- श्याम दाहाल / काठमाडौं ६ असोज / सामुदायिक विद्यालयको गुणस्तर सुधार हुन नसक्नुको कारण के हो ? अथवा राम्रा सामुदायिक विद्यालय कसरी राम्रा भए ? यो प्रश्नमा समान उत्तर पाउनु मुस्किल छ । विद्यालयको अवस्था र नेतृत्वको क्षमताले समान प्रश्नको उत्तर भिन्दै खाले बनाईदिन सक्छ । उपत्यकाका ३ वटा विद्यालय घुमेपछि हामीले पनि उक्त प्रश्नको समान उत्तर फेला पार्न सकेनौं । भौगोलिकता र महिला प्रधानाध्यापकको नेतृत्वलाई आधार मानेर छानिएका ३ विद्यालयका समस्या र प्रगतिका भिन्दा भिन्दै कथा फेला परेको छ ।
टीका विद्याश्रम उच्च माध्यमिक विद्यालय सानेपा ललितपुरमा २०४५ सालमा शिक्षिकाको रुपमा आउँदा बाबा खड्काले हरेक कक्षामा ७५ जनाको हाराहारी विद्यार्थी पढाएकी थिईन् । हिजो आजको कुरो टिठ लाग्दो छ – अहिले विद्यालय भरीमा पुग नपुग ३ सय ५० जना मात्रै विद्यार्थी छन् । विद्यार्थी किन घटे त ? उनको बनिबनाउ उत्तर छ – 'ड्रप आउटले समस्या भयो ।'
विद्यार्थीले किन विद्यालय छाड्छ त ? उनी भन्छिन् 'निम्न वर्ग र हुदाँ खाने परिवारका छोराछोरी आउने भएकोले बार्षिक ७० देखी ८० जनाले स्कुल छाड्दा विद्यालय छाड्ने विद्यार्थीको संख्या बढ्दै गएको हो जस्को मुख्य कारण बसाँई सराई र फेल हुनु हो ।'
यस्ता विद्यार्थीलाई टिकाई राख्ने र अरु विद्यार्थीलाई आर्कषित गर्ने कसरी त ? यसको बारेमा विद्यालयमा शायदै छलफल भएको छ । विद्यालयले कक्षा ३ सम्म अंग्रेजी माध्यमबाट पढाई त शुरु गरेको छ, तर आसपासका निजी विद्यालयमै भिडभाड छ । सरकारले विद्यार्थीलाई फेल गर्न नहुने नियम ल्याएपछि राम्रा विद्यार्थीको छनौट गर्न गाह्रो भएको उनको तर्क छ ।
एसएलसीमा उत्तिर्ण ४५ प्रतिशतका बारेमा पनि उनको आफ्नै तर्क छ – 'विद्यार्थी संख्या थोरै भएको र धेरैले विचैमा पढ्न छाड्ने भएकाले एसएलसीमा कम विद्यार्थी उत्तिर्ण भएका हुन् ।' विद्यालयलाई सुधार गर्न सरकारले निगरानी गर्नुपर्ने, प्रधानाध्यापक अधिकार युक्त हुनु पर्ने, जिल्ला शिक्षा कार्यालयले भनेअनुरुप सहयोग गर्नु पर्ने र कडा नियम बन्नु पर्ने उनको तर्क छ ।
२००५ सालमा स्थापना भएको हरिसिद्धि उच्च मावि ललितपुरकी प्रधानाध्यापक आशादेवी महर्जन पनि सामुदायिक विद्यालय सुधारका लागि नीतिगत रुपमै ब्यवस्था गर्नु पर्ने बताउँछिन् । विद्यालय सञ्चालनका लागि सरकारले आवश्यक आर्थिक श्रोत नदिदाँ गुणस्तर सुधार नभएको उनको भनाई छ । 'राम्रो नीति ल्याए मात्र सामुदायिक विद्यालय सुध्रिन्छ नत्र गाह्रो छ' उनी भन्छिन्, 'विद्यालयको चाहना अनुरुप सरकारले काम गरे मात्र सुधार हुन्छ ।'
देशमै नाम चलेका थुर्पै निजी विद्यालयहरुकै छिमेकमा रहेको यो विद्यालयमा जम्मा ८ सय ५० विद्यार्थी छन् । साँधै जोडिएका निजी विद्यालयमा विद्यार्थीको भिडभाड थेगि नसक्नु छ । अहिले सम्म विद्यालयको गुणस्तर मापन गरिदैं आएको आधार एसएलसी परीक्षामा उत्तिर्ण दर शत प्रतिशत छ, तर हरिसिद्धि उच्च माविको हालत ठिक उल्टो । एसएलसिमा ६७ प्रतिशत विद्यार्थी उत्तिर्ण गराउँदा पनि ठूलै बाघ मारे झै भएको छ विद्यालयलाई ।
तर, एसएलसीमै ८२ प्रतिशत विद्यार्थी उत्र्तिण गराउन सफल रत्न राज्य उच्च माध्यमिक विद्यालय बानेश्वरकी प्रधानाध्यापक डा. गीता खरेल (शिवाकोटी) को अनुभव चाँही अलिक फरक छ । सामुदायिक विद्यालय सुधारका निमित्त शिक्षक आफै सुधारिनु पर्ने उनको ठम्याई छ । 'शिक्षक राजनीति भन्दा टाढै रहने र आफ्नो कर्तव्यमा अडिग हुने हो भने सामुदायिक विद्यालय सुधार हुन्छ' उनले भनिन्, 'यहाँका शिक्षकहरुले आफ्ना छोरा छोरीलाई यहीँ भर्ना गर्छन्, यसले गर्दा विद्यालयको छवि सुधार भएको छ ।'
शिक्षा क्षेत्रमा राजनीति बन्द हुनु पर्ने एवं नेपाल सरकार अन्तरगत काम गर्ने सबै कर्मचारीका छोरा छोरीलाई सामुदायिक विद्यालयमा भर्ना गर्ने हो भने अरु सामुदायिक विद्यालयको समेत गुणस्तर सुधार हुने उनले बताईन् ।
भौतिक एवं आर्थिक रुपमा बलियो नभईकन विद्यालयको सुधार सम्भव नहुने निष्कर्षमा पुगेकी छन् हरिसिद्धि उच्च माविकी प्रधानाध्यापक महर्जन । सरकारको मुख ताकेर मात्रै नहुने ठहर गरेसँगै उनले विभिन्न गैह्र सरकारी संस्थाहरु मार्फत भौतिक सहयोग जुटाउन थालेकी छन् ।
सामुदायिक विद्यालय सुधारका लागि सबैले अरुकै मुख ताकेका छन् । विद्यालय र विद्यालयको नेतृत्वले सुधारका लागि आफूले गरेका कामको विश्लेषण र आगामी योजना बनाउने वित्तिकै सुधार हुनेमा शँका छैन । राम्रो गर्ने शिक्षक शिक्षिकालाई पुरस्कार, नराम्रो गर्नेलाई दण्ड जरीवानाको ब्यवस्था गर्ने र त्यसलाई सहि ढँगले कार्यान्वयन गर्ने वित्तिकै सामुदायिक विद्यालय सुधारको पाईला चल्न थाल्छ ।
प्रतिक्रिया