Edukhabar
विहीबार, ०३ असोज २०८१
अन्तैवाट

विद्यार्थीले बनाए गाउलाई साक्षर

सोमबार, २५ जेठ २०७२

काठमाडौं २५ जेठ/ पटक–पटक प्रौढ शिक्षा चलाएर साक्षर नभएको नारीकोट गाविसलाई यसपटक विद्यार्थीले साक्षर बनाएका छन् ।

जिल्लामा चलेको साक्षर गाविस घोषणा अभियानमा पछाडि परेको नारीकोटलाई अमृत जीवन मावि कक्षा ९ मा अध्ययनरत विद्यार्थीले बिहान–बेलुका पढाएर साक्षर बनाएका हुन् ।

गाविसका १५ देखि ६० वर्ष उमेर समूहका सबै साक्षर भएपछि गाविसलाई एक कार्यक्रमका बीच २२ जेठमा साक्षर गाविस घोषणा गरिँदै छ । ‘यसपटक बल्ल साक्षर गाविस घोषणा गर्ने गरी सबै साक्षर भए,’ गाविस सचिव विजय पोख्रेलले भने, ‘विद्यार्थीबाट साक्षर बनाउने अभियान निकै प्रभावकारी हुँदोरहेछ ।’

गाविसका सबै वडामा अनुगमन गरेर साक्षर गाविस घोषणा गर्न लागेको सचिव पोखरेलले बताए । ‘घरमा निरक्षर भए घरकालाई नभए छिमेकीलाई साक्षर बनाउने गरी विद्यार्थीलाई जिम्मा दिएका थियौं,’ अमृत जीवन माविका प्रधानाध्यापक रामचन्द्र गिरीले भने, ‘सबैले आफ्नो जिम्मा पाएअनुसारका निरक्षरलाई साक्षर बनाएका छन् ।’ छोराछोरीले १० अंक पाउने सुनेपछि अभिभावकले जाँगर गरेर सिकेको अनुगमनका क्रममा पाइएको गिरीले बताए ।

‘जिम्मा पाएका तीन निरक्षरलाई दुई महिनामै साक्षर बनाएँ,’ विद्यार्थी उषा खड्काले भनिन्, ‘यसले आफूले सिक्दा र अरूलाई सिकाउँदाको फरक पनि अनुभव गर्न पाइयो ।’ उनले नारीकोट ६ का मालिका थापा, केनुका थापा र खिमा खड्कालाई साक्षर बनाएको बताइन् ।

‘सुरुमा बुढेसकालमा पढेर के हुन्छ भन्ने लागेर सिक्न जाँगर लागेको थिएन,’ नारीकोट २ की झमाकुमारी कवरले भनिन्, ‘पछि जाँगर गरे आफ्नो नाम लेख्न सक्ने भएको छु ।’ उनले नवीना थापाको आग्रहले पढ्न सुरु गरेको बताइन् ।

जिल्ला शिक्षा अधिकारी नारायणप्रसाद भट्टराईले साक्षर गाविस घोषणा हुन बाँकी नारीकोट, रम्दी र स्वर्गद्वारी गरी तीन गाविसलाई साक्षर बनाउन विद्यार्थी परिचालन गरेको बताए । उनले व्यवस्थापन खर्चबापत विद्यालयलाई प्रतिसहभागी १ सय ८४ रुपैयाँ दिइएको बताए । जेठ मसान्तभित्र तीन गाविसमा रहेका निरक्षरलाई साक्षर बनाएर यसै आर्थिक वर्षभित्र जिल्लालाई साक्षर घोषणा गर्ने तयारी भएको उनले बताए ।

आजको कान्तिपुर दैनिकमा गिरुप्रसाद भण्डारीले यो खबर लेखेका छन् । 

प्रतिक्रिया