Edukhabar
विहीबार, ०३ असोज २०८१
अन्तैवाट

विस्थापित विद्यार्थीलाई कक्षा १० मा पनि भर्ना

मंगलबार, १९ जेठ २०७२

काठमाडौं १९ जेठ / शिक्षा मन्त्रालयले महाभूकम्पमा परी विस्थापित परिवारका विद्यार्थीलाई अन्यत्र भर्ना गर्न पाउने नया नीतिगत व्यवस्था गर्न लागेको छ ।

शिक्षा ऐन र नियमावलीनुसार कक्षा १० मा विद्यार्थी भर्ना लिने व्यवस्था छैन । मन्त्रालयले महाभूकम्पबाट विस्थापित विद्यार्थीलाई प्रमाणका आधारमा अन्य विद्यालयमा भर्ना गर्न सकिने नीति अघि सारेको हो । 

‘महाभूकम्पबाट परिवारै विस्थापित भएका विद्यार्थीलाई आवश्यक प्रमाणका आधारमा अन्यत्र भर्ना गर्न पाउने विशेष व्यवस्थासहितको नीति तयार भएको छ,’ मन्त्रालयका प्रवक्ता लम्सालले कान्तिपुरसित भने, ‘मन्त्रालयबाट निर्णय गरी क्याबिनेटमा पठाइएको छ । चाडै स्विकृत भएर आउने ठानेका छौं ।’ विद्यालयले सम्बन्धित विद्यार्थीलाई भर्ना लिनुअघि शिक्षा कार्यालयको अनुमति लिनुपर्नेछ । 

‘विद्यालय खुलेको दोस्रो दिन एक जना विद्यार्थी कक्षा १० मा भर्ना गरिदिन भन्दै आइपुगेका छन्,’ गोदावरी–२ स्थित बिशंखुनारायण माविका प्रधानाध्यापक वंशीधर खड्काले भने, ‘भर्नाको प्रावधान नभएकाले शिक्षा कार्यालयमा सोधबुझ गर्दैछौं ।’ नियमानुसार विद्यार्थीले कक्षा ८ मा जिल्ला स्तरीय परीक्षा दिन्छन् ।

त्यही प्रमाणका आधारमा कक्षा ९ मा भर्ना हुन पाउछन । विद्यार्थीले कक्षा ९ मै प्रवेशिका परीक्षा (एसएलसी) को फाराम भरिसक्नु पर्छ । एसएलसी फाराम जुन विद्यालयमा भरेको हो त्यही विद्यालयबाट परीक्षा दिनु पर्ने हुन्छ । सामान्य अवस्थामा विद्यार्थीले कुनै कारण जनाएर अर्को विद्यालयमा स्थानान्तरण भएर परीक्षा दिन सक्ने व्यवस्था छैन । 

आजको कान्तिपुर दैनिकमा यो खबर छापिएको छ । 

प्रतिक्रिया