्। तर जब उनी छोरीलाई एक घन्टापछि मच्छिन्द्र माविमा लिन आउँदा छोरी छिट्टै घर जान मानिनन्।

सोही स्कुलको कक्षा ३ मा अध्ययनरत छोरी कृतिकाकी आमा रीता चौलागाईंले स्कुल भवनभन्दा टहरा नै सुरक्षित रहेकाले निर्धक्क भएर छोरीलाई स्कुल पठाएको सुनाइन्।

'घरमा एक्लै बस्दा जतिखेर पनि भुइँचालोबारे सोधिरहन्छे। उसको मनमा सधैं भुइँचालोको त्रास थियो,' आमा रीताले नागरिकसँग भनिन्, 'तर आजबाट टहरामा रमाइलो वातावरणबीच स्कुल सञ्चालन हुँदा छोरीको मनको त्रास दूर भयो।'

नमुना मच्छिन्द्र माविका प्रिन्सिपल राधाकृष्ण महतले स्कुलका सात ब्लकमध्ये ६ ब्लक पूर्ण क्षति भई रातो स्टिकर टाँसिएको जनाए। उनले स्कुल ५ वर्षसम्म टहरामै सञ्चालन गरिने जनाए।

जेठ १७ देखि भूकम्प प्रभावित जिल्लाहरुले टहरामै स्कुल सञ्चालन गरेका छन्। केही स्कुलको भवन सुरक्षित छ। भीमसेनस्थानमा रहेको परोपकार उच्चमाध्यमिक विद्यालयका शिक्षकले विद्यार्थीमा भूकम्पको मनोत्रास दूर गर्न पहिलो दिन चित्रकला, खेल तथा उनीहरुभित्र रहेको प्रतिभा अनुसारको क्रियाकलाप गराए।

शिक्षिका गौरशोभा सिन्धुराकारले कक्षा ५ का भाइबहिनीलाई पेपरमा हातको आकार बनाउन लगाएर पाँच वटा सिकाइ विधि लेखिन्। बुढीऔंलामा विद्यार्थीको क्षमता पहिचान, चोरऔंलामा कमजोरी र सुधारका पक्ष, माझीऔंलामा खुसी पार्ने पक्ष, साइलीऔंलामा दुःखी बनाउने पक्ष र कान्छीऔंलामा भविष्यको योजना बुँदा लेखिदिइन्।

शिक्षिका गौरशोभाले उनीहरुको इच्छाअनुसार कथा, कविता, चित्र कोर्न लगाइन्। 'आज हामीले नानीहरुसँग भुइँचालोमा भोगेका अनुभव साट्यौं,' गौरशोभाले भनिन्, 'त्यसपछि उनीहरुकै रुचिअनुसाको क्रियाकलाप गरायौं।'

कक्षा ४ का कम्प्युटर शिक्षक सचिन बज्राचार्यले बालबालिकालाई रुचिअनुसारको चित्र कोर्न लगाएर त्यसको व्याख्या गरिरहेका थिए। बालबलिका झुम्मिएका थिए। 'डेढ महिना घरमा बसेर दिनभरि भुइँचालोकै सम्झना र कुरा गरेर हामी झनै डराएका थियौं,' कक्षा ४ का मीनबहादुर खत्रीले सुनाए, 'स्कुलमा साथीभाइसँग खेल्दा रमाइलो लाग्यो।'

स्कुल निर्बाध चले
शिक्षा मन्त्रालयका अनुसार आइतबार स्कुल पुनःसञ्चालनका पहिलो दिन सरकारी र निजी दुवै विद्यालय निर्बाध रुपमा सञ्चालन भए। शिक्षा विभागका महानिर्देशन डिल्लीराम रिमालले उपत्यकाका तीनै जिल्ला तथा अन्य भूकम्प प्रभावित जिल्लाका सबै निजी तथा सरकारी स्कुल निर्बाध रुपमा सञ्चालन भएको जनाए।

विभागका निर्देशक खगेन्द्र नेपाल आइतबार गोंगबु र बालाजु क्षेत्रका स्कुल निरीक्षणमा गएका थिए। 'समाखुसीको साउथवेस्टर्न स्कुलका अभिभावक निकै उत्साहित भएर विद्यालयमा नानीहरु पठाएको मैले पाएँ,' नेपालले नागरिकसँग भने, 'बालाजुको होली गार्डन स्कुल पूर्ण क्षति भएकाले अस्थायी सिकाइ केन्द्र टहरामा सञ्चालन भएको छ।'

विद्यार्थीहरु भूकम्पको त्रासरहित वातावरणमा रमाइलो मानी कक्षामा साथी तथा शिक्षकसँग घुलमिल भएको देख्दा स्कुल सञ्चालन गर्न गराउन हामीलाई निकै सहज महसुस भयो।'

निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल(प्याब्सन)का अध्यक्ष लक्ष्यबहादुर केसीले आइतबार ९० प्रतिशतभन्दा बढी निजी विद्यालय टेन्ट र टहरामा सञ्चालन भएको बताए। 'हाम्रा विद्यालयमा अध्ययनरत विद्यार्थी र तिनका अभिभावकको पहिलो दिन उत्साहपूर्वक सहभागिता रह्यो,' अध्यक्ष केसीले भने, 'विद्यार्थीलाई पहिलो दिन हामीले खेल, नाचगान र सृजनात्मक कार्य गरेर रमाइलो बनायौं।' सोमबारदेखि निरन्तर विद्यालय सञ्चालन हुने उनले जनाए। देशभरि ८ हजार निजी विद्यालय सञ्चालित छन्। जसमध्ये भुइँचालोका कारण ५ सय निजी विद्यालय पूर्ण क्षति भएका छन् भने उपत्यकाका तीनै जिल्लाका एक सय विद्यालय पूर्ण क्षति भएका छन्।

शिक्षा मन्त्रालयका अनुसार हालसम्म ४९ जिल्लाका १९ हजार २ सय ८९ विद्यालयमध्ये ६ हजार ९ सय २ विद्यालय भूकम्पबाट प्रभावित छन्। १६ हजार ४ सय ७५ कक्षाकोठा पूर्ण क्षति, ७ हजार २ सय ६६ कक्षाकोठा अधिक क्षति र १२ हजार ६ सय १३ कक्षाकोठा सामान्य क्षति भएका छन्।

२ हजार १ सय ६ शौचालय, १ हजार ४ सय ५९ विद्यालयको पर्खाल र १ हजार ३ सय ६३ विद्यालयको खानेपानीमा क्षति भएको तथ्यांक छ। 

आजको नागरिक दैनिकमा रुबी रौनियारले यो खबर छापिएको छ । 

प्रतिक्रिया