Edukhabar
विहीबार, ०३ असोज २०८१
अन्तैवाट

रातो स्टिकरमुनि पढाइँदै

सोमबार, २५ जेठ २०७२

schoolकाठमाडौं २५ जेठ /आइतबार मध्यान्ह सदरमुकाम चरिकोटस्थित कालिञ्चोक उच्च माविको रातो स्टीकर टाँसिएको भवनमा बसेर पढिरहदा विद्यार्थीहरु डराइरहेका थिए ।

कक्षाबाट निस्कदै गरेका एक शिक्षक भन्दै थिए, 'भूकम्पले क्षति गरेको भवनका कक्षा कोठाहरुभित्र डराइडराइ पढाउनुपर्छ ।' अभिभावकको गुनसोपछि विद्यालय पुग्दा रातो स्टीकर टाँसिएको भवनका केही कक्षाहरुमा पढाइ भैरहेको थियो । गैरसकारी संस्थाको विद्यालयसम्बन्धी कार्यक्रम पनि त्यहीँ भवनमा चलिरहेको थियो । विद्यालयका प्राचर्य नवराज न्यौपाने कहिले संस्थाको कार्यक्रम भएको कोठामा छिर्थे, कहिले विद्यालयलाई सामान वितरण गर्ने भण्डार कक्ष्ामा छिर्थे ।

विद्यार्थी, शिक्षक, गैरसकारी संस्थाको कार्यक्रममा आउनेको भीडभाडले व्यस्त देखिने भवनको एकाछेऊमा सबैले देख्नेगरी असुरिक्षत लेखिएको रातो स्टीकर छ । त्यहीँ छेऊका कोठाहरुमा विद्यार्थीहरु भित्रवाहिर गर्दैछन् । कोही स्टीकर पढ्दै यतायता गर्दैछन् ।

महाभूकम्पपछि जेठ १७ गतेदेखि विद्यालयले जोखिम भवनमा पढाइ भैरहेको प्रति भने अभिभावक असन्तुष्ट छन् । छोराछोरी नफर्किएसम्म चिन्तामा बस्नुपर्ने गुनासो छ । नेत्रहीनको र छात्रावासको भान्छा कोठामा पनि रातो स्टिकर टाँसिएका छन । आइतबार दिउँसो उक्त कोठामा पनि नेत्रहीन विद्यार्थी र छात्राहरु भेटिए । पालमा सुते पनि खाना पाकउने खाने भने उक्त खतरायुक्त कोठामै गर्दै आएएको उनीहरुले बताए । कालिञ्चोक उच्च माविको त्यस्तो हालत देखेपछि शिक्षासम्बन्धि अभियान्ता कृष्णओम थापाले सामुदायिक विद्यालयमा त्यस्तो हेलकचक्र्याइ नगर्न आग्रह गरेको बताए ।

सर्वत्र गुनासाहरुलाई मनन गर्दै प्राचार्य नवराज न्यौपाने भन्छन, 'हिजोमात्र शिक्षा कार्यालयले रातो स्टीकर टाँस्यो, विद्यार्थी राख्ने ठाउँ नभएर आज यहीँ पढायौ, भोलीबाट अन्यत्र सार्छौ ।' विद्यालयका केही कोठाहरु खासै खतरा नदेखिएकाले पनि पढाइ गरिरहेको उनले बताए । जिल्ला शिक्ष्ाा अधिकारी लोकबहादुर लोप्चानले कुनै पनि हालतमा असुरक्षित भवनमा विद्यार्थी पढाउन नहुने बताए । रातो स्टीकर टाँसिसकेपछि विद्यार्थीलाई राख्नु लापरवाही भएको उनी बताउँछन् ।

स्रोतसाधनले धनि विद्यालयका ३ वटा भवनहरुमा रातो स्टिकर टाँसिएका छन् । केही भवनहरु भूकम्प पीडितले ओगटेका छन् । उनीहरुलाई अहिलेसम्म हटाउन नसकिएकाले पनि कक्षा चलाउन समस्या परेको प्राचार्यको भनाई छ ।

बारम्बार पराकम्पनहरु आइरहेकाले मर्मत गर्नुपर्ने भवनमा समेत विद्यार्थी राख्न नमिल्ने शिक्षाको भनाइ छ । पराकम्पन नरोकिएकाले जतिखेर पनि जोखिम हुनसक्ने भएकाले निजी र सामुदायिक दुवै विद्यालयहरुले सामान्य लापरवाही गरे पनि कार्वाही हुने शिक्षाले निर्देशन गरेको छ । त्यति हुँदा पनि केही विद्यालयहरुले जवरजस्ती गरिरहेकोमा कार्यालयले दुःख व्यक्त गरेको छ ।

शिक्षामा ५ करोड क्षति

महाभूकम्प र त्यसपछिका बारम्बारका कम्पनहरुले विद्यालयहरुमा ५ करोड बराबर क्षति पुर्‍याएको छ ।

जिल्ला शिक्षा कार्यालय दोलखाका प्रतिवेदन अनुसार विद्यालयहरु पहिलेकै स्वरुपमा चलाउन ९ करोड लाग्ने अनुमान गरेको छ । जसमध्ये ३ करोड ६८ लाख ९२ हजार निकासा भएको उल्लेख छ ।

प्रतिवेदन अनुसार प्राथमिक विद्यालयहरुको ७२ लाख, निमाविको १ करोड १७ लाख, माविको ८५ लाख, उमाविको ९३ लाख क्षति भएको छ । क्षतिपछि सामुदायिक अध्ययन केन्द्र र शौचालय निर्माणसहित ९ करोड अनुमानित खर्च लाग्ने प्रतिवेदनमा भनिएको छ । सामुदायिक विद्यालयहरुमा अध्ययन गर्ने ५० हजार ३ सय ६० जना विद्यार्थीलाई व्यवस्थापन गर्न टिएलसि कक्षाहरु कोठाहरुलागि पनि रकम प्रस्ताव भएको छ । यस कार्यका लगि गैरसकारी संस्था र अन्य निकायबाट सहकार्य हुने प्रस्तावमा भनिएको छ ।

शिक्ष्ाा कार्यालयका अनुसार ३ सय ७० वटा विद्यालयका १२ सय ८६ भवनमध्ये ८ सय ६२ वटा भवनहरु पूर्ण क्षति भएको छ । ३ सय ७ वटा आंशिक क्षति र सामान्य चर्केको तर प्रयोग गर्न मिल्ने भवन संख्या ८७ वटा छन् । ४ सय ८२ शौचालय पूर्ण क्षति भएको छ भने १ सय ३७ वटामा आंशिक क्षति पुगेको छ ।

जिल्लाभरका विद्यालयमा रहेका ३६ वटा छात्रावासको ५५ वटा भवनहरुमा क्षति पुगेको प्रतिवेदनमा उल्लेख छ । १ सय २६ वटा पुस्तकालयमध्ये १ सय २१ वटामा क्षति पुगेकेा छ । ४२ वटा विज्ञानको ल्याबमध्ये सबैमा क्षति पुगेको उल्लेख छ ।

 

विद्यालयहरुको ५ सय ७३ थान कम्प्युटर पूर्ण क्षति भएको उल्लेख छ । प्रिन्टर ८९ वट पूर्ण क्षति भएको भनिएको छ । ८२ वटा फोटोकपी मेसिनहरु बिगारेको छ । १५ हजार ६ सय ५४ वटा पाठ्यापुस्तक पनि नष्ट भएको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदन अनुसार भूकम्पले करिब १२ हजार डेक्सबेन्चमा पनि क्षति गरेको छ । भूकम्पले करिब १३ सय हृवइटबोर्डलाई पनि हानी पुर्‍याएको छ ।

आजको कान्तिपुर दैनिकमा दोलखाबाट राजेन्द्र मानन्धरले यो खबर लेखेका छन् । 

प्रतिक्रिया