Edukhabar
शनिबार, ०५ असोज २०८१
खबर/फिचर

सिकाई शुन्य : शिक्षक माथिको लगानी खेर

मंगलबार, २६ साउन २०७२

- श्रीधर पौडेल / काठमाडौं २६ साउन / मुलुकभर झण्डै तीस हजार सामुदायिक विद्यालय छन् । यस मध्ये माध्यमिक तह पढाई हुने विद्यालय मात्रै ५ हजार ९ सय ८३ छन् । यी विद्यालयबाट एसएलसी परीक्षामा सहभागि भएका मध्ये झण्डै दुई सय विद्यालयको नतिजा  शुन्य भएको छ । 

एक जना विद्यार्थीका लागि राज्यले लाखौ रुपैयाँ खर्चिदैं आएको छ । शिक्षा मन्त्रालयको तथ्याङक हेर्ने हो भने एक विद्यार्थी बराबर बार्षिक १२ हजार खर्च हुन्छ । यस अनुसार १ सय ९५  विद्यालयबाट ४ हजार ४ सय ५१ विद्यार्थीले परीक्षा दिएका थिए । उनीहरुको लागि एक बर्षमा ५ करोड ३४ लाख रुपैंया खर्च भएको छ । यस अनुसार १० बर्षसम्म उनीहरुको लागि राज्यले झण्डै ६० करोड खर्च गरेको छ ।

यो नतिजाले विद्यार्थी माथि राज्यले गरेको लगानी बालुवामा पानी खन्याए सरह भएको छ ।

सबै भन्दा धेरै विद्यार्थी फेल भएका विद्यालयमा सप्तरीको महिकर मावि प्रस्वानी रहेको छ । उक्त विद्यालयबाट १ सय २६ जना विद्यार्थी परीक्षामा सहभागि भएकोमा एक जना पनि उत्तीर्ण हुन सकेनन् । यी मध्ये ५७ जना छात्र र ५२ जना छात्रा रहेका छन् ।

यस्तै कैलालीको कर्मेश्वर मावि चर्राबाट १ सय ९ जना विद्यार्थी परीक्षामा सहभागि थिए । उनीहरु मध्ये एक जना पनि उत्तीर्ण हुन सकेनन् । उक्त विद्यालयबाट ७५ जना छात्रा र ५१ जना छात्र परीक्षामा सहभागि थिए ।

यस्तै धेरै विद्यार्थी अनुत्तीर्ण हुने विद्यालय मध्ये तेश्रोमा कैलालीकै जगदम्बिका भगवती मावि रानीकुन्त रहेको छ । परीक्षामा सहभागि ७९ जना मध्ये ४८ जना छात्रा र ३१ जना छात्र रहेका छन् ।

शुन्य नतिजा ल्याउने विद्यालयहरु मध्ये सबै भन्दा धेरै १४ विद्यालय खोटाङ्का छन् । यसैगरी भोजपुरका १२ विद्यालयबाट एक जना पनि उत्तीर्ण हुन सकेनन् । यस्तै ताप्लेजुङ्, सुर्खेत र बाँकेका ९ – ९ विद्यालय निल भएका छन् । पाँचथर, ईलाम र उदयपुरका ८–८ विद्यालयले एक जना पनि विद्यार्थी उत्तीर्ण गराउन सकेनन् भने मोरङ् र मुस्ताङ्का ७–७ र दैलेखका ५ विद्यालय निल भएका छन् ।

यसैगरी सुनसरी, सप्तरी, सिन्धुली, कास्कि, तनहुँ, नवलपरासी, रोल्पा र बाजुराका ४–४ विद्यालय निल भएका छन् । संखुवासभा, तेह्रथुम, दोलखा, सिन्धुपाल्चोक, पाल्पा, रुपन्देही, कपिलबस्तु, सल्यान, जाजरकोट र कैलालीका ३ –३ विद्यालय निल भएका छन् । दुई वटा विद्यालय निल हुने जिल्लामा सोलुखुम्बु, रसुवा, गोर्खा, दाङ् र जुम्ला छन् । यसैगरी एउटा विद्यालय निल हुने जिल्लामा धनकुटा, ओखलढुङ्गा, रामेछाप, सर्लाही, नुवाकोट, काठमाडौं, मकवानपुर, बारा, पर्सा, मनाङ्, स्याङ्जा, गुल्मि, अर्घाखाँची, पर्वत, प्यूठान, हुम्ला, मुगु, कालिकोट र बझाङ रहेका छन् ।

एसएलसी माध्यमिक तहको सिकाई उपलब्धि मापन गर्ने आधार हो । विद्यार्थी सिकाई नै शुन्य भएपछि शिक्षकमाथि गरेको लगानी खेर गएको विश्लेषण हुन थालेको छ ।

राज्यको लगानी सुनिश्चित गर्न शिक्षा मन्त्रालयले गत असार ४ मा मन्त्रीस्तरीय निर्णयबाट कमजोर नतिजा ल्याउने विद्यालयको नतिजा सुधारका लागि नतिजा सुधार कार्ययोजना र जिम्मेवारी किटान गर्न निर्देशन दिएको थियो । नतिजा सुधार नगर्ने शिक्षकलाई कारबाही गरी मन्त्रालयलाई जानकारी गराउन भन्दै मन्त्रालयले विभागलाई निर्देशन दिइसकेको छ ।

तस्विर : ईन्टरनेट

प्रतिक्रिया